भारतबाट घटेर आयो इन्धनको मूल्य , निगम मूल्य घटाउने तयारीमा

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १९ ०८:०० बजे
इन्धनको मूल्य

काठमाडौँ ।  इन्डियन आयल कर्पोरेसन  (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य  घटाएर पठाएको छ । 

शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । 

आईओसीले १५र१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । मूल्य घटेर आए पनि शनिबार सार्वजनिक बिदा परेकाले निगमले मूल्य यथावत् राखेको जनाएको छ । निगम मूल्य घटाउने तयारीमा रहेको छ । 

हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ रहेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेलमा प्रतिलिटर १५ रुपियाँ नाफा रहेको छ । 

खपत कम हुनुले गर्दा पेट्रोलियम पदार्थ रिफाइनरी गर्ने कम्पनीहरूको लागतमा पनि कमी आएकाले नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेको निगमको भनाइ छ ।

निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबापत आईओसी र सरकारको ऋण गरेर १६ अर्ब बक्यौता तिर्नुपर्ने थियो । हाल नाफामा रहेका कारण उक्त बक्यौता घटेर १२ अर्ब हाराहारीमा आइपुगेको छ ।    

२०७९ चैत्र १९ ०८:०० बजे

प्रतिक्रिया