एभरेष्ट बैङ्कको खाताबाट बैङ्ककै कर्मचारीहरूले डेढ करोड चोरी गरेपछि...

पक्राउ परेकाहरूमाथि बैङ्किङ कसुर र सङ्गठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ६ १०:१५ बजे

काठमाडौँ । एभरेष्टबैंकको इटहरी शाखाबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ । ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो ।

३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैङ्कको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ ।  पक्राउ परेकाहरूमा ७ जना बैङ्ककै कर्मचारी रहेका छन् ।  

पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताएका छन् । 

बैङ्कका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आ‍इडी पासवर्ड चोरेर रकम पठाउने गरेका पाइएको छ ।  त्यस्तै कोर बैङ्किङ सिस्टम (सीबीएस)बाट निस्क्रीय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम  निकाल्ने गरेको पाइएको छ । सो रकम अन्य बैङ्कहरूका विभिन्न खाताहरूमा पनि पठाइएको पाइएको छ ।  

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैङ्कको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे-८ घर भएका ४२ वर्षीय  विश्वराज शाक्य, बैङ्कको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर- ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैङ्कका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैङ्कको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो ।

त्यस्तै धनुसाको मिथिला नगरपालिका- ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका-२ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् । प्रहरी नायव उपरीक्षक राईका अनुसार ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान हुन् ।

इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिकमा गाइघाट सरुवा भएको थियो । उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

कर्मचारीले ग्रहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको पाइएको छ । उनीहरुले विभिन्न ३३ जनाहरुको खाताबाट उनीहरुलाई जानकारी नदिई सो रकम निकालेको पाइएको हो ।  बचत कर्ताहरुले आफुहरुको खाताबाट पैसा हराएपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले २०७९ चैत १२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानमाथि केरकार गर्दा बैंकभित्रको सङ्गठित जालो पत्ता लागेको डिएसपी राईले बताए ।

बैङ्कको शाखा कार्यालयका प्रबन्धकसहित कर्मचारीको सङ्गठित जालो देखिएपछि इटहरी शाखाका ६ जना कर्मचारीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । धनुसाका भुजेल गत वैशाख १० गते र भक्तपुरका खिउजु वैशाख १३ गते पक्राउ परेका थिए । खिउजु र भुजेलले रकम निकाल्न सहयोग गरेको देखिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूमाथि बैङ्किङ कसुर र सङ्गठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । 

२०८० ज्येष्ठ ६ १०:१५ बजे

प्रतिक्रिया