आर्थिक विकासमा लागि सरकार सक्रिय भई लागिरहेको छ : प्रधानमन्त्री प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २४ ११:३१ बजे
प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वृद्धि हासिल गर्न सरकार  लागिरहेको बताएका छन् । विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारको अवस्थामा रहेको बताएका छन् । 

नेपाल बिजनेस समिटलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको अर्थतन्त्रमा विगत केही समयदेखि शोधानान्तर घाटामा उल्लेख्य सुधार आई शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्था पनि सुधार भएको, आयातको परिमाणमा पनि उल्लेख्य मात्रामा कमी भएको र विप्रेषणमा उत्साहजनक वृद्धि  रहेको बताएका हुन् ।  

 कार्यक्रममा उनले भने , 'अन्य विकसित एवं विकासशील मूलकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैङ्कले विभिन्न प्रक्षेपणहरूका बाबजुद नेपालको समग्र अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको छ ।'

उनले भने, ‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिहरूमार्फत आर्थिक वृद्धि हासिल गर्न नेपाल सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ । विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रस्ट पारेका छन् ।’

राष्ट्रिय उत्पादन वृद्धि गर्ने, रेमिट्यान्सलाई व्यवस्थित बनाउने तथा स्वावलम्बी अर्थनीति अवलम्बन गर्ने कार्यमा सरकार, निजी क्षेत्र र नागरिक समाज सक्रिय रहेमा आर्थिक धरातल बलियो बन्ने उनको भनाइ रहेको छ ।  

नेपालको अर्थतन्त्रप्रति आम रूपमा चिन्ता र चासो बढेको भन्दै उनले नेपाल सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिहरूलाई तीव्र बनाउनु अहिलेको प्रमुख आवश्यकता हुन आएको बताए ।

उनले तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावार, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वदेशी/वैदेशिक लगानी विस्तार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले भने,  ‘यी क्षेत्रहरूमा देखिएका विभिन्न प्रशासनिक एवं कानुनी व्यवधानहरूलाई सरलीकरण गर्न नेपाल सरकार सदैव तत्पर रहेको छ । ती क्षेत्रहरूमा लगानी प्रवर्द्धनका लागि देश तथा विदेशका वित्तीय संस्थाहरूबाट पुँजी परिचालन गर्न नेपाल सरकारले सहजीकरण गर्नेछ ।

२०८० वैशाख २४ ११:३१ बजे

प्रतिक्रिया