एमवी सिंहको दक्षिणपन्थी बाटो रहस्यमय व्यवहार र चित्रबहादुर केसीको पराश्रीत षड्यन्त्रात्मक व्यवहारबारे गहिरो गरी अध्ययन गर्नुपर्दछ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १७ १९:५५ बजे
विमल शर्मा वामपन्थी नेता

काठमाडौं ।

२०३६ सालको आन्दोलनबाट राजनीतिप्रति आकर्षित भएका विमल शर्माले २०३८ सालमा पार्टीको आवेदन फारम भरेका थिए । २०४० मा पार्टी सदस्यता प्राप्त गरेका शर्मा रोजगारीका सिलसिलामा भारतको पाण्डेचेरी केरलामा रहेका बेला बागलुङबाट पठाइएको थियो । शर्माले अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको केन्द्रीय अध्यक्ष रहेर काम गरेका थिए । २०५२ बैशाख १० गतेदेखि मसालको केन्द्रीय समितिमा आवद्ध भइ २०५८ देखि २०६८ सम्म ११ वर्ष शर्मा मसालको प्यूठान जिल्ला सेक्रेटरी रही काम गरे । प्युठानबाट फर्किए पछि शर्माले मसालको केन्द्रीय प्रवक्ता र केन्द्रीय कार्यालय सचिव समेत रही काम गरेका थिए । सुदूरपश्चिममा अन्य पार्टीबाट आएका व्यक्तिहरूसित पार्टीको पी‍.वी. वा केन्द्रमा समेत सल्लाह नै नगरी पार्टी महामन्त्री मोहन विक्रम सिंहले पार्टी एकता गरेपछि शर्माले महामन्त्रीको स्वेच्छाचारिताकाे विरोध गरेका थिए । महाधिवेशनका बेलामा शर्मा अल्पमत पक्षमा रहे । महाधिवेशन पछि उनलाई राष्ट्रिय परिषदमा जिम्मा दिइयो र अन्य सबै जिम्मेवारीबाट हटाइयो । शर्माले आफूलाई लागेका विचार लगातार केन्द्रीय कार्यालयमा पठाइरहेका थिए । अन्त्यमा २०७७ साल कार्तिक २२ गते केन्द्रीय समितिको बैठकबाट उनलाई अनिश्चित कालका लागि पार्टीबाट निष्कासन गरिएको थियो ।

विमल शर्मा नेपालको कम्युनिस्ट आन्दोलनमा दशकौँ व्यतीत गरेका व्यक्ति हुनुहुन्छ । सच्चा कम्युनिस्ट आन्दोलनको संरक्षण र विकास कसरी गर्न सकिन्छ भनेर लगातार चिन्तनशील र क्रियाशील नेता हुनुहुन्छ । उहाँको जन्म हालको बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नं.१ टार राम्चे भन्ने ठाउँमा भएको थियो । उहाँको बाबु भूमिश्वर पाध्या  आमा कैशिल्या देवी हुनुहुन्थ्यो । उहाँको जन्म २०१० साल आश्विन ४ गते भएको थियो । ३ भाइ मध्ये उहाँ कान्छो हो । अर्की आमा खगेश्वरी तर्फ ३ दिदी, २ बहिनी जन्मिएका थिए ।  २० वर्षको उमेरमा २०३० साल फागुन ३० गते पर्वत जिल्ला कुर्घा तिप्लसेकी नैन कुमारी पाध्यसित विमल शर्माको विवाह भएको थियो । शर्मा २०४४ मा चितवनमा बसाइ सर्नु भएको थियो । २०४७ सम्म गोरखपुर पार्टी कार्यालय, २०५९ मा बुटवल कार्यालय, २०५९ मा बुटवल बसाइ र २०६७ देखि गैंडाकोट, नवलपुरमा बसाइ गर्नु भएको छ । शर्माका २ छोरा मध्ये १ को मृत्यु भएको थियो । हाल एक छोरा गोविन्द शर्मा हुनुहुन्छ । यसपटक हाँक साप्ताहिकले वामपन्थी नेता विमल शर्मासित कुराकानी गरेको छ । प्रस्तुत छ शर्मासितको कुराकानीका सम्पादित अँश 

तपाईंले जीवनको लामो कालखण्ड ने‍.क.पा.(मसाल) मा होलटाइमर भएर बिताउनु भयो । मसाल नेतृत्वसित राजनीतिक तथा सङ्गठनात्मक अन्तर्विरोध भएपछि तपाईंलाई कारवाही गरियो । अहिले विशेष महाधिवेशनबाट नयाँ पार्टी नेकपा (मशाल) बनेको छ । कस्तो महसुस गर्नु भएको छ ? जीवनको कोर्स (बाटो) बदलिए जस्तो लागेको त छैन ?

द्वन्द्वात्मक भौतिकवादले सबै चिज परिवर्तन हुन्छ भनेर मान्दछ । त्यसको सारतत्व द्वन्द्वात्मक हुन्छ । विपरित तत्वहरू बिच एकता र द्वन्द्व हुन्छ । जब विपरीत तत्वहरू आपसमा मिलेर अगाडि बढ्दछन् कुनैपनि चिजको विकास सही प्रकारले हुन्छ । विपरीत तत्वहरू एकापसमा नमिलाइकन विकास हुँदैन । त्यसैले विपरित तत्वको एकता सर्वेसर्वा कुरा हो ।ने.क.पा. (मसाल)मा लामो समयसम्म काम गर्दा एकआपसमा मिलेर काम गरियो । नेतृत्वतहमा रहेर पनि काम गरियो । कैयौं जिल्ला, क्षेत्र, केन्द्रका जिम्मेवारी बहन गरियो । मूलतः सङ्गठनात्मक पक्षलाई बढी ध्यान दिएर काम गरियो । अहिले आएर स्वयंको क्षमता बृद्धि, सृजनात्मक काम भन्दा नेतृत्वले गराएको कामलाई बढी प्राथमिकतामा राखेर काम गरिएको रहेछ भन्ने महसुस भएको छ । विचारहरू छिपछिपेबाट अगाडि बढ्दै जान्छन् । सामान्यबाट विशेष हुँदै जान्छन् । नबुझ्ने अवस्थाबाट बुझ्ने हुँदै जान्छन् । मसालमा रहेर काम गर्दा जुन जिम्मेवारी साथ काम गरिएको थियो त्यसले व्यवहारिक, सङ्गठनात्मक तथा राजनीतिक जीवनबारे धेरै ज्ञान प्राप्त भएको छ । जीवनको बाटो नै परिवर्तन भएको छैन । अहिले पनि राजनीतिक बाटोमै सक्रिय छु । केही समय पहिले सम्पन्न भएको नेकपा (मशाल)को विशेष महाधिवेशनपछि जिम्मेवारी अरू बढेको महसुस गरेको छु ।

भारतमा रहँदाको जागिरे जीवन र निजी जीवनभन्दा पार्टी जीवन रोजेर यहाँसम्म आउनु भयो । यस सम्बन्धमा एउटा कुरा बताइदिनुहोस  निजी जीवन र पार्टी जीवनमा के फरक रहेछ ?

पार्टी जीवन र निजी जीवनमा धेरै फरक छ । पार्टी जीवनले समग्रलाई प्रतिनिधित्व गर्दछ । पार्टी जीवनले दुनियाँलाई हेर्न सिकाउँछ भने निजी जीवनले सीमित घेराभित्र व्यक्तिगत विषयमा कैद गर्दछ । पार्टी जीवन सर्वोत्कृष्ट जीवन हो भन्ने लाग्दछ । पार्टी जीवन र निजी जीवन अलगअलग भएपनि ती दुवै एक आपसमा जोडिएका हुन्छन् । पार्टी जीवनले सामुहिकतामा जोड दिन्छ । समाज बदल्ने विषयमा जोड दिएको हुन्छ । अहिले भएकोभन्दा उन्नत बनाउन छलफल गराउँछ । उचनिचका विरुद्ध समानताको पाठ सिकाउँछ । मानवताको वास्तविक अर्थ सिकाउँछ । एक मानवले अर्को मानवलाई सम्मान गर्न सिकाउँछ । मानवले मानवलाई सभ्य सुसंस्कृत बनाउने पाठ सिकाउँछ । मानवताको विरुद्धमा हुने षड्यन्त्र, जालझेल, शोषणका विरुद्ध सामुहिक रूपमा सङ्घर्ष नगरिकन आफ्नो हक अधिकारको संरक्षण गर्न सकिंदैन भन्ने कुरा सिकाउँछ । क्रान्तिको बाटोमा अगाडि बढ्न सिकाउँछ ।

तपाईं लामो समय भारतमा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चाको नेतृत्व गर्नुभयो । नेपालमा सङ्गठनमा काम गर्नु र भारतमा सङ्गठनमा काम गर्नुमा के फरक छ ?

मैले भारतमा रहँदा २०४३ देखि २०५२ सम्म युवक मोर्चाको नेतृत्वतह र नेतृत्वमा रहेर काम गरेको थिएँ । विदेशमा रहेर सङ्गठनको काम गर्नु र देशभित्र रहेर सङ्गठनको काम गर्नु, होलटाइमर कार्यकर्ताका लागि मूल रूपमा एउटै हो । विदेशमा मालिक र कम्पनिहरुको दमनसंग प्रत्यक्ष संघर्ष हुन्छ । नेपाली मजदुरहरुलाई कडा परिश्रम र अन्य विभिन्न झुटटा आरोपहरुका समस्याहरु पर्दछन् । नेपालमा कामको समस्या, जनविरोधि सङ्गठनहरूसित तीव्र सङ्घर्षको स्थितिको सामना गर्नुपर्दछ भने विदेशमा त्यस्तो स्थिति सामान्यतः कम हुन्छ । पार्टटाइमर र सामान्य समर्थकहरूका लागि व्यवहारिक रूपमा फरक छ ।  भारतमा रहेर काम गर्दा आफ्नो काम पूरा गरेर बचेको समय सङ्गठनलाई दिने हो । कसैकोमा मेहनत गरे वापत केही पारिश्रमिक मिल्दछ । त्यसको आधारमा खर्च गर्ने अवस्था रहन्छ । केही खर्च सङ्गठनमा गर्ने र केही रकम घरपरिवारलाई पठाउनुले आर्थिकको समस्या कम पर्ने हुन्छ ।नेपालमा सङ्गठनमा काम गर्नु विदेशमा काम गर्नुभन्दा कठिन हुन्छ । राजनीतिक टकराव, जनतासितको सम्बन्ध, पारिवारिक अवरोध आदि कैयौँ समस्याहरू भारतमा रहनुभन्दा बढी हुन्छन् । नेपालमा आर्थिक समस्या बढी हुन्छ । भारतका कार्यकर्ताले एउटा होलटाइमर कार्यकर्ता वा सङ्गठनकर्तालाई हेर्ने दृष्टिकोण र नेपालका जनता तथा कार्यकर्ताले हेर्ने दृष्टिकोणमा फरक हुन्छ । हाम्रो समाज शोषणले जकडिएको समाज हो । वास्तवमा बढी परिश्रम गरेर मात्र होइन प्रतिकृयावादी व्यवस्था बदलेर मात्र शोषणको अन्त्य गर्न सकिन्छ ।


 भारतबाट नेपाल आएपछि तपाईं ११ वर्ष प्युठानमा ने.क.पा. (मसाल) को सेक्रेटरी भएर काम गर्नुभयो । सङ्क्षिप्तमा राजनीतिक रूपमा प्युठानका साथीहरूलाई कसरी स्मरण गर्नु हुन्छ ?


२०५७ सालमा पार्टीले देशभित्र काम गर्न जिम्मा दियो र प्युठानमा सेक्रेटरी बनाएर पठायो । मैले विदेशमा रहेर काम गरेको र देशभित्र कम काम गरेकोले केही समय त्यहाँको अवस्था बुझ्न समय लाग्यो । मैले माथि नै बताइसकेको छु विदेशमा काम गर्नु र देशभित्र काम गर्दा केही समस्याहरू अवश्य छन् । ती समस्याहरूबाट त्यहाँका साथीहरू पनि अछुतो छैनन् । प्युठानमा पार्टीको काम गर्दा व्यवहारिक अनुभवहरूबाट धेरै शिक्षा प्राप्त गरें । किसानहरूले सङ्गठनमा काम गर्दा पर्ने समस्याहरू, विरोधीहरूसँग सङ्घर्ष, आफ्नै सङ्गठनभित्र पनि भएका अन्तर्विरोधहरू कसरी समाधान गर्ने विषयमा अनुभवहरू प्राप्त भए । मलाई जिम्मा दिने बेलामा प्युठान जिल्लामा गुटबन्दीको अवस्था थियो । गुटबन्दीले प्रश्रय पाइरहेको रहेछ । गुटबन्दीलाई न्यूनीकरण गर्नु पहिलो जिम्मेवारी थियो । म बाहिरबाट गएकोले मलाई दुवैथरी साथीहरूले आफ्नो पक्षमा बनाउन कोशिश गरिरहेका थिए । म ती दुवै पक्षतिर नलागेर पार्टी सङ्गठनलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत भएँ । केही साथीहरू उनीहरूले भनेको नमानेपछि मसँग असन्तुष्ट हुने र मेरा बिरुद्ध गुटबन्दी गर्ने काम समेत गरे । पछिल्लो कालमा त्यस प्रकारको गुटबन्दी केन्द्रीय नेतृत्वबाट समेत भयो । मैले पार्टीको निर्णयलाई दृढतापूर्वक लागू गर्नको लागि पहल गर्दा त्यस्तो अवस्था सिर्जना भएको थियो ।

प्यूठान जाँदा प्युठानको पार्टी सङ्गठनमा गलत तत्वहरूको घूसपैठ भएको हुनसक्ने कुरा केन्द्रीय नेतृत्वले बताएको थियो । केन्द्रीय नेतृत्वले भनेको कुरा वास्तविकता थियो वा थिएन त्यसको छानबिन गर्ने र बुझ्ने काम भयो । नेतृत्वले भनेका विषयमा केही प्रमाणहरू भेटिए । त्यसलाई न्यूनिकरण गर्ने काममा लाग्दा केही साथीहरू मसँग अत्यधिक असन्तुष्ट भए । कैयौँ साथीहरूको राजनीतिक स्तर संसदीय पद, प्रतिष्ठासम्म मात्र बढेको देखियो । त्यस भन्दामाथि उठाएर वर्गसङ्घर्षमा सामेल गराउन कठिन रहेछ । त्यस्तो कार्य एकदुईजनाले मात्र गरेर हुने कुरा भएन । पार्टीको नीतिको परिणाम पनि त्यस्तो भइरहेको रहेछ । वर्गसङ्घर्षलाई माथि उठाउने नाममा गलत प्रकारले सङ्घर्ष गरेको पनि पाइयो । यहाँसम्म कि माओवादी सशस्त्र द्वन्द्वको बेलामा हाम्रै साथीहरूले माओवादीको लेटरप्याड र रसीदमा रकम उठाउने गरेको समेत भेटियो । हामीले त्यस्तो कार्य गर्ने व्यक्तिलाई पत्ता लगाएर कारवाही गरेका व्यक्तिहरू अहिले त्यहाँको सङ्गठनमा हावी भएको देखिन्छ । प्युठानमा राजनीतिक धरातल कमजोर छ । चुनावमा भोट खरिदविक्री हुने गर्दछन् । व्यक्तिवाद हावी छ । व्यक्तिवादले सङ्गठनलाई बलियो बनाउँदैन त्यो प्रस्ट भइसकेको छ ।

प्युठानका कैयौँ नेतृत्वमा भएका साथीहरूले इमानदारीपूर्वक काम गरेका थिए र अहिले पनि छन् । उनीहरूको उद्देश्य पार्टीलाई व्यवस्थित बनाउने थियो । अहिले पार्टी संसदीय दलदलमा फसेकाले समस्या परेको छ । केही साथीहरू मसाललाई छाडेर नयाँ बनेको मशाललाई समर्थन गरेर अगाडि आएका छन् । उनीहरूले वास्तविकतालाई बुझेका छन् । एक समय प्यूठान जिल्ला विकास समिति, प्युठानका दुईवटै संसदीय क्षेत्र आफ्नो पकडमा रहेको मसाल अहिले सीमित हुँदै जानु र मसालका नेता कार्यकर्ताहरू कमजोर हुनु संसदीय व्यक्तिवादको परिणाम हो । मसालको केन्द्रीय नेतृत्वको गुटबन्दीले त्यहाँको जिल्लालाई असर पारेको छ । केन्द्रीय नेतृत्वलाई समर्थन गर्नेहरूलाई काखा च्याप्ने र आफ्ना विचारहरू प्रस्ट राख्नेहरूलाई किनारा लगाउने पद्धति छ । काखा र पाखाको संस्कृतिले प्युठानलाई नराम्रोगरी गाजेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा मसाल र मोहनबिक्रम सिंहलाई जान्ने मान्छेहरूले प्रायः के भनेको सुनिन्छ भने मोहनविक्रमको सङ्गत गर्नेहरू असाध्य नजिक हुन्छन् । केही समयपछि उनीहरू विरोधी बनेर निस्कन्छन् । आखिर तपाईंको जीवनमा पनि त्यस्तै भएको हो वा हैन ?

त्यस विषयमा केही सत्यता छ, पूर्ण रूपमा होइन । मोहनविक्रम सिंहसित असाध्य नजिक नभएका कैयौँ मान्छेहरूले पनि पार्टी छाडेका छन्, उनका विरोधी भएका छन् । जहाँसम्म मेरो प्रश्न छ म मोहनविक्रम सिंहसित सङ्गत गरेर असाध्य नजिक भएको भन्दा पनि राजनीतिक जिम्मेवारीका कारणले नजिक भएको हुँ । मैले पहिले नेतृत्वलाई बढी नै विश्वास गर्ने गरेको रहेछु । नेतृत्वलाई आलोचनात्मक दृष्टिकोणले पनि हेर्नुपर्ने रहेछ । सुरुमा त्यसरी नहेर्नु कमजोरी रहन गयो । मसालमा एउटा गलत पद्धतिले ठाउँ लिएको छ । कसैको गल्ती देखियो भने उसलाई सामुहिक रूपमा आलोचना नगरेर उसलाई सुधार गर्न व्यक्तिगत रूपमा सम्झाउने । त्यस प्रकारको व्यवहार हामीले पनि गर्यौ । त्यसो गर्दा नेतृत्वले आफूलाई सुधार गर्ने भन्दा पनि झुठ्ठा तर्क वा कुराहरू गरेर प्रभावमा पार्ने गर्दा रहेछन् । नेतृत्वप्रति बढी विश्वास गर्नाले उनीहरूको नियत र व्यवहार बुझ्न समय लाग्दो रहेछ । एउटा उदाहरणले त्यो अझ प्रस्ट होला । मोहनविक्रम सिंहको जलजलासितको अनैतिक सम्बन्धका बारेमा कार्यालयमा बस्ने सहयोगीले कुरा उठाएपछि आफ्नो गल्ती ढाकछोप गर्न माओको उदाहरण प्रस्तुत गरेर कार्यालयका साथीलाई कसरी भ्रम पारिदोरहेछ त्यो कुरा भक्तबहादुरको संस्मरणात्मक पुस्तक पढेपछि थाहा हुन्छ ।

मसँग मोहनविक्रम सिंहको अन्तर्विरोध प्युठानमा एनजीओ गठन गर्ने विषयबाट सुरु भएको थियो । एमवी सिंहले मलाई र जिल्ला पार्टीलाई पूर्णरूपमा त्यसैमा काम गराउने योजना बनाएका रहेछन् । मैले त्यसको विरोध गरे । ०६२/६३ को आन्दोलनपछि देशमा गणतन्त्र स्थापना भयो । गणतन्त्र आएपछि – हामीले छिटै महाधिवेशन गर्नुपर्दछ । सङ्घर्षको दिशा तय गर्नुपर्दछ । सत्ता चलाउनेहरूमा परिवर्तन भयो वा भएन छलफल चलाउनुपर्दछ । सङ्गठनलाई क्रान्तिकारी वनाउनेबारे उपेक्षा गर्नुहुँदैन भनेर भन्यौ । तर पार्टीको महामन्त्रीको हैसियतले एमबी सिंहले ती विषयहरूमा ध्यान दिएनन् । उनको ध्यान त्यतिबेला अन्तै रहेछ । आफ्नो श्रीमती र पार्टीका पीवीएमलाई प्रयोग गरेर कैयौँ व्यक्तिहरूलाई विदेश पठाउने नाममा आर्थिक सङ्कलन गर्ने । हामीले त्यसको पनि विरोध गर्यौ । उनले त्यसलाई सही ठहराउने प्रयत्न गरे । तर पोखरामा भएको २०६६ को चौथो राष्ट्रिय परिषद्को बैठकले त्यसलाई गलत ठहर गर्यो । मोहनविक्रम सिंहको तलैसम्म आलोचना भयो । त्यसका साथै जब प्युठानमा गुटबन्दी गरेका व्यक्तिहरूलाई मैले तलसम्म आलोचनात्मक कारवाही गर्नुपर्दछ भन्दा एमवी सिंहले उनको संरक्षण गरे ।

मैले प्यूठान जिल्लाको जिम्मेवारी छाडेपछि पार्टीले मलाई केन्द्रीय कार्यालयको जिम्मेवारी दियो । कार्यालयमा आएपछि मैले एमवी सिंहका गलत राजनीति, गलत कार्यप्रणाली र गलत व्यवहार प्रत्यक्ष रूपमा देख्न थाले । तिनीहरूबारे पार्टीमा लिखित रूपमा पत्रहरू राख्न थालेपछि एमवी सिंहसित मेरो दुरी बढ्दै गयो । मैले एउटा आलोचना तथा आत्मालोचनाको बैठकमा उनका विरुद्ध आरोपपत्र नै पेश गरेको छु । आठौँ महाधिवेशनसम्म आइपुग्दा उनले प्रस्तुत गरेको राजनीतिसित असहमति राख्दै अलग्गै दस्तावेज प्रस्तुत गरिएको थियो । पार्टीको आठौँ महाधिवेशनमा उनले मलाई केन्द्रीय समितिमा नपार्नका लागि नेतृत्व गरेको कुरा उनले जारी गरेको एउटा सर्कुलरबाट प्रस्ट भयो । महाधिवेशनको केही समय पछि मलाई गुटबन्दी गरेको आरोप लगाएर पार्टीबाट निष्कासित गरियो । त्यसरी मोहनविक्रम सिंहसित मेरो राजनीतिक सम्बन्ध टाढा हुँदै गएको हो । मैले उनका गलत चिजहरूको सप्रमाण विरोध गरेका पत्रहरू केन्द्रीय कार्यालयमा दर्ता गराएको छु । यो विषय राजनीतिसित सम्बन्धित छ व्यक्तिसित होइन भन्ने मलाई लाग्दछ ।

मसालबाट छिटो लखेट्न पाए हुन्थ्यो भन्ने एउटा मनोविज्ञान, विद्रोह नगरी मसाल भित्रै अन्तर्संघर्ष गरेको भए हुने, बरु कार्वाही सहेर बसेको भए हुने भन्ने अर्को मनोविज्ञान फरक फरक मनोविज्ञान बोकेका मान्छेहरू मसालभित्र थिए र छन् भन्ने सुनिन्छ । के लाग्छ तपाईंलाई ? के सत्य हो ?

प्रश्नमा उठाइएको विषय सत्य हो । नेतृत्वका व्यक्तिहरूलाई त्यस्तो लाग्दथ्यो । त्यसका कैयौँ तथ्यहरू छन् । नेतृत्वका केही व्यक्तिहरूलाई के समस्या थियो भने विमल शर्माले उनका गलत चिजहरूलाई लिखित रूपमा राख्न थाल्यो । उनीहरूले ती गल्तीलाई ढाक्नु थियो । नेतृत्वका त्यस्ता व्यक्तिहरूलाई यिनीहरूलाई छिटो लखेट्न पाए हुन्थ्यो भन्ने थियो । केही व्यक्तिहरूलाई पदको लोभ थियो । नेतृत्वमै भएका चित्रबहादुर केसीले आफ्नो नातिको नागरिकताबारे जुन अनैतिक काम गरे त्यसको विरोध गरेपछि उनी हामीसित धेरै नै क्रुद्ध थिए । उनले एउटा बैठकमा त ‘‘यस्ताले पार्टी छाडेर गए हुन्छ’सम्म भने । हामीले राजनीतिक, सङ्गठन र आर्थिक विषयमा पार्टीभित्र भएका भ्रष्टाचारयुक्त कार्यलाई रोक्न लिखित प्रस्तावहरू केन्द्रीय समितिमा राखेपछि नेतृत्व धेरै नै रिसायो । जसका कारणले नेतृत्व र नेतृत्वतहले हामीलाई छिटो हटाउन चाहन्थ्यो ।

अर्काथरी साथीहरूले हामीलाई अन्तरसङ्घर्ष चलाएर भित्र बसुन् भन्ने चाहन्थे । उनीहरूले पार्टीभित्रको वास्तविकता थाहा नै पाएका छैनन् । कैयौँ तथ्यहरू त अझै पनि बाहिर आएकै छैनन् । राजनीतिक, सङ्गठनात्मक र आर्थिक रूपमा भएको भ्रष्टाचारबारे पार्टीभित्र अन्तरसङ्घर्ष चलाउनु एउटा कम्युनिस्ट पार्टीको सदस्यको अधिकार हो । तर दक्षिणपन्थी नोकरशाही नेतृत्वले त्यसो गर्न दिने कुरा भएन । उनले आफ्ना गल्तीहरूलाई ढाकछोप गर्न चाहन्थे । पार्टीभित्र अन्तरसङ्घर्ष चलाउन नेतृत्वले रोकेको कुरा तल्ला समिति वा कार्यकर्ताले थाहा नै पाएनन् । पार्टीभित्र रहेको यस प्रकारको परिस्थितिमा नेतृत्वले विभिन्न आरोपहरू लगाएर भटाभट कारवाही गरेर सयौँ कार्यकर्ताहरूलाई पार्टीबाट फालेपछिको परिस्थितिमा त्यही बसिरहेर कसरी काम गर्न सकिन्थ्यो ?यी सबै विषयहरूभित्र गहिरो मनोविज्ञान छ । जसलाई बुझ्नका लागि सत्यको खोजी गर्नुपर्दछ र तथ्यमा पुग्नुपर्दछ । मसालभित्र जुन मूल नेतृत्व छ त्यसको कसैले पनि लिखित आलोचना वा विरोध गर्यो भने उसलाई यो वा त्यो बहानामा पार्टीबाट निकालिने पद्धतिबारे जुन व्यक्तिहरूलाई ज्ञान छैन उहाँहरूको मनोविज्ञानले कारवाही सहेर बसेको भए हुन्थ्यो भन्छन् । सामान्य व्यक्तिहरूले आफुलाई कम्युनिस्ट बताउने एमवी सिंहको दक्षिणपन्थी बाटो रहस्यमय व्यवहार र चित्रबहादुर केसीको पराश्रित षड्यन्त्रात्मक व्यावहारबारे गहिरो गरी अध्ययन गर्नुपर्दछ । ती विषयहरूको तथ्यगत अध्ययन गरेपछि नै माथिको प्रश्नमा उठाइएका विषयहरूको वास्तविकता थाहा हुन्छ ।

नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)का बिचमा पार्टी एकता संयोजन समिति बनेको सुनियो । यो एकता टुङ्गो लाग्ला कि नलाग्ला ? नेपालमा क्रान्तिकारी आन्दोलन चाहने त तीन पार्टी बाहेक अरू पनि छन् । किन तीनवटाको बिचमा मात्र एकता संयोजन समिति ?

देशमा रहेका वामपन्थी क्रान्तिकारीहरू बिच सिद्धान्त, नीति र कार्यक्रम मिल्यो भने पार्टी एकता गर्न सकिन्छ । माक्र्सवादी लेनिनवादीहरू सिद्धान्तनिष्ट एकताको पक्षमा हुन्छन् । वामपन्थी क्रान्तिकारीहरूसँग कार्यगत एकता र संयुक्त मोर्चा हुँदै सङ्घर्षमा सँगै हिंडेपछि विकास भएर एकताको छलफल गर्ने र समान प्रकारका धारणा भएपछि आवश्यकताले एकतामा पुर्याउने हो ।

माथि उल्लेखित तीन पार्टीहरूले केही समयदेखि राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा सहकार्य गर्दै आएका थिए । केही समयदेखि राष्ट्रघाती एमसीसी र नागरिता विधेयकका विरुद्धमा सँगै सङ्घर्षमा सामेल थिए र छन् । देशको बुर्जुवा संसदीय प्रतिकृयावादी व्यवस्थाका विरुद्धमा र नयाँ जनवादी व्यवस्थाको पक्षमा समान धारणा राख्दछन् । गत निर्वाचनमा सँगै बहिस्कारको पक्षमा थिए । नयाँ जनवादी व्यवस्थाका शत्रुहरूबारे समान धारणा छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई स्वीकार गर्दछन् । यति हुँदाहुँदै पनि अन्य कतिपय विषयमा मतभेद रहेकोले छलफल गर्न र एकतामा सामेल हुन सकिन्छ वा सकिंदैन भनेर संयोजन समिति गठन गरिएको हो ।

ने.क.पा. (मसाल)ले पनि देशमा रहेका वामपन्थीहरूसँग एकता गर्ने निर्णय गरेको थियो तर पहल गरेन । व्यक्तिवादी पार्टी एकताको पहल गरियो । मैले व्यक्तिवादी एकता किन भनेको छु भने एमवि सिंहले पार्टीको निर्णय विना अन्य समूहमा रहेका पार्टीको रूपमा विकास नगरेका व्यक्तिहरूलाई मसालमा समावेश गराउनुलाई पनि ‘पार्टी एकता’को नाम दिने गरेका छन् । हिमलाल पुरी र सुदूर पश्चिमका केही व्यक्तिहरूलाई पार्टीमा प्रवेश गराउँदा पार्टीमा कुनै निर्णय पनि भएन । उनीहरूले पार्टीको रूपमा विकास पनि गरिसकेका थिएनन् । त्यस्ता व्यक्तिहरूलाई राखेर पार्टी एकता भन्ने तर नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी एकताको लागि भनेर लेखेको पत्रलाई केन्द्रीय समितिमा समेत प्रस्तुत नगर्ने पद्धतिलाई व्यक्तिवादी एकता भनिएको हो ।

नेकपा (मशाल)को विषेश महाधिवेशनले देशभर छरिएर रहेका वामपन्थी क्रान्तिकारी समूह वा व्यक्तिहरूसँग कार्यगत एकता, संयुक्त मोर्चा र पार्टी एकताको लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको लागि प्रयास भएको छ । ती ३ समूह बाहेक अरूसँग पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएका विषयमा संयुक्त कार्यक्रम हुने गरेका छन् । एकताको पक्षमा कसरी जान सकिन्छ भनेर प्रयत्न हुने छ । क्रमश हाँक बाट 

२०७९ माघ १७ १९:५५ बजे

प्रतिक्रिया