२५ गतेदेखि आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १६ १२:५२ बजे
आइपिओ

काठमाडौँ । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी दुई अर्ब ९० करोडको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख बराबरको प्रतिसेयर एक सय दरका ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति पाएको छ । यसमा जारी पुँजीको १० प्रतिशत अर्थात् रु २९ करोडको रु एक सय अङ्कित दरका २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका–३ र ८ तथा मोदी गाउँपालिका–२, ५, र ६ का स्थानीय बासिन्दाका लागि निष्कासन गरिने भएको छ ।

त्यस्तै सार्वजनिक निष्कासन गरिने सेयरमध्ये चार लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने भएको हो । 

निष्कासन गरिने सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले अधिकतम एक लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

 आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा आगामी चैत ९ गते हुनेछ भने ढिलोमा आगामी चैत २४ मा हुने कम्पनीले जनाएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ९ गतेभित्रै आवेदन दिनुपर्ने छ ।

२०७९ फागुन १६ १२:५२ बजे

प्रतिक्रिया