१४८ देशसँग व्यापार गरिरहेको नेपालको २९ मुलुकसँग व्यापार नाफामा

सबभन्दा धेरै संयुक्त राज्य अमेरिकामा नौ अर्ब १२ करोड २२ लाख ९२ हजार रुपियाँको सामान निर्यात भएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १२ ०९:२४ बजे
व्यापार

काठमाडौं । नेपालले विभिन्न १४८ देशहरूसँग हाल व्यापार गरिरहेको छ । जसमा नेपालले धेरै  देशहरूसँगको व्यापारमा घाटा ब्यहोरी रहेको छ । नेपालले व्यापार गरिरहेको देशहरू मध्ये थारै देशहरूको व्यापार सँग मात्रै नाफा कमाइ रहेको छ ।   नेपालले वैदेशिक व्यापार गरिरहेका १४८ मुलुकमध्ये २९ सँग व्यापार नाफामा रहेको छ । 

२९ देशमा नेपालबाट १० अर्ब ११ करोड १७ लाख २४ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सो अवधिमा ती मुलुकबाट नौ अर्ब २८ करोड २५ लाख ७७ हजार रुपियाँको सामान आयात भएको  भन्सार विभागको चालू आर्थिक वर्षको छ महिनासम्मको तथ्याङ्कमा उल्लेख गरिएको छ ।  यी मुलुकमा नेपालबाट गलैँचा, पस्मिनाका सामान, तयारी पोसाक, चिया, कफी, नेपाली हाते कागज, जुट तथा जुटका सामान, जडीबुटी, ऊनी फेल्टका सामान, कुकुर तथा बिरालोको आहारालगायतका अन्य सामान निर्यात हुने गरेको छ । 

स्वदेशी उत्पादनको व्यापार धेरै भएका मुलुकमा अमेरिका, डेनमार्क, अफगानिस्तान, अल्जेरिया, कम्बोडिया, क्रोएसिया, माल्टा, मेक्सिको, मोरक्को, मोनाको, जिम्बाबेलगायत छन् । 

विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा नेपालबाट सबभन्दा धेरै संयुक्त राज्य अमेरिकामा नौ अर्ब १२ करोड २२ लाख ९२ हजार रुपियाँको सामान निर्यात भएको छ । डेनमार्कमा ५३ करोड ४८ लाख १५ हजार रुपियाँ, नर्र्वेमा ११ करोड २५ लाख ७१ हजार रुपियाँको सामान निर्यात भएको तथ्याङ्क छ । यस्तै उरुग्वेमा चार करोड ११ लाख ९९ हजार रुपियाँको सामान निर्यात भएको छ ।

अफगानिस्तानमा ३८ लाख ९९ हजार रुपियाँको निर्यात भएको छ । यस्तै अल्जेरियामा सात करोड ३० लाख ३४ हजार, सुडानमा छ लाख २० हजार रुपियाँ, अङ्गोलामा दुई लाख ३३ हजार रुपियाँको निर्यात भएको छ । 

सोही अवधिमा नेपालबाट अजरबैजानमा आठ लाख ९१ हजार, दी बहामासमा एक लाख ९८ हजार रुपियाँको सामान निर्यात भएको छ । कम्बोडियामा १० करोड ५७ लाख २७ हजार रुपियाँको सामान निर्यात भएको छ । कङ्गोमा ४९ लाख ७८ हजार, क्रोएसियामा ८४ लाख २३ लाख रुपियाँको सामान निर्यात भएको छ । इस्टोनियामा चार लाख ९० हजार, आइसल्यान्डमा १७ लाख एक हजार, लात्भियामा १८ करोड ६४ लाख चार हजार, मालीमा नौ लाख छ हजार, माल्टामा आठ लाख ९७ हजार, मौरिससमा ३२ लाख १९ हजार, मेक्सिकोमा २८ करोड ७९ लाख एक हजार रुपियाँको निर्यात भएको विभागको तथ्याङ्क छ ।  

यस्तै मोनाकोमा २२ लाख १६ हजार, मोरक्कोमा २६ लाख ६२ हजार, न्यु क्यालेडोनियामा ६९ लाख ८३ हजार, जम्बियामा नौ लाख १६ हजार र जिम्बाब्वेमा चार लाख २२ हजार रुपियाँको सामान निर्यात भएको विभागको तथ्याङ्क छ । यी लगायतका अन्य देशमा निर्यात हुने गरेको छ । 

विभागका अनुसार छ महिनामा नेपालको कुल आयात २० दशमलव ६८ प्रतिशतले कमी आई सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपियाँ बराबरको सामान आयात भएको छ । गत वर्ष सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजार रुपियाँको आयात भएको थियो ।  

सोही अवधिमा स्वदेशी वस्तुको निर्यातमा ३२ प्रतिशतले कमी आई ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपियाँमा सीमित भएको विभागको  जनाएको । गत वर्ष सो अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड ९६ लाख रुपियाँ बराबरको सामान निर्यात भएको थियो । 

आयातमा कमी आएसँगै व्यापार घाटा १९.१५ प्रतिशतले कमी आई सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख ६८ हजार रहेको थियो । 

चालू आर्थिक वर्षको पहिलो छ महिनामा कुल वैदेशिक व्यापार २१.८९ प्रतिशतले कमी भई आठ खर्ब ७३ खर्ब ४७ करोड ३७ लाख १० हजार रुपियाँको रहेको छ । गत वर्ष सो अवधिमा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख ६८ हजार रुपियाँको कुल वैदेशिक व्यापार भएको थियो । 

२०७९ माघ १२ ०९:२४ बजे

प्रतिक्रिया