निक्षेपको ब्याजदर एकल अंकमा झारियो

 बुधबार बिहान बसेको नेपाल बैकर्स संघको बैठकले १ वैशाखदेखि लागू हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको हो

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २९ १२:४४ बजे
निक्षेपको ब्याजदर

काठमाडौं । बैंकहरूले निक्षेपको ब्याजदर एकल अंकमा झारेका छन् ।  बुधबार बिहान बसेको नेपाल बैकर्स संघको बैठकले १ वैशाखदेखि लागू हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको हो । 

१ वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको  बैकर्सका उपाध्यक्ष सन्तोष कोइरालाले  बताएका छन् । अहिले मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत छ । बैंकहरुले १.०१ प्रतिशत विन्दुले घटाउने निर्णय गरेका हुन् ।

यस्तै बचतमा न्युनतम ५.४ प्रतिशत र अधिकतम ७.४ प्रतिशत कायम गर्ने तथा कल निक्षेपमा बचतको तल्लो सीमाको ५० प्रतिशत हुन गरी ब्याजदर कायम गर्ने निर्णय  गरीएको छ ।  अहिले बचतमा बैंकहरुले ६ देखि ८ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।

राष्ट्र बैंकले अघिल्लो महिनामा एउटै वर्गका बैंकले बचत वा मुद्दती निक्षेपमा दिंदै आएको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले निक्षेपको ब्याजदर घटाउन वा बढाउन पाइने व्यवस्था गरेको छ । सोही सीमाभित्र रहेर निक्षेपको ब्याजदर घटाएको बैंकर्स संघले जनाएको छ ।सबै तिरबाट एकल अंकको ब्याजदर कायम गर्नुपर्ने माग आएपछि एकल अंक हुने गरी नै ब्याजदर घटाएइएको हो । 

यस्तै व्यक्तिगत मुद्दती निक्षेपमाभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर २ प्रतिशत विन्दुले कम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर एकल अंकमा आएपनि राष्ट्र बैंकले साधारण बचत र मुद्दतीमा भन्दा रेमिट्यान्स खातामा न्युनतम १ प्रतिशत ब्याजदर बढी दिनुपर्ने व्यवस्था गरेकाले रेमिट्यान्स निक्षेपमा बैंकहरुले १०.९९ प्रतिशत र रेमिट्यान्स बचत खातामा ८.४ प्रतिशत ब्याजदर दिनु पर्नेछ । अब कर्जाको ब्याजदर पनि घट्दै जाने अनुमान गरीएको छ । 

२०७९ चैत्र २९ १२:४४ बजे

प्रतिक्रिया