नक्कली भूटानी शरणर्थी प्रकरणले निम्तिने तार्किक निष्कर्श

माल पाएर पनि चाल नपाउने र मेहनत गरेर राष्ट्र निर्माण गर्नेभन्दा रातारात धनाढ्य बन्ने अत्यन्तै भ्रष्ट बाटो अपनाउने सत्ताशालीहरुको गलत नीतिका कारण आज देशमा अपूर्बरुपमा चौतर्फी चर्को भ्रष्टाचार र संगठित आर्थिक तथा राजनीतिक अपराध बढेर जाँदा पनि तिनले कुनै सही कानुनी कार्वाहि हुन सकेको छैन।

bimbonline लोकनारायण सुवेदी
२०८० ज्येष्ठ ८ १०:५३ बजे

काठमाण्डौ।देश आज सर्बत्र भयावह र चरम भ्रष्टचार, ठगी र संगठित अपराधको बिगबिगीले   आक्रान्त छ  । यस्ता गतिबिधिमा राज्यका बिभिन्न उच्च तहमा पदासीन रहेका मन्त्री, सांसद  जस्ता राजनीतिकर्मी तथा उच्च कर्मचारीहरुको संलग्नताले यी अपराधहरु निस्फिक्रीरुपमा निर्वाध चलिरहेको प्रष्ट हुन्छ  । घटनाक्रमले त्योभन्दा माथिका ओहोदाधारीहरुलाई तान्न सक्ने आकलन र  अनुमान पनि भइरहेको छ । त्यसमा पनि पछिल्लो घटना जुन नेपाली नागरिकहरुलाई नक्कली भूटानी शरणार्थी बनाएर पश्चिमा देशमा पठाउने राष्ट्रिय लज्जा र भयंकर ठूलो धोकाको पर्दाफास भएको छ यसलाई देश र जनताप्रतिको ठूलो द्रोह अर्थात राज्य द्रोहको गम्भीर अपराध मानिदै र ठानिदै छ । यसले देशको राज्ययन्त्र अबिश्वसनीय र इज्जत  नरहेको अपराधिक समूहमा परिणत भएको प्रतीत भइरहेको छ । यसले हाम्रो देशको शासन प्रशासन कति खोक्रो र कति गैर जिम्मेवार बन्दै गएको रहेछ भन्ने कुरा पनि प्रष्ट र उजागर गरिदिएको  छ ।

यस स्थितिले गर्दा अझ सम्बेदनशील कुरा त  के प्रष्ट भएको छ भने अपराध जगतबाट देश र जनतालाई जोगाउने र कानुनको पालना गर्ने गराउने जिम्मेवारी बहन गर्नुपर्ने  राज्यको गृह प्रशासन लगायतका बर्तमान सांसद  र पूर्ब जिम्मेवार उपप्रधान मन्त्रीहरु र भूटानी शरणार्थी नेता समेत जे  जस्ता जनता र राष्ट्रपति अरु सबैभन्दा बढी जिम्मेवार, बफादार, निष्ठाबान र अनुशासित रहनु हुनुपर्ने ब्यक्तित्वहरु नै आफ्नो पदको घोर दुरुपयोग गर्दै यस्ता अबाञ्छित र गम्भीर किसिमका अपराधिक कार्यमा संगठित तरीकाले  संलग्न भेटिनु कम खतरानाक कुरा होइन । यस प्रकार हिजो पञ्चायत र  बहुदलकालमा घटे घटाइएका घटनाहरुभन्दा यो गणतन्त्रात्मक कालमा घटाइएका यस्ता आपराधिक घटनाहरु अझ बढी गम्भीर र अझ बढी लज्जास्पद घटना हुन पुगेका छन् । यस प्रकारका कुकृत्यलाई समाजमा हुने गरेका सामान्य अपराधका घटनाकोरुपमा मात्र लिनु नहुने कुरा एकदमै प्रष्ट छ  । 

त्यसमा पनि अझ संयुक्त राष्ट्र संघसँग सम्वन्धित शरणार्थी सम्वन्धि उच्च आयोग जस्ता संस्थासँग गासिएका भूटानी शरणार्थीहरुको हक अधिकारमाथि जानाजान खेलबाड गर्ने र अन्तर्राष्ट्रियरुपमा  तिनले पाउने सुबिधा र सहुलियतलाई दुरुपयोग गर्ने तथा नेपाली नागरिकलाई बिदेशी नागरिक र शरणार्थी बनाएर बिदेशमा बेच्ने संगठित र योजनाबद्ध मानब बेचबिखन जस्तो जघन्य अपराधको सञ्जाल खडा गर्नु र  घटना घटाइनुले यो अहिलेको भ्रष्टाचार,ठगी र मानब तस्करी गर्ने घटनाले अन्तर्राष्ट्रिय जगतनै आकर्षित हुने र भइरहेको कुरा पनि जग जाहेर नै छ । यसले नेपालप्रतिको मित्रराष्ट्रहरुको सम्वन्धलाई सन्देहास्पद र अबिश्वसनीय तुल्याउँदछ भने नेपालको रहे सहेको छबिलाई पनि ध्वस्त बनाउँदछ । यो कम ठूलो चिन्ता र लज्जाको बिषय होइन । आज बिबिध कारणले प्रबासिएका या प्रबासिन बाध्य भएर बिभिन्न मुलुकमा पुगेर स्थायी अस्थायीरुपमा रहे–बसेका नेपाली समुदायप्रति पनि यस घटनाले जुन सन्देह र अपमानको अबस्था सिर्जना गरेको छ त्यो पनि एकदमै दुःखदायी कुरा भइरहेको छ । 

यस्तो स्थितिमा अनेक किसिमले नेपालमााथि हस्तक्षेप गर्दै आएका शक्ति राष्ट्रहरुले यो बिषयलाई अघि सारेर र निहुँ बनाएर थप हस्तक्षेप गर्ने आधार पनि यसलाई बनाउँदछन् । अहिले नै त्यस्तो सन्देह गरिदैछ र त्यसको आभाष पनि भइरहेको छ । फलतः नेपाली जनताले थप बाह्य हस्तक्षेपको बोझ झेल्नुपर्ने स्थिति खडा हुन पुग्दछ । भूटानी शरणार्थी बनेर बिदेश छिरेका छिराइएका नेपाली मूलका मानिसहरु कति साच्चै भूटानी हुन् र कति गैर भूटानी हुन् भन्ने चासो र चिन्ता अमेरिका, बेलायत, अष्टेलिया लगायतका पश्चिमा देशहरुले लिने र छानबिन गर्ने जुन कुराहरु अहिले उठिरहेको छन् ती यही संगठित र योजनाबद्ध अपराधको उपज हुन् भन्ने कुरा स्वीकार नगरी धरै छ्रैन  । त्यसै पनि कुनै देश जब भ्रष्टाचारमा चुर्लम्म डुबेको हुन्छ त्यो कमजोर हुन्छ । त्यतिबेला जनता र राज्य बिचको परस्पर सम्वन्ध पनि स्वाभावतः असहज र कमजोर हुन  पुग्दछ र त्यस्तो कमजोर अबस्थामा नै बाह्य हस्तक्षेप थप बढेर  जाने सम्भावना पनि अझ  बढी हुन्छ । त्यो अनेक देशका उदाहरणहरु लगायत हाम्रै देशका घटना परिघटनाहरुले पनि एकदमै प्रष्ट पारेको र पारिरहेको यथार्थ कुरा   हो ।

यस प्रकार हामीले बुझ्नै पर्ने हुन्छ कि जुन देशको शासन प्रशासनमा भ्रष्टाचार ब्याप्त हुन्छ, त्यो देशको सार्बभौमिक अखण्डता, राष्ट्रिय स्वाधीनता, नागरिक स्वतन्त्रता  अनि राष्ट्रियता तथा जन जीबिको स्थिति पनि कमजोर भएर जान्छ । त्यसले गर्दा बाह्य हस्तक्षेप, दबाब र दख्खलहरु फ्रि अझ बढेर जाने थप स्थिति बन्दछ  । अनि देश पराश्रित र परनिर्भर हुने दिशामा अझ बढी धकेलिन पुग्दछ । फलतः अरुकै आड भरोसामा अझ बढी भरपर्नु पर्ने अत्यन्तै कमजोर स्थिति खडा हुन्छ । यसरी  देशको आत्मनिर्भर र बिश्वका राष्ट्र समुदायसँग आँखा जुधाएर खडा हुन सकिने स्थिति नराम्रोसँग खण्डित हुन पुग्दछ । जुन कटु यथार्थ कुरा आज हामी भोग्दै ब्यहोर्दै आइरहेका पनि छौं । अत्यन्तै ब्यापक जैबिक बिबिधिता, अजश्र जलश्रोत र असंख्य यूवा जनशक्ति भएर पनि हामी कटौरा थापेर भिख माग्ने स्थितिबाट गुज्रिरहेका छौं र ऋणमा चुर्लुम्म डुब्दै गएका छौ । अनि आत्मनिर्भर भएर समान अन्तरनिर्भरताको दिशामा अग्रसर हुनसक्ने स्थितिलाई अन्त्य गर्दै गइरहेका छौ । यो कम दुर्नियतपूर्ण र कम बिडम्बनापूर्ण कुरा होइन ।   

माल पाएर पनि चाल नपाउने र मेहनत गरेर राष्ट्र निर्माण गर्नेभन्दा रातारात धनाढ्य बन्ने अत्यन्तै भ्रष्ट बाटो अपनाउने सत्ताशालीहरुको गलत नीतिका कारण आज देशमा अपूर्बरुपमा चौतर्फी चर्को भ्रष्टाचार र संगठित आर्थिक तथा राजनीतिक अपराध बढेर जाँदा पनि तिनले कुनै सही कानुनी उपचार पाइरहेका छ्र्र्रैनन् । बरु राजनीतिक संरक्षण र सुरक्षा पाएर त्यस्ता गतिबिधिहरु मौलाएका छन् । बिगतदेखि अहिलेसम्मका भ्रष्टाचारका ठूल्ठूला अपराधहरु, ललिता निवास प्रकरण, गिरीबन्धु चीयाँ बगान प्रकरण, एनसेल प्रकरण, आयलनिगम जग्गा प्रकरण, यति, ओम्नी, प्रकरण, सेक्युरिटी प्रेस प्रकरण, शिबिर घोटाला प्रकरण, करछली र कमिशनखोरीका भयंकर काण्डहरु सामसुम बनाइएका छन् या तामेलीमा राखिएका छन् । जनता र  राष्ट्रको बजेट यसरी नराम्रोसँग हिनामिना गरिएको र स्वाहा पारिएको छ । बिकास योजना परियोजनाहरु अत्यन्तै महँगा तर  गुणस्तरहीन र अपूर्ण तुल्याइने गरिएका छन् ।  हाम्रो अबिकास र कमजोरी मूलतः यही राज्य र जनताको निरन्तर दोहनको कारण हो भन्ने पनि प्रष्ट भइसकेको र  भइरहेको छ ।

यो पछिल्लो नक्कली भूटानी शरणार्थी प्रकरणलाई जसरी सतहमा ल्याइएको छ र यसको छानबिन चल्दैछ यसलाई पनि बिगतमा  जस्तै सामसुम पार्ने र यसका सबै जिम्मेवारहरुलाई पानीमाथिको ओभानो बनाएर सुनपानी छर्किने प्रपञ्च नहोला भन्न सकिने स्थिति छैन । बिगतका अनेक तस्करी, कमिशन र भ्रष्टचारका काण्डहरु तामेलीमा राखिए, ठूलालाई संरक्षण र सानालाई दण्ड सजाय दिएर टार्ने गरिएको छ ।  त्यसैको फलस्वरुप देशमाा यस्ता अबाञ्छित घटना परिघटनाहरु दोहोरिने, झाँगिने र मौलाउने आधार बने, बनिरहेका छन् । यसरी दण्डहीनताको प्रपञ्चका जनता र राष्ट्रको मनोबल गिराउने र उनीहरुलाई निराश तुल्याउने एकपछि अर्को गतिबिधिले राजनीतिक भ्रष्टचार र अपराधका कुकर्महरु अझ बढ्ने र राष्ट्र अझ कमजोर र खाक्रो भएर जाने कुरा बाहेक अरु केही हुँदैन । यसको उपचार ठीकसँग भएन भने यसले घोर अराजकता, मनपरीतन्त्र र लूट बाहेक अरु केही पनि जन्माउँदैन । एक त यो राजनीतिक प्रणाली नै मूलतः शोषणको शासनमा आधारित कुर्सीको खेल तमासामा चल्ने प्रणाली हो । त्यसमाथि थप  राजनीतिलाई मूल्य, मान्यता, आदर्श र सिद्धान्तबाट च्यूत तुल्याएर जनता राष्ट्रप्रति जिम्मेवार नबनेपछि उत्पन्न हुने स्थिति नै यस्तै हो । यसको अन्तिम परिणति जन बिद्रोह हुन पुग्दछ । लाग्छ, नेपाली राजनीति त्यही दिशामा घचेटिदै, धकेलिदै गइरहेको छ । अत्याचारको पराकाष्ठाले निम्त्याउने कुरा नै वास्तवमा त्यही हो । 




२०८० ज्येष्ठ ८ १०:५३ बजे

प्रतिक्रिया