श्रमिक महिला दिवसको सन्दर्भमा

मैले मेरा साथीका छोरी बहिनीहरुलाई देख्छु नर्स, शिक्षिका ,डाक्टर वकिल, कर्मचारी , जे.टि .ए . ,राजनीतिकर्मी धेरै क्षेत्रमा छन् । यदि उसले पनि पढ्न पाएको भए यस्तै कुनै क्षेत्रको सफल महिला हुने थिई ।

bimbonline राम वहादुर वुढा
२०७९ फागुन २४ १३:०८ बजे

एक पटक म गुल्मीको तमघासबाट काठमाडौ आउँदै थिएँ। साथीहरुले सिट पाइहालिन्छ भन्नू भयो र टिकट बुकिङ तिर लागिएन । नाइटबसमा तमघास देखि काठमाडौं सम्म सिट नपाएर  बोनटको बसाई। कम्ता कष्टपूर्ण थिएन । तर त्यो यात्राको विशेषता के थियो भने गाडीमा सुरु देखि अन्त्य सम्म लोक गीत बजेको थियो । धेरै मीठा लोक गीतहरु । त्यसमा एउटा गीत यस्तो थियो  (  म भात पकाउँला तिमी दाउरा खोजौली सँगसँगै जीवन बिताउँला ।  म घाँस काटुला तिमी बाख्रा चराउला  सँगसँगै जीवन बिताउँला ) 

यो गीतको अन्तर्यमा  महिला मुक्तिको सन्देश लुकेको  छ भन्ने लाग्छ । महिला र पुरुषले मिलिजुली श्रममा भाग लिनु पर्दछ । एकले अर्कोलाई काममा सहयोग गर्नु पर्दछ । त्यसैमा महिला हित छ ।

एक पटक एमाले सम्बद्ध अनेरास्ववियुको महिला विभागको राष्ट्रिय भेला तानसेन स्थित नगरपालिका हलमा थियो । म भाषण सुन्न गएको थिएँ । मोदनाथ प्रश्रीतको भाषण ब्यबहारिक र स्पष्ट लाग्यो । उनले भनेका थिए । महिला मुक्ति हामीले घरबाटै सुरु गरौँ । 

महिलाहरुले ९ महिना एउटा वच्चालाई पेटमा राख्नु पर्दछ । वच्चा जन्मिए पछि उसको आची धुनु पर्दछ ।  कपडा धुनु पर्दछ ।आमाहरु रातिमा सुत्न पाउँदैनन । घरको भात भान्सामा समय बिताउनु पर्दछ। ती सबै काममा महिलाहरुको समयको हिसाब गर्नु पर्दछ र उनीहरुलाई अध्ययन , सामाजिक काममा अवसर दिनु पर्दछ । पुरुषहरुले महिलाको काममा सहयोग गर्नु पर्दछ । प्रश्रीतको कुरा राम्रो लाग्यो। 

कतिपयको घरमा भात खाइसके जुठा थालहरु सबैले थुपारेर छाड्छन । कतिपयको घरमा सबैले आफुले खाना खाएको भाँडा आफै माझ्दछन । आफुले खाएको थालीआफैले माझेमा कमसेकम एक जनालाई बोझ  परेन नि ? हाम्रा बच्चाहरुलाई सानैदेखि आफ्नो थाल आफै माझ्न , आफ्नो लुगा आफै धुन बानी पारिदिएमा कमसेकम आमाको समय बच्ने थियो र उनलाई अन्य काम गर्ने फुर्सद हुने थियो। 

मेरा बहिनीहरु मध्ये एउटी पढाईमा तेजिली थिई। पाँच कक्षा भन्दा माथि उसलाई हाम्रो परिवारले पढ्न दिएन । अर्काको घर जाने भनेर पढ्न दिएनन् ।पढ्ने रहर हुँदा हुँदै पनि दिएनन् । अहिले मैले मेरा साथीका छोरी बहिनीहरुलाई देख्छु  नर्स, शिक्षिका ,डाक्टर वकिल, कर्मचारी , जे.टि .ए . ,राजनीतिकर्मी धेरै क्षेत्रमा  छन् । यदि उसले पनि पढ्न पाएको भए यस्तै कुनै क्षेत्रको सफल महिला हुने थिई । मलाई त्यही कुराले पोलिरहन्छ । साना भान्जीहरु छन। पढाईमा तेजिला छन । ती नानीहरुमा मैले तिनका आमामा लुकेको भविष्यको सम्भावना देख्छु । बहिनीलाई भन्ने गर्छु तैले पढ्न पाइनस भान्जीहरुलाई पढाएर राम्रो मान्छे बनाउ । 

नेपाली प्रगतिवादी लेखक श्याम शर्माले नारी समानता बारे ब्यबहारिक राम्रा रचना लेखेकाछन । आईमाई साथी  एउटा राम्रो लेख र निबन्ध हो। मोहन विक्रम सिंहले लेखेको नारी मुक्तिका दुई मौलिक शर्तहरु धेरै पटक छापिएको लेख हो।

ती दुई शर्त हुन्  ( सम्पत्तिमा समान अधिकार र सम्बन्ध बिच्छ्दको अधिकार )  अहिले कानुनले सम्पत्तिमा समान अधिकारको ब्यबस्था गरेकोछ ।तर ब्यबहारमा निकै कम मात्र लागु भएकोछ । सम्बन्ध बिच्छेदको अधिकार अहिले नेपालमा कानुनमा छ। तर ब्यबहारमा यसका पनि कैयौं समस्याहरुछन। पुजिवादी ब्यबस्थाले महिलाहरुलाई बेचबिखनको वस्तु बनाइरहेकोछ ।  आर्थिक स्वतन्त्रता र आर्थिक समानतामा महिलाहरुको मुक्ति अन्तर्निहित छ ।



२०७९ फागुन २४ १३:०८ बजे

प्रतिक्रिया