निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ९ १४:५६ बजे
अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए । 

आज निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँग कुरा गर्दै उनले यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिने बताएका हुन् । महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्न माग गरेको थियो । नेपालमै अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न करिब १९ करोड आठ लाख खर्च लाग्ने महासङ्घको अनुमान छ ।

महासङ्घले नेपाली मौलिक उत्पादनको पहुँच विश्वबजारसम्म पुर्‍याउन, निर्यातजन्य नेपाली वस्तु तथा सेवाको मूल्य तथा बजार बढाउन र निकासी सहजताका लागि आवश्यक पहल गर्न माग गरेको थियो । 

अन्तर्राष्ट्रिय मेला आयोजना हुन सके नेपालमा उत्पादित वस्तुलाई विश्व बजारमा चिनाउन मद्दत  पुग्ने महासङ्घका अध्यक्ष गुरुङले बताएका छन् । मेलामार्फत नेपाली कला, संस्कृति, खाद्य परिकार प्रवर्द्धनमा सहयोग पुग्ने  गुरुङको भनाइ रहेको छ  । 

२०७९ माघ ९ १४:५६ बजे

प्रतिक्रिया