शिक्षालाई श्रम र शीपसंग जोडेर लैजानु पर्छ-दिपक पौडेल अध्यक्ष अखिल(छौटौ)

शैक्षिक निजीकरण र व्यापारीकरणका कारण शिक्षा दलालहरुको हातमा पुगेको छ । गरिव जनताका छोराछोरीलाई अघोषित रुपमा शिक्षाबाट बन्चित गराइएको छ । क्षमता भएको गरिवको छोरो चाहेर पनि मेडिकल शिक्षा पढ्न सक्दैन

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १८ १३:२७ बजे
दिपक पौडेल

२०५८ सालमा अखिल ( छैठौं ) को जिल्ला सदस्य , २०६२ सालमा जिल्ला अध्यक्ष , त्यसपछि अखिल छैठौं को केन्द्रीय सदस्य , केन्द्रीय सचिव र केन्द्रीय कोषाध्यक्ष हाल अखिल (छैटौँ)  का केन्द्रिय अध्यक्ष रहेका दिपक पौडेल सँग विधार्थी आन्दोलन र  स्ववियु चुनाव का वारेमा बिम्व अनलाइनका लाल वहादुर जाग्रीले उहाँ सँग गरेको कुराकानीका सम्पादीत अँशहरु

तपाइ को सँगठनको राष्ट्रिय भेलाले के कार्यक्रम तय गरेको छ ?

अखिल को आन्दोलन टुटफुट विभाजन ,  गठन पुनर्गठन हुँदै अगाडि बढिरहेको छ।  राजनीतिक घटना परिघटनामा पार्टीले लिने निर्णयको प्रभाव विद्यार्थी संगठनमा समेत पर्ने हुनाले अखिल आन्दोलनलाई बेलाबेलामा पुनर्गठन गर्नुपर्ने आवश्यकता अनुसार अहिले पनि हामीले संगठनलाई पुनर्गठन गर्ने निर्णय राष्ट्रिय भेला मार्फत गरिएको छ ।  राजा महेन्द्रले प्रजातन्त्र माथि गरेको  कु   , तत्कालीन कम्युनिस्ट पार्टीका महासचिव केसरजंग रायमाझीको दरबार प्रवेश , तत्कालीन मालेले गरेको झापा बिद्रोह , जनमत संग्रह , २०४६ सालको आन्दोलन , २०५२ सालदेखिको   माओवादी आन्दोलन , नयाँ संविधान लगायतका राजनीतिक घटनाक्रमलाई हेर्ने र बुझ्ने विषयमा फरक परेपछि अखिल आन्दोलनको पुनर्गठन हुँदै आइरहेका छ  । प्रशिक्षणात्मक राष्ट्रिय भेला  २०८०  जेठ मसान्तसम्म,  २०८० साल  फागुनको अन्त्यसम्म विशेष राष्ट्रिय सम्मेलन  गर्ने निर्णय गरेको छ ।  गाउँ ,  नगर , स्कुल , क्याम्पसका भेलाहरु गरेर जिल्ला भेला वा सम्मेलन गर्ने योजना अनुसार कार्यक्रम अगाडि बढेका छन् । साथै स्ववियु निर्वाचनमा सम्भव भएका स्थानहरूमा संगठनको तर्फबाट उम्मेदवारी दिएर संगठनको प्रचारप्रसार गर्ने निर्णय भएको छ ।

  स्ववियु निर्वाचनमा कसरी जानु हुन्छ   ?

हामी अहिले पुनर्गठनको प्रारम्भिक चरणमा छौं ।  बलियो संगठन नभएसम्म स्ववियु निर्वाचन आफ्नो पक्षमा पार्न सकिन्न । हाम्रो प्रयत्नले भ्याएसम्म धेरै क्याम्पसमा उम्मेदवारी दिने र जतिसक्यो प्रचारप्रसार गर्ने योजना बनाएका छौं ।  अखिल क्रान्तिकारी ( बैद्य ), (बहुमत  पक्ष ) संग सहकार्य गरेर निर्वाचनमा जाने निर्णय भएको छ । संयुक्त घोषणापत्र तैयार गरिरहेका छौं । स्ववियु निर्वाचनलाई क्रान्तिकारी विद्यार्थी आन्दोलन संगठित गर्ने अभियान संगै जोडेर लौजाने छौं ।

 स्ववियु निर्वाचनमा के के मुद्दा छन ?

अहिले शिक्षा क्षेत्रमा देखिएका मुख्य दुई समस्या छन् । एक शैक्षिक निजीकरण र व्यापारीकरणको समस्या , दुई अबैज्ञानिक परमुखी  पाठ्यक्रमको समस्या ।  शैक्षिक निजीकरण र व्यापारीकरणका कारण शिक्षा दलालहरुको हातमा पुगेको छ । गरिव जनताका छोराछोरीलाई अघोषित रुपमा शिक्षाबाट बन्चित गराइएको छ । क्षमता भएको गरिवको छोरो चाहेर पनि मेडिकल शिक्षा पढ्न सक्दैन । त्यसकारण शैक्षिक निजीकरण र व्यापारीकरण अन्त्य गरि शिक्षाको सम्पुर्ण दायित्व राज्यले लिनुपर्दछ र शैक्षिक विभेद अन्त्य गरिनुपर्दछ ।  वर्तमान शैक्षिक संस्थाले उत्पादन गरेको जनशक्ति नेपालमा खपत हुनसकेको छैन । विदेश जाने मानसिकता बढेर गएको छ । हामीले शिक्षलाई श्रम र शीपसंग जोडेर लैजानपर्ने कुरामा जोड दिँदै आइरहेका छौं । युवालाई निर्यात गरेर होइन , देशका साधन श्रोतको परिचालनमा लगाएर मात्र आर्थिक संमृद्धीको दिशामा अगाडि बढ्न सकिन्छ भन्ने बैज्ञानिक मान्यता राख्दछौं , यस्तै एजेन्डालाई स्ववियु निर्वाचनको सन्दर्भमा प्राथमिकता दिएकाछौं । त्रिविले समयमा परिक्षा र रिजल्ट समेत दिन सकेको छैन । समयमा पाठ्यपुस्तक विद्यार्थीले पाउन सकेका छैनन् यसप्रकारका मुद्दाहरुलाई हामीले उठाएका छौं 

 अबको विद्यार्थी आन्दोलन कसरी अगाडि बढ्छ ?

विद्यार्थी  संगठन पञ्चायती व्यवस्था विरुद्ध स्थापना भएको संगठन हो । राजनैतिक  व्यवस्था परिवर्तन नभएसम्म शिक्षा क्षेत्रमा परिवर्तन सम्भव छैन ।  यो व्यवस्था दलालहरुको व्यवस्था हो । दलालहरुले शिक्षाक्षेत्रलाई नाफा कमाउने क्षेत्रको रुपमा विस्तार गरिरहेका छन् । हरक्षेत्रमा दलालीकरण यो व्यवस्थाको विशेषता  हो ।  दलाल संसदीय व्यवस्थाको अन्त्य र जनवादी व्यवस्थाको स्थापना अहिलेको आवश्यकता हो । विद्यार्थीहरुले वर्तमान व्यवस्थामा हुनसक्ने सुधारको निम्ति प्रयत्न गर्दै व्यवस्था परिवर्तनको पक्षमा जनमत सृजना गर्नुपर्दछ । जनवादी पक्षधर विद्यार्थीको व्यापक एकताको दिशामा हामीले काम गर्नुपर्दछ । क्रान्तिकारी विद्यार्थी संगठन विचको एकताले सशक्त विद्यार्थी आन्दोलनको विकास गरेर लैजान पर्दछ । हाम्रो संगठनले त्यसको नेतृत्वदायी भुमिका खेल्नेछ ।

 अखिल (छैठौं ) र अखिल ( छैटौं ) विच भिन्नता के हो ?

पछिल्लो समयमा नयाँ संबिधान , गणतन्त्र लगायत प्रधान अन्तर विरोधका बिषयमा नेकपा (मसाल) मा सैद्धान्तिक मतभेद भएपछि त्यसको प्रभाव विद्यार्थी संगठनमा पर्यो । अखिल ( छैठौं  ) ले वर्तमान व्यवस्थामै सरकारमा गएर शिक्षा क्षेत्रमा परिवर्तन गर्न सकिने कुरामा जोड दिनथाल्यो । प्रतिक्रियावादी संगठनसँग सहकार्य गरेर अखिल छैठौंको क्रान्तिकारी छविलाई समाप्त पार्ने दिशामा अगाडि बढ्यो । संगठनलाई सरकारी लाभमा अलमल्याउन पुग्यो । हामीले अखिल छैठौंको क्रान्तिकारी छविलाई समाप्त हुन नदिन अखिल ( छैटौं ) को पुनर्गठन गरेर अगाडि बढ्ने निर्णय गर्यौं । अखिल ( छैटौं ) ले  क्रान्तिकारी संगठन विचको सहकार्य र एकतालाई जोड दिएको  छ   र व्यवस्था परिवर्तनको आन्दोलन संगठित गर्ने योजनामा अगाडि बढेको छ। 



२०७९ फागुन १८ १३:२७ बजे

प्रतिक्रिया