अमृत समान आमाको दूधसँग तर्सिने दिन किन आयो ?

खानपानका बस्तुहरुमा रहेका रसायनहरुले नजन्मेका गर्भस्थ बच्चाहरुको शरीर र मस्तिष्क दुबैको बिकासलाई प्रभावित तुल्याउने , कलेजो र पेटको बिमार बढ्ने, हर्मोन असन्तुलित हुने, रोग प्रतिरोधक क्षमतामा कमी आउने तथा क्यान्सर जस्तो घातक बिमारीको खतरा पनि बढन जाने ती बिज्ञ बिशेषज्ञहरुले उल्लेख गरेका छन्

bimbonline लोकनारायण सुवेदी
२०७९ फागुन २७ १५:०५ बजे

आमाको दूध बाल बच्चाका लागि अमृत समानको अत्यन्तै महत्वपूर्ण जीवनदायी र रोग प्रतिरोधक खाद्य पदार्थ मानिन्छ । वास्तवमा भर्खर जन्मेको बिश्वभरकै शिशुको पहिलो महत्वपूर्ण आहार र पोषक तत्व नै त्यही आमाको दूध मात्र हो । त्यसैले यसलाई बिश्वभरी नै बच्चाको शुद्धता, प्रतिरोधी क्षमताकोरुपमा प्रकृतिले दिएको  एउटा अनमोल उपहार मानिन्छ । तर आज दुःखद वास्तबिकता के छ भने कीट नाशक तथा रोगनाशक बिषादी बस्तुहरुको जथाभावी बढ्दो उपयोग र मिलावटी खाद्य पदार्थ तथा खानाले गर्दा केवल आमाको दूधमा पोषक तत्वहरुको कमी मात्र हुन थालेको छैन त्यसले बच्चाको स्वास्थ्यमा पनि ठूलो जोखिम उत्पन्न हुन पुगेको छ ।

बिश्वमै यस सम्बन्धि बिभिन्न अध्ययनहरुले यो खतरनाक कुराको पुष्टी गरिरहेका छन् । हालै भारतको लखनऊमा स्थित किङ्ग्स जर्ज मेडिकल बिश्वबिद्यालयले गराएको ताजा अध्ययनले यस क्षेत्रमा ठूलो चिन्ता गर्नु पर्ने गम्भीर स्थिति रहेको दर्शाएको छ । त्यस बिश्वबिद्यालयका बिशेषज्ञ चिकित्सकहरुको अध्ययनमा आमाको दूधमा कीट नाशक बिषादी पाइएको दाबी गरिएको छ । त्यस अनुसन्धानको क्रममा के कुरा पनि प्रकट हुन पुगेको छ भने शाकहारी महिलाहरुसँगको तुलनामा मांशहारी महिलाहरुको दूधमा ३,५ दोब्बर बढी कीटनाशक पाइएको थियो । वास्तवमा १३० महिलाहरुको दूधमा गरिएको अध्ययनको आरम्भमा  प्रसुतिका लागि अस्पताल आएका महिलाहरुको कार्ड ब्लडमा कीटनाशकको स्तर ज्यादा पाइको थियो । त्यस्तो स्थितिमा नमूना एकत्रित गरेर के जान्न कोशिश गरिएको थियो भने के कीट नाशक आमाको दूधमा पनि मौजूद छ ।

यसरी शुरु गरिएको त्यस अध्ययनले बताएको के प्रष्ट बताएको छ भने नब जात शिशुहरुको स्वास्थ्य सम्बन्धि बिभिन्न समस्याहरुबाट तिनलाई बचाउने पदार्थकोरुपमा रहेको आमाको दूधमा रहेका रसायन र कीटनाशक बिषदी तत्वहरुले बाल बच्चाको मानसिक र शरिरीक स्वास्थ्यमा ठूलो दुष्प्रभाव पर्नेछ । यस्तो स्थितिमा वास्तवमा के बिडम्बना पनि रहँदै आएको छ भने एकातिर बिग्रदो बातावण र बिषैलो बन्दै गएको खानपानका कारण आमाको गर्भमै रहेका शिशुहरुको मानसिक र शारिरीक बिकास पनि नराम्रोसँग प्रभावित हुँन थालेको छ भने अर्कोतिर आमाको दूध पनि रासयनिक मिलावटले आक्रान्त हुँदै जान थालेको छ । गर्भाबस्थाका बेला आमाले प्रदुषित वातावरणमा श्वास लिने र मिसावटयुक्त खानेकुरा  सेवन गर्नाले भावी नयाँ पिढीको संसारमा आउनभन्दा पहिला नै जन्मिनसकेका बाल बच्चाहरु कयौ रोगहरुको शिकार हुन थालेका छन् । प्रसब पछि आमाको दूधमा मिसिएर घोलिएको कीटनाशकहरु बिषादीहरु यसरी बच्चाको स्वास्थ्यको लागि खतरा बनिरहेको छ । हालैका बर्षहरुमा धेरैजसो फलफूल र तरकारीहरु पनि प्राय सबै नै कीटनाशक तथा बिभिन्न रासायनिक पदार्थको सहयोग र प्रयोगले उत्पादन गरिन्छ । 

मानिसको स्वास्थ्यलाई यसरी नोक्सान पुर्याउने बिषाक्त रसायनहरुको उपयोग खाद्य पदार्थहरुको भण्डारणका लागि पनि गर्ने गरिएको छ । फलफूलहरु पकाउनदेखि लिएर अन्नपातको बाली लगाउने र भित्र्याउने तथा भण्डारण गर्ने बेलासम्म आवश्यकताभन्दा बढी कीटनाशहरुको प्रयोग हुने गरेको छ । यसको दुष्प्रभाव कम–बेशी मात्रामा हरेक उमेर समूहका मानिसहरुको स्वास्थ्यमा देखिने गरेको  छ । हाम्रो जस्तो अबिकसित र परनिर्भर देशमा त खाने पिउने कुराहरुको शुद्धतामाथि लामो समयदेखि प्रश्न उठेकै  छ। हालै भारतबाट बिषादी तरकारी आउने गरेको कुरा पनि पुनः प्रकाशमा आएको र प्रश्न उठेको कुरा पनि सर्बबिदितै छ ।

कुखुराको चल्लालाई चाडै बढाउन र ठूलो पार्न तथा गाई भैसीको दूध बढी बढाउनका लागि पनि अनेक किसिमका रसायनहरु मिलाइएका सप्लिमेण्ट दिने गरेको पाइन्छ । तिनै कीटनाशक र सप्लिमेण्ट्सहरु पहिला आमाहरुको भोजनमा र पुनः बच्चाहरुको स्तनपानमा आज पुगिराखेका छन् । खानपानका बस्तुहरुमा रहेका रसायनहरुले नजन्मेका गर्भस्थ बच्चाहरुको शरीर र मस्तिष्क दुबैको बिकासलाई प्रभावित तुल्याउने गरेको बाल चिकित्सा बिज्ञहरुले छन् । यसले भ्रूणको बिकास जोखिममा पर्नुकासाथै मस्तिष्कको बिकासमा पनि नकारात्मक असर पर्ने, कलेजो र पेटको बिमार बढ्ने, हर्मोन असन्तुलित हुने, रोग प्रतिरोधक क्षमतामा कमी आउने तथा क्यान्सर जस्तो घातक बिमारीको खतरा पनि बढन जाने ती बिज्ञ बिशेषज्ञहरुले उल्लेख गरेका छन् । ती बिषादीहरुले संक्रामक रोगीहरुलाई त झन सहजै शिकार बनाउने गर्दछन् । एकदमै बिचारणीय कुरा के छ भने रसायनहरु र कीटनाशकहरुको दुष्प्रभावका लक्षणहरु तुरुन्तै देखा पर्दैनन् । बच्चाको उमेर ५–६ बर्षको भए पछि यस्ता रसायनसँग सम्बन्धित रोग–ब्याधहरुको लक्षण देखिन शुरु गर्दछन् । त्यतिबेलासम्ममा शरीरको स्वास्थ्य तथा रोग प्रतिरोधक क्षमतालाई धेरै नै नोक्सान पुगिसकेको हुन्छ । 

बिदित होस् कि ‘सेण्टर फर डिजिज एण्ड प्रिभेन्सन एण्ड इन्भाइरोनमेण्टल साइन्स एण्ड टेक्नोलोजी’को दुइ बर्ष पहिला प्रकाशित एउटा निकै महत्वपूर्ण अध्ययनका अनुसार आमाको दूधमा फूड प्याकेजिङ्ग, कपडा बनाउने र कार्पेटमा लागेका दाग र धब्बाहरु छुटाउनका लिइने गरेका ‘पोलिफ्लूरोएल्किल’ नामका बिषालु रसायनहरु पाइएका छन् । यसै कारणले गर्दा प्रोटीनले परिपूर्ण आमाको दूध बिमारी बच्चालाई जोगाउने ढाल बन्नुको साटो आज बिमार बढाउने साधन बन्न गएको एउटा डरलाग्दो स्थिति छ । 

बिश्व स्वास्थ्य संगठनका मापदण्डका अनुसार आमाको दूधमा कीटनाशकको अधिकतम मात्रा ०.०५ एमजी प्रति किलोग्राम हुन सक्तछ, जबकि झण्डै आजभन्दा ८ बर्ष पहिला नै भारतको सिरसा भन्ने ठाउँमा अबस्थित चौधरी देबीलाल बिश्वबिद्यालयको ‘डिपार्टमेण्ट अफ इनर्जी एण्ड इन्भाइरोन्मण्ट साइन्सेज’को अनुसन्धान प्रतिबेदनले एक लिटर आमाको दूधमा ०.१२ एमजी कीटनाशक रहेको कुरा प्रकाशमा ल्याएको थियो । त्यो वास्तवमा बिश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा १०० दोब्बर बढी हो । 

यस प्रकार बुझ्न कुनै कठिन छैन कि बर्षैपिच्छे खानापनमा मिलावट अझ बढ्दै गएको छ । के कटु सत्य हो भने कीटनाशहरुको बिषादीहरु अन्धाधुन्ध उपोगले मानिसको आउने पिढीलाई रुग्ण र कमजोर बनाइरहेको छ । यद्यपि हरेक चीज बस्तुको  शुद्धताको प्रश्न पनि उठिरहेको छ । किनभने आज त हावा र पानी पनि ज्यानै लिने हदसम्म प्रदुषित बनिसकेका या बनिरहेका छन् । भन्ने नै हो भने त केवल चिकित्सकीय दृष्टिले मात्रै होइन, नैतिक दृष्टिले पनि यो अनुचित कुरा नै हो । कीटनाशक बिषदीहरुको उपयोगको कुरादेखि लिएर मिसावटको खेलसम्म देश देशका भावी पिढीलाई बिमारीको जालमा फँसाउने किसिमका अबाञ्छित किसिमका र कडा किसिमले प्रतिबन्ध लगाउनै पर्ने गतिबिधिहरु भइरहेका छन् । यस्ता अमानबीय र अबाञ्छित मानब–द्रोही गतिबिधिहरु एकदमै रोकिनु पर्दछ । बिकास मानिस र प्रकृतिको सन्तुलन र सुरक्षाका लागि हो र हुुन पर्दछ । मानब र प्रकृतिको बिनाशका लागि होइनन् र हुनुहुँदैन भन्ने कुरा कहिले बुझ्ने हो । 




२०७९ फागुन २७ १५:०५ बजे

प्रतिक्रिया