पुर्वगृहमत्री वालकृष्ण खाँणको सँलग्नता भएको प्रमाण फेला पर्यो

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २७ २०:१८ बजे
पुर्वगृहमत्री वालकृष्ण खाँण

काठमाण्डौ।       नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डको पर्दाफास हुँदा तत्कालीन गृहमन्त्री र गृहसचिव नै अहिले प्रहरी हिरासतमा पुगेका छन् । ८ सयभन्दा धेरै मानिसलाई ठगी गरी करोडौँ रुपैयाँ उठाएको यो प्रकरणमा पक्राउ पर्ने पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनायरण पाण्डे सबैभन्दा उच्च तहका व्यक्ति हुन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी फरार छन् ।

२० वैशाखमा सचिव पाण्डे पक्राउ परेपछि तत्कालीन गृहमन्त्री खाँणलाई निन्द्रा पर्न छोडेको हुन सक्छ । किनकि त्यसमा आफू तानिन्छु भन्ने उनलाई निश्चित थियो । तर पनि उनले योबीच एक विज्ञप्ति जारी गर्दै आफू सो प्रकरणमा संलग्न नरहेको भन्दै समाचारहरूको खण्डन गरे । पाण्डेलाई पक्राउ गरेपछि प्रहरीले उनीसँग बयान लिँदा उनले तत्कालीन गृहमन्त्री खाँणको नाम पोलेका थिए । उच्च प्रहरी स्रोतका अनुसार पाण्डेले आफूले गृहमन्त्रीकै निर्देशनमा काम गरेको र करोडौँ रकम दिएको बयान दिएका थिए । 

तर, खाँणलाई पक्राउ गर्न प्रहरीका लागि पाण्डेको यो बयान मात्र पर्याप्त थिएन । त्यसैले प्रहरी थप प्रमाण जुटाउन सक्रिय बनिरहेको थियो । पाण्डेको मोबाइलबाट केही प्रमाण फेला पार्ने प्रहरीको विश्वास थियो । तर, पाण्डेले पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल फर्म्याट गरिसकेका थिए । त्यसैले अब डाटा रिकभर नगरी कुनै प्रमाण फेला नपर्नेमा प्रहरी ढुक्क भयो र प्रहरीको प्रयोगशालामा पठाएर पाण्डेको मोबाइलको डाटा रिकभर गर्‍यो । 

प्रहरीले पाण्डेको मोबाइलको डाटा रिकभर भएपछि खाँण र पाण्डेबीच भएको गोप्य म्यासेज पढ्यो र खाँणलाई पक्राउ गर्ने तयारी गर्‍यो । उच्च प्रहरी स्रोतका अनुसार प्रहरीले मंगलबार डाटा रिकभर भएपछि खाँणलाई पक्राउ गर्ने योजना बनाएको थियो । म्यासेजमा करोडौँ रकम लेनदेनबारे दुई जनाबीच कुराकानी भएको भेटिएको थियो । यही प्रमाण खाँणलाई पक्राउ गर्न प्रहरीका लागि पर्याप्त भयो । र, खाँण पक्राउ परे । 

अदालतबाट पक्राउ पुर्जी लिई पक्राउ गर्ने प्रक्रिया पूरा गर्दा खाँण टोपबहादुर रायमाझीजस्तै फरार हुन सक्ने जोखिम थियो । त्यसैले प्रहरीले अति नै गोप्य रूपमा योजना बनायो– जरुरी पुर्जी लिएर पक्राउ गर्ने । 

तर, खाँण पनि प्रहरी प्रशासनको राजनीतिक नेतृत्व गरिसकेका व्यक्ति थिए । त्यसैले उनले आफूविरुद्ध प्रहरीले प्रमाण फेला पारेको सूचना उनले मंगलबारै पाइसकेका थिए । रुपन्देहीमा रहेका उनी त्यसपछि तुरुन्त काठमाडौं हानिए । उनी प्रहरीलाई चक्मा दिने योजना बनाउन थाले । मंगलबार राति भक्तपुर पुगेर मोबाइल अफ गरी उनी राति नै आफ्नो निवास मैजुबहालफर्किए ।

खाँणलाई प्रकाउ गर्न प्रहरीले सुरुमा उनको मोबाइल लोकेसन ट्र्याक गर्‍यो । र, कोटेश्वर र भक्तपुर पुग्यो । तर उनी त्यहाँ फेला परेनन् । त्यसपछि राति नै प्रहरी उनको घरनजिक पुग्यो ।  उनी घरमै रहेको निश्चित गर्न प्रहरीलाई निकै समस्या भएको थियो ।

बुधबार बिहानै सादा पोशाकका प्रहरी खाँण निवास  मैजुबहालमा खटिइसकेका थिए । ९ बजेतिर बर्दीसहितको प्रहरी टोली जरुरी पुर्जी लिएर खाँणको घरमा पुग्यो । तर, खाँण सहजै प्रहरीको हातमा आएनन् । उनी ढोकामा चुकुल लगाएर भित्र बसे । प्रहरीले बाहिरबाट ‘माननीयज्यू’ नै सम्बोधन गरेर बोलाए पनि उनले ढोका खोलेनन् । त्यसपछि प्रहरी ढोका फोरेरै घरभित्र पस्यो र उनलाई पक्राउ गर्‍यो । त्यो बेला पनि प्रहरीलाई खाँणले हप्कीदप्की गरेका थिए ।  खाँणले अन्तिममा आफूलाई पक्राउ गर्न आएका प्रहरीलाई भनेका थिए, अरु जे भए पनि मेरो घरको ढोका फोर्नु हुँदैनथ्यो ।


२०८० वैशाख २७ २०:१८ बजे

प्रतिक्रिया