राजनिति गर्नेले उत्पादन र श्रम सँग जोडिनु आवश्यक

bimbonline बिम्ब अनलाइन
२०८० असार ३ ११:०६ बजे

काठमाडौँ, असार ३ गते । पूर्वमन्त्री एवं तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रभावशाली नेता लोकेन्द्र विष्ट मगर अचेल कृषि कर्ममा हुनुहुन्छ। दाङमा सुरु गरेको सिउँडी फल (ड्र्यागन फ्रुट) खेतीले उहाँलाई नाम र दाम दुवै दिएको छ। अर्का वामपन्थी चिन्तक विश्वभक्त दुलाल (आहुती) पनि कृषि उत्पादनमा सक्रिय हुनुहुन्छ। 

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले काठमाडौँको हालै एक निजी क्याम्पसमा हरेक आइतबार पढाउन थालेपछि राजनीतिक तप्कामा पार्टीका कामसँगै व्यावसायिक बन्न अरू काम पनि गर्नुपर्छ भन्ने सोच बढेको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कहिलेकाहीँ कक्षाकोठामा गएर विद्यार्थीसँग अन्तर्क्रिया गर्नुहुन्छ। राजनीतिमा लाग्नेले अरू काम गर्न हुने वा नहुने भन्नेमा समाजमा यदाकदा बहस हुन्छ। खासगरी विदेशमा राजनेताले गरेका अन्य कामलाई उदाहरणका रूपमा लिएर यस्तो चर्चा गरिने गरिन्छ। 

माथि छोटो चर्चा गरिएका नेतामध्ये तीन जना राजनीतिमा पनि रहेर अन्य पेसामा लाग्नुभएको छ। लोकेन्द्र विष्ट भने ‘राजनीतिक परिवर्तनका लागि जनयुद्धमा होमिएका’ नेता हुनुहुन्छ। उहाँले तीन वर्षअघि तीन बिघाभन्दा बढीमा सिउँडी फल रोपेर ‘कृषि क्रान्ति’ सुरु गर्नुभयो। उहाँले त्यसअघि पनि कालो धानको खेती गर्नुभएको थियो। 

उहाँले नेतृत्वले आफूले भन्ने र गर्ने काम एउटै हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “आर्थिक क्रान्ति गर्छु भन्ने अनि काम चाहिँ केही नगर्ने ? त्यस्तो हुँदैन। मैले कृषिमा आत्मनिर्भर भएर मात्रै समाजलाई आर्थिक रूपान्तरणमार्फत योगदान गर्न सकिन्छ भनेरै मैले कृषिको काम थालेको हो। अहिले ड्र्यागन फ्रुटको व्यवसाय अरू साथीलाई जिम्मा दिएको छु। योजना बनाएर केही काम गर्ने सोचमै छु।”

त्यसै गरी आहुतीले आधुनिक र आत्मनिर्भर कृषि पेसा सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। वैज्ञानिक समाजवादी पार्टीका महासचिव आहुतीले अहिले साबुन कारखानासँगै कृषि कर्ममा आफ्नो पार्टीपङ्क्ति सक्रिय भएको बताउनुभयो। 

राजनीतिक आन्दोलनमा चार–पाँच दशकसम्म बलिदानीपूर्ण सङ्घर्ष र यात्रा गरेका राजनीतिज्ञहरू राजनीतिबाट पलायन हुँदा अनौठो लाग्न सक्छ तर ‘कालो बादलमा चाँदीको घेरा हुन्छ’ भनेझैँ एउटा यात्राबाट विश्राम लिँदै गर्दा सामाजिक र आर्थिक रूपान्तरणको अर्को नवीन यात्रा सुरु गरेर नेताले महत्त्वपूर्ण सन्देश दिनुभएको छ।

नेपालमा धेरै राजनीतिज्ञले आर्थिक रूपान्तरणमा योगदान दिने अभिप्रायले कृषि तथा शिक्षा क्षेत्रदेखि अरू व्यवसायसम्म सञ्चालन गर्नुभएको छ। केही राजनीतिज्ञले ‘पार्टटाइम’ का रूपमा खाली समयमा अन्य व्यवसाय सञ्चालन गर्नुभएको छ। 

राजनिति मा सक्रिय नेता कार्याकर्ताहरु ले आफ्नो क्षमता सक्षता र रुचि अनुसार कुनै न कुनै उत्पादनका काम सँग जोडिनु अनिवार्य रहेको छ।


२०८० असार ३ ११:०६ बजे

प्रतिक्रिया