किसानलाई दूधको भुक्तानी बाँकी

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ११ ०८:१३ बजे
दूधको भुक्तानी

काठमाडौँ। दुग्ध उत्पादक किसानले समयमा दूध बिक्री गरेको रकम पाउन सकेका छैनन् । दूध उत्पादनको लागत मूल्य बढ्दै गएको र समयमा दूध बिक्री गरेको रकम पाउन नसक्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ ।

काभ्रेका किसान रामप्रसाद सापकोटाले दुई महिनादेखिको रकम नपाउँदा पशुलाई दाना खरिद गर्न कठिन भएको बताउनुभयो । “घरखर्चदेखि बच्चाबच्ची पढाउने दूध बचेको पैसाले हो, समयमा रकम नपाउँदा व्यवहार चलाउन धेरै नै समस्या भएको छ,” उहाँले भन्नुभयो । दूध बिक्री गरेको एक लाख ५० हजार रुपियाँ पाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष अमर कुँवरले मुलुकभर दुग्ध विकास संस्थानबाट दुई महिनाको ४० करोड रुपियाँ र निजी डेरी उद्योगबाट तीन महिनाको रकम पाउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

“बजारमा चोकर दाना र परालको मूल्य बढेको छ, पशुआहारको मूल्य बढ्दा किसानको लागत बढेको र समयमा दूध बिक्री गरेको रकम नपाउँदा किसान व्यवसायबाट पलायन हुने अवस्था आइसकेको छ,” उहाँले भन्नुभयो ।

डीडीसीले दूध खरिद गरेबापत किसानको ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । डीडीसीले पुस महिनासम्मको किसानलाई दूधको रकम भुक्तानी

गरेको तर माघ र फागुन महिनाको भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

इन्धनको मूल्य वृद्धिसँगै ढुवानी भाडा बढेकाले किसानको लागत मूल्य नै उच्च भएको र दूध बिक्री गरेको रकम समयमा पाउन नसक्दा पशुलाई आहार खुवाउन नसक्दा दूधको उत्पादन घट्दै गएको किसानको गुनासो छ ।

किसानले दूध बिक्री गरेको रकम १५र१५ दिनमा दिनुपर्ने भए पनि पछिल्लो समय दुई महिनादेखि भुक्तानी रोकिएको उहाँको भनाइ छ । दूधको मूल्य बढेर प्रतिलिटर ६५ रुपियाँ पुगेको छ । बढेको मूल्य गत चैत १ देखि लागू भएको छ । किसानले प्रतिलिटर दूधमा ६५ रुपियाँ पाउने गर्छन् ।

कारोबार घट्दा भुक्तानीमा समस्या

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले बजार मागअनुसार पर्याप्त दूध नहुँदा कारोबारमा कमी आई समयमा किसानको रकम भुक्तानी गर्न नसकिएको स्वीकार गर्नुभयो । बजारमा दूधको अभाव हुँदा दूध मात्र बिक्री गरिएको र घिउ र बटर बिक्री गर्न नसकेको उहाँले जानकारी दिनुभयो ।

“सामान्य अवस्थामा दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने गरिएको थियो, अहिले ९५ हजारदेखि एक लाख लिटर सङ्कलन हुन्छ,” उहाँले भन्नुभयो । हाल दैनिक ५० देखि ६० हजार लिटर दूध अपुग रहेको उहाँले जानकारी दिनुभयो ।

भदौ र चैतसम्म दूध उत्पादन हुने सिजन भए पनि बजारमा अभाव रहेको डीडीसीले जनाएको छ । बजार मागअनुसार दूध उपलब्ध नहुँदा मुस्किलले दूध वितरण गरिएको तर घिउ र बटर बिक्री गर्न नकिएको डीडीसीले जनाएको छ । दूध

अभावले गर्दा प्रशोधन केन्द्र पूर्ण रूपमा सञ्चालन हुन नसकेको डीडीसीले जनाएको छ ।

कोभिड–१९ का बेला बिक्री नभएर खेर गएपछि उत्पादन घटेकाले अहिले दूधको अभाव हुन थालेको हो । उत्पादनमा कमी आउनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध उच्च माग भएको सहरसम्म ल्याउन नसक्दा अभाव देखिएको हो । डीडीसीले विभिन्न ४६ जिल्लामा उत्पादन भएको दूध खरिद गरी बजारमा बिक्री गर्ने गर्छ ।

पाँच लाख लिटर दूध अभाव

नेपाल राष्ट्रिय डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले पछिल्लो समय बजारमा दूधको उत्पादन कम हुँदा दैनिक पाँच लाख लिटर दूध अभाव रहेको जानकारी दिनुभयो । सामान्य अवस्थामा बजारमा निजी डेरी उद्योगबाट दैनिक ३६ लाख लिटर दूध आपूर्ति हुने गरेकामा अहिले ३१ लाख लिटर मात्रै वितरण हुने गरेको उहाँले जानकारी दिनुभयो । खपत बढ्दै गएपछि सो अनुपातमा उत्पादन बढ्न नसक्दा दूधको अभाव भएको उहाँको दाबी छ । बस्ती विस्तार हुँदा खपत बढ्दै गएकाले गाउँमा उत्पादन भएको दूध बजारमा आउन नसकेकाले पनि सहरी क्षेत्रमा दूध अभाव भएको उहाँले बताउनुभयो ।

कोभिड–१९ महामारीपछि पशुपालन व्यवसाय छोडेर किसान वैदेशिक रोजगारीमा जान थालेपछि दूधको उत्पादन घटेको केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष कुँवरले जानकारी दिनुभयो । “कोभिडअघि पशुपालन व्यवसायमा धेरै मानिस लागेका थिए, दूधको उत्पादन वृद्धि थियो, लागत मूल्य बढ्दा अन्य व्यवसायमा जाँदा दूधको उत्पादन क्रमिक रूपमा घट्दै गएको छ,” उहाँले भन्नुभयो । आजको गोरखापत्रबाट

२०७९ चैत्र ११ ०८:१३ बजे

प्रतिक्रिया