काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै नागरिकता सम्बन्धी केही नयाँ प्रावधानहरू लागु हुने छन् ।
राष्ट्रपति पौडेलले उक्त नागरिकता विधेयक आज मङ्गलवार प्रमाणीकरण गरेका हुन् । विवादमा रहेको नागरिकता विधेयकलाई राष्ट्रपति राम चन्द्र पौडेलले प्रमाणीकरण गरेपछि पौडेलको उक्त कदमबारे अहिले विरोध भइरहेको छ ।
यसअघि दुई पटक सङ्घीय सांसदले पारित गरेको यो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी ‘होल्ड’ मा राखेकी थिइन् । तर २५ फागुनमा निर्वाचित राष्ट्रपति पौडेलले त्यही विधेयक प्रमाणीकरण गरेका छन् ।
उक्त नागरिकता विधेयकमा जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने प्रमुख प्रावधान रहेको छ । विधेयक प्रमाणीकरणसँगै अब २०७२ को संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानले वंशजको नागरिकता पाउनेछन् । २०७२ को संविधानले नै संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको थियो ।
विधेयकको दफा–२ मा लेखिएको छ, '२०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ ।
विधेयकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने प्रावधान रहेको छ । अब नेपाली आमाबाट नेपालमा जन्म भएर नेपालमा बसोबास गरेका, तर बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट नागरिकता पाउने भएका छन् । तर, बाबु विदेशी ठहर भएमा वंशजको आधारमा पाएको नागरिकता अङ्गीकृतमा परिणत हुनेछ । आमाको नामबाट वंशजको नागरिकता चाहने व्यक्तिले बाबु र आमाले श्रीमान पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्नेछ ।
यद्यपि आमाको पनि मृत्यु भइसकेको वा होस/ठेगानमा नरहेको अवस्था भए, त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछ । स्वघोषणाको ढाँचा गृह मन्त्रालयले तयार पार्नेछ ।
तर स्वघोषणा गर्दा झुटो ठहरिए सजायको व्यवस्था गरिएको छ । बाबुको पहिचान हुन नसकेको भनी झुटो स्वघोषणा गरेमा एकदेखि तीन वर्षसम्म कैद वा एकदेखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुने प्रावधान विधेयकमा रहेको छ ।
यो सँगै अब गैर आवासीय नेपालीलाई नागरिकता लिन बाटो खुलेको छ । उनीहरूले अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता पाउनेछन् ।
वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिई पछि विदेशी मुलुकको नागरिकता लिएको गैर आवासीयले यस्तो व्यवस्था बमोजिम नागरिकता पाउनेछन् ।
सर्तहरू
निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साबिकमा नेपालको नागरिक रहेको प्रमाण,
सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण,
नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता ।
नागरिकता विधेयक पारित भएपछि कसले के भने ?
नेकपा एमालेका सांसद योगेश भट्टराईले अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद् आएसँगै निष्क्रिय रहेको नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संविधानको घोर उलङ्घन गरेको प्रतिक्रिया दिएका छन् । उनले यो काम सर्बभौम सांसदमाथिको नाङ्गो अतिक्रमण भएको बताएका छन् । संविधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संविधानमाथि आक्रमण गर्नु चिन्ताको विषय भएको भट्टराईको भनाइ रहेको छ । नेपालको नागरिकता ऐनलाई लिएर बिभिन्न आशङ्का भइरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै दिन यो काम हुनु “चितुवा पनि कराउनु सिंदाली पनि हराउनु” जस्तै भएन र भन्दै भट्टराई ले प्रश्न समेत गरेका छन् ।
एमालेकै उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमणमा जानै लाग्दा हतार हतारमा किन यस्तो गर्नु रहेको बुझ्न नसकेको प्रतिक्रिया दिएका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिको उक्त कदमलाई राष्ट्रप्रतिको बेइमानी भएको टिप्पणी गरेका छन् । उनले प्रमको भारत भ्रमणको दिन नागरिकता विधेयक प्रमाणित गर्नुले यो विधेयक कसलाई खुसी पार्न बनेको हो भन्ने पनि प्रस्ट रहेको बताएका छन् । राष्ट्रहित विपरीत ठहर गरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान भएको थापाको भनाइ रहेको छ ।
पूर्व महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलमाथि संविधान मिचेको र प्रधानमन्त्री प्रचण्डले भारतको भिसा पाउनका लागि नागरिकता विधेयक उपहार चढाएको आरोप बताएका छन् । उनले पहिलो कुरा विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ प्रधानमन्त्रीले होइन सभामुख वा राष्ट्रियसभा अध्यक्षले भएको बताएका छन् । दोस्रो कुरा त्यो विधेयकको संवैधानिक अस्तित्व नै समाप्त भइसकेका भन्दै उनले राष्ट्रपतिले असंवैधानिक काम गरेका गर्दै नाङ्गो दलाली गरेको उनको आरोप रहेको छ ।
प्रतिक्रिया