माक्र्सबाद, कमरेड पुष्पलाल र आजका समस्या

कमरेड पुष्पलाल जस्तै गम्भीरतमरुपमा हेरौ र बुझौं ! अनि आजको बिश्व समाज र यसमा चलिरहेको संघर्षलाई सही किसिमले जान्न बुझ्न मार्क्सबाद कत्तिको सामयिक र सान्दर्भिक छ सही र गम्भीर किसिमले चिन्तन मनन र आत्मसात गरौ

bimbonline लोकनारायण सुवेदी
२०८० साउन ६ १०:३७ बजे

काठमाण्डौ।  नेपालमा माक्र्सबादको  गहिरो अध्ययन, चिन्तन र मनन गर्ने र त्यस अनुसार नेपाली समाजको  भावी गन्तब्यको प्रष्ट दिशाबोध गर्ने गराउने काम नेपाली कम्युनिष्ट आन्दोलनका सुत्रधार तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले आरम्भ गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी गठन गर्नुभन्दा पहिला नै माक्र्सबादी दर्शन र साहित्यसँग परिचित भएर २००५  सालमै उनले बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपालीमा अनुबाद गरेका थिए । त्यस महत्वपूर्ण र ऐतिहासिक अनुबादमा  नेपाली समाजको जुन बर्गीय बिश्लेषण पुष्पलालले गरेका छन् त्यसले नै प्रष्ट पार्दछ कि कमरेड पुष्पलालमा माक्र्सबादको गहिरो छाप मात्र परेको थिएन माक्र्सबादको चूरो कुरो ‘बर्गीय शोषण’ र ‘सामाजिक उत्पीडन’बाट समाजलाई मुक्त तुल्याउन ‘बर्गीय दृष्टिकोण’ र ‘बर्ग संघर्ष’को गहिरो ज्ञान पनि भइसकेको थियो । अनि त्यसैको आधारमा कमरेड पुष्पलाल नेपाली समाजमा माक्र्सबादलाई प्रवेश गराउन र त्यसलाई नेपाली जनआन्दोलन र खासगरी कम्युनिष्ट आन्दोलनको मार्गदर्शक सिद्धान्तकोरुपमा  स्थापित गराउन सफल भएका थिए ।

आज माक्स जन्मेको दुइ सय ५ बर्ष नाघिसकेको छ र बिश्वभरी ५ बर्ष अघि कार्ल माक्र्सको  द्वि–जन्म   शतबार्षिकी कार्यक्रमहरु बिभिन्न स्तरमा संसार भरी नै मनाइएको थियो  । माक्र्सको जन्म ५ मे १८१८ मा भएको थियो देहाबसान १४ मार्च १८८३ मा ।   जर्मनीका अप्रतिम तथा अतुलनीय बिश्व प्रसिद्ध दार्शनिक कार्ल माक्र्सको क्रान्तिकारी दर्शनलाई बिश्वमा मार्क्सबाद भनेर चिनिन्छ । यो संसार—‘मानब समाज र प्रकृति’लाई सही किसिमले हेर्ने र सही किसिमले फेर्ने द्वन्द्वात्मक एबं ऐतिहाासिक भौतिकबादी दर्शन हो  । यो दर्शन त्यस अघिका अरु सबै दर्शनहरुभन्दा भिन्न, उन्नत,सुसंगत, बैज्ञानिक र जीवन्त दर्शन हो । त्यसैले माक्र्सबाद  आज बिश्वका सबै देशका शोषित पीडित जनसमुदाय तथा उत्पीडित राष्ट्रको मुक्तिको मार्गदर्शक सिद्धान्त बनेको छ । शोषणबिहीन, सुन्दर, सभ्य र सुसँस्कृत  एवं उच्च मानबीय समाज निर्माणको प्रतीकको रुपमा यो दर्शन बिश्वमा खडा भएको र अखण्डरुपमा गतिशील रहेको छ । बास्तवमा यो उच्च, मानबीय जनतन्त्रका लागि एउटा बैज्ञानिकआधार हो जसले समानता, स्वतन्त्रता र बिश्व भाइचाराको ठोस ब्यवहारलाई सुनिश्चित  गर्दछ ।      

माक्र्सले गरेको समाजको यही अध्ययन, खोज, लेखन र संघर्ष नै  उनको अबिरल जीवन यात्रा हो र त्यही  नै बिश्व कम्युनिष्ट आन्दोलनको लागि मूलभूत बैचारिक आधार हो ।यद्यपि माक्र्स केवल एउटा किताबी दार्शनिक बिल्कुलै थिएनन् । उनले आफ्नो बिचारलाई स्वयं आफ्नो जीबन ब्यबहारमा खरो उतारेका थिए । माक्र्स र एंगेल्सले यो शोषित पीडित जनताको मुक्ति आन्दोलनमा लाग्ने आफ्नो दृढ अठोट र संकल्पका साथै अब आफुहरुले समाजको कुनै बिशेष अधिकार नलिने र जनतासँग एकाकार भएर जाने दृढ निश्चय गरेको थिए । त्यसैले त्यस  समयका मजदुर आन्दोलनहरु र क्रान्तिकारी आन्दोनलहरुसँग उनी  निकटतमरुपमा जोडिएका थिए । हुन पनि त्यसैले उनको लेखन शासक बर्गलाई खुल्ला चूनौति दिने उनका बिचारहरु यत्तिका धेरै प्रभावकारी र ‘खतरनाक’ थिए कि माक्र्सलाई कयौ देशका सरकारहरुले एक पछि अर्को  देशबाट निष्काशन गर्ने, थुन्ने, छेक्ने काम गरेका थिए । अनि उनले लेखेका लेखहरु र उनले दिएका बिचारहरुमाथि पनि कडा निगरानी गरिन्थ्यो र  प्रतिबन्ध लगाइएको हुन्थ्यो । 

 माक्र्सले अत्यन्तै गरीबीमा आफ्नो जीबन बिताए ।  एक पटक माक्र्सकी आमाले माक्र्सका बारेमा  भनेकी पनि थिइन् —  ‘जुन मानिसले पूँजीका बारेमा यत्तिका धेरै लेख्यो उही पूँजीवाट लाभ उठाउनमा भने सबैभन्दा पछि पर्यो’ । माक्र्स र उनकी धर्मपत्नी जेनीका सातवटा बच्चा जन्मेका थिए । ती मध्ये तीनजना बच्चा मात्र बयस्क उमेरसम्म बाच्न पाए । वास्तवमा अत्यन्तै ठूलो आर्थिक अभावमा कष्टप्रद  जीवन गुजारा गर्नुपरेका कार्ल माक्र्सले कतिपय बालबच्चाहरु सानै उमेरमा उचित औषधोपचारको सुबिधा नपाएर अल्पायुमै मृत्युबरण गर्नु परेको थियो । यद्यपि उनका अनन्य सहयात्री मित्र कामरेड फेडरिक एंगेल्सले सकेसम्म उनलाई हरेक किसिमले मद्दत गरका थिए । हुन पनि एंगेल्स वास्तवमा मार्क्सको जीवन तथा लेखन दुबैका अभिन्न तथा आजीवन सहयात्री थिए र रहे । मार्क्स र एंगेल्सको मित्रतालाई जसले देखे, सुने, जाने तिनले त्यसप्रति लोभलाग्दो इष्र्यानै गर्ने गर्दथे र अहिले पनि गर्दछन्  । 

 आजभन्दा दुइ सय  ५ बर्ष पहिला माक्र्सले जे देखेका थिए र लेखेका थिए त्यो आजको २१औ शताब्दीको बिश्व र त्यसको एउटा अंग नेपाली समाजका  लागि कत्तिको सार्थक छ ? यो कुरा हामीले गम्भीर र राम्रोसँग हेर्नु, बुझ्नु र पुनर्पुष्टी गर्न सक्नु र त्यसो गर्न सिक्नु पर्दछ । यद्यपि कतिपय स्वनामधन्य बिद्वानहरु, इतिहासकारहरु र समाजशास्त्रीहरुले आजको २१औं शताब्दीमा मार्क्सवादलाई पुरानो र सन्दर्भहीन भएको र त्यसको आवश्यकता पनि नरहेको सतही र हल्काफुल्का ब्याख्या गर्ने गरेका छन् । मार्क्सबाद पराजित भइसकेको दर्शन  भन्ने गलत टिप्पणी पनि गर्ने गरेका छन् । 

 तर आज हामी सबैले देखिरहेका छौं कि जति जति पूँजीवादी संकट गहिरिदै जान्छ ठूला पूँजीवादी देहरुमा मानिसहरु संघर्षको मैदानमा सडकमा उत्रिन थाल्दैछन् र ती माक्र्सले लेखेका कुराहरु जान्न बुझ्न र त्यसको पालना गर्न अझ बढी जिज्ञाषु र उत्सुक देखिन थालेका छन् ।  सामाजिक क्रान्तिका अतुलनीय द्रष्टा, ब्याख्याता र मार्गदर्शक माक्र्सले समाजको बिकास र प्रगतिका बारेमा के भनेका थिए ती कुराहरुलाई कमरेड पुष्पलाल जस्तै गम्भीरतमरुपमा हेरौ र बुझौं ! अनि आजको बिश्व समाज र यसमा चलिरहेको संघर्षलाई सही किसिमले जान्न बुझ्न मार्क्सबाद कत्तिको सामयिक र सान्दर्भिक छ सही र गम्भीर किसिमले चिन्तन मनन र आत्मसात गरौ ! अनि अजेय मार्क्सबादी दर्शनको महान झण्डाको आलोकमा सही किसिमले अगाडि बढ्न र यसको अजेयतालाई आत्मसात गर्दै देश र जनतालई यूगौंदेखिका दुःखकष्टबाट मुक्त गर्न सकिन्छ । अजेय मार्क्सबाद र कार्ल माक्र्स अमर छन् र निरन्तर रहिरहने छन् ! हामीले कमरेड पुष्पलालबाट सिक्ने र अनुसरण गर्ने मूलभूत कुरा पनि यही नै हो ।     


२०८० साउन ६ १०:३७ बजे

प्रतिक्रिया