समाजवाद तर्फ जाने न सोचाई छ न व्यवहार, श्रीमतीका नाममा निजी स्कुल अस्पताल खोलेर समाजवादमा पुगिन्

एमाले सरकारमा जादा -मनमोहन अधिकारी मलाई परराष्ट्रमन्त्री बनाउन चाहन्थे, भारत रिसाउँछ भनेर केपी ओली र माधव नेपालले मानेनन्

bimbonline हिरण्यलाल श्रेष्ठ
२०७९ माघ ८ १४:०२ बजे
हिरण्यलाल श्रेष्ठ परराष्टृविद

 काठमाडौं । हिरण्यलाल श्रेष्ठ नेपालका परराष्ट्रविद्, राजनीतिज्ञ, लेखक र पत्रकार हुन् । उनी बुबा कुशबलाल श्रेष्ठ र आमा रामभक्ति श्रेष्ठबाट जन्मिएका हुन् । उनको पुख्र्यौली घर झोसे बसन्तपुर काठमाडौं हो । उनले सेन्ट्रल जेलबाटै आइए र विए उत्तिर्ण गरेका थिए । एमए त्रिभुवन विश्वविद्यालयबाट उत्तिर्ण गरेका हुन् । उनले करिब ६ वर्ष जेल जीवन बिताएका छन् । २०२६ सालमा प्रकाशित नेपाल भारत व्यापार तथा पारवाहन सन्धिहरुउनले लेखेको पहिलो पुस्तक हो । चाइनासितको सम्बन्धबारे सिक्स्टी एअर्स डायनामिक पार्टनसीप”, नेपाल क्यानडा रिलेशनशीप, नेपालबंगलादेश रिलेशनसीप लगायतका अन्तर्राष्ट्रिय सम्बन्धसित सम्बन्धित महत्वपूर्ण पुस्तकहरु उनले लेखेका छन् । नेपालका कलेजहरुमा नेपाल परिचयपढाई हुन्थ्यो । तर नेपाल परिचयसम्बन्धित कोर्सको पुस्तक लेखेका पहिलो व्यक्ति उनी नै थिए ।

 

उनले २०२८ सालदेखि २०३२ सालसम्म पद्यकन्या क्याम्पस, बागबजार काठमाडौंमा प्राध्यापन गरेका थिए । त्यसपछि उनले पिपुल्स क्याम्पस र रत्नज्योतिमा पनि प्राध्यापन गरे । पञ्चायतकालमा वामपन्थी विचारधारालाई जनता बीचमा लैजाने उनले प्रकाशित गरेको पत्रिका रातो युगधाराथियो । ३० रुपैयाँको जागिर खाएर नेपाल भाषा पत्रिकामा उल्था गर्ने काम उनले गर्थे । १५ हजार मासिक तलवमा एभरेष्ट हेराल्ड र सगरमाथा दैनिकमा काम गरे । उनी सानै उमेरदेखि कम्युनिस्ट आन्दोलनसित जोडिएका व्यक्ति हुन् । उनी २०१३/१४ सालमा कम्युनिस्ट पार्टी निकट योङ्ग कम्युनिस्ट लिगको महासचिव बनेका थिए । लिगको अध्यक्ष लक्ष्मणराज राजवंशी थिए । योङ्ग कम्युनिस्ट लिगका बेलामा काठमाडौंमा युवाहरुलाई पुष्पलालले पार्टी क्लास दिन्थे र निर्मल लामाले शारीरिक व्यायाम र पिटी खेलाउने काम गरेका थिए ।

 

२०१७ सालमा पंचायती व्यवस्था आएपछि कम्युनिस्ट लिगको महासचिव भएर काम गरेकै कारणले उनलाई जेल पठाइएको थियो । २०१९ सालमा जेलमा भएका बेला हिरण्यलाल श्रेष्ठलाई पार्टी सदस्यता प्राप्त गरेको जानकारी दिइएको थियो ।उनको पहिलो बैवाहिक जीवन असफल भएको थियो । उनी जेल गएपछि श्रीमतीसित डिभोर्स भएको थियो । २०३२ सालमा मायादेवी श्रेष्ठसित दोस्रो पटक विवाह भएको थियो । ४ महिना पहिले उनकी जीवन संगिनीको मृत्यु भएको छ । उनका दुई छोरा हुन्इन्जिनियर लुजह श्रेष्ठ र डाक्टर मुजह श्रेष्ठ । लुजह श्रेष्ठको केही समय पहिले मृत्यु भइसकेको छ । हिरण्यलाल श्रेष्ठ सन् २००५२००६ मा नेपालका तर्फबाट रुसी महासंघका लागि राजदुत बनेका थिए ।


कम्युनिस्ट पार्टीमा रहँदा पुष्पलाल श्रेष्ठले हिरण्यलाल श्रेष्ठलाई एउटा व्यापारी बुर्जुवा परिवारबाट आएको व्यक्ति भएकाले सर्वहाराकरण हुनुपर्दछ । एक वर्षमा ३ महिना किसानको परिवारमा बस्नुपर्छ भनेकाले मकवानुपरका चेपाङ वस्तीहरुमा गिंठा, भ्याकुर खाएर पनि दिन बिताएका थिए । काठमाडौं उपत्यकामा ज्यापुको घरमा गएर बस्ने, खाने र पार्टीको काम पनि गरेका थिए । श्रेष्ठ भन्छन्, “म किसानहरु सित राम्रो सम्बन्ध भएकैले २०४८ र २०५१ मा मकवानपुरबाट तामाङ र चेपाङको एरियाबाट सांसद जितेको थिएँ ।२०५३ सालमा एमाले पार्टीको ह्वीप समेत उल्लंघन गर्दै संसदमा महाकाली सन्धिको विपक्षमा मतदान गरे । महाकाली सन्धिको विपक्षमा मतदान गर्ने ८ जना सांसदहरु मध्ये हिरण्यलाल एक थिए । अहिले नेपालको बुद्धिष्ट कल्चरसित अन्य देशहरुसितको सम्बन्धबारे उनले अध्ययन गरिरहेका छन् । ८२ वर्षको उमेरमा पनि उनले लगातार अध्ययन र लेखनमा समय बिताइरहेका छन् । उहि हिरण्यलाल श्रेष्ठसित गरेको कुराकानीको सम्पादित अंशहरु ।

 

हिरण्यणलाल सर, अहिले कसरी समय बिताइरहनु भएको छ ?


अध्ययन र लेखन कार्यमा समय बिताइरहेको छु । मिडियाकर्मी र अनुसन्धानकर्ताहरु आउँछन् । उनीहरुसित कुरा गर्छु । एउटा पुस्तकालय संचालन गरेको छु । अन्तर्राष्ट्रिय सम्बन्धबारे अनुसन्धान गर्नेवालाहरुलाई पुस्तकालय खोली दिन्छु । उनीहरुले अध्ययन गर्दछन् । विभिन्न पार्टी, संघ, संस्थाहरुले बोलाउँछन् । कार्यक्रमहरुमा गएर आफ्नो विचार राख्छु । हरेक दिन ४÷५ घण्टा लेख्ने, पढ्ने काममा आफूलाई लगाएकै हुन्छु । ८२ वर्षको उमेर भएँ । नेपालको बुद्धिष्ट कल्चरसित अन्य देशको बुद्धिष्ट कल्चरको सम्बन्धबारेमा अध्ययन गरिरहेको छु ।

 

तपाई एमालेको बैकल्पिक केन्द्रीय सदस्य, एमालेबाटै मकवानपुरबाट विजेता सांसद र संसदमा परराष्ट्र मामलाको समेत जिम्मेवारी पाएको बेला पार्टी निर्णयको समेत उल्लंघन गरेर संसदमा महाकाली सन्धिको विपक्षमा मतदान गर्नु भयो है , विपक्षमा उभिने ८ जना सांसदहरु मध्ये १ हुनुहुन्छ । किन त्यसरी पार्टीको निर्णय विरुद्धमा जानुभयो ?

 

पहिलो कुरा, महाकाली नदीको अधिकांश भाग सीमा नदी हुनेछ भनेर सन्धिमा लेखिएको छ । यसको अर्थ कालापानी, लिपुलेक क्षेत्रमा महाकालीलाई सीमा नमाने पनि हुने भयो । त्यो सन्धिबाट भारतले कालापानी क्षेत्र आफ्नो भनेर दावी गर्ने ठाउँ छोडिएको छ ।दोस्रो कुरा, महाकालीको पानी आधाआधा हुनु पर्ने थियो । त्यो पनि सन्धिमा भएन । मेरो त पूर्वी क्यानल बनाएर भए पनि हाम्रो पानी उपभोगको अधिकार स्थापित गर्नु पर्छ भन्ने थियो । यी विभिन्न कारणले म पार्टीको ह्वीप उल्लंघन गरेर राष्ट्रघाती महाकाली सन्धिको विपक्षमा उभिएँ । संसदमा बोले, बाहिर सभामा बोले, लेखें ।


महाकाली विवादकै कारण एमालेबाट विभाजन भएर माले पनि बन्यो । संसदमा ह्वीप उल्लंघन गरेकोमा तत्कालीन एमालेले तपाईलाई कुनै कार्वाही गरेन ?

 

कारवाही गर्न सकेन । कारवाही गर्न खोजेका थिए । तर आम जनताले महाकाली सन्धिको विपक्षमा मतदान गर्नेहरुलाई देशव्यापीरुपमा अभिनन्दन गर्ने भनेपछि उनीहरु हच्किएर र कार्वाही गर्न सकेनन् । कारवाही नभए पनि जिम्मेवारी र अवसर नदिने काम भयो । पछि एमाले सरकारमा जाने मौका पाएका बेला मनमोहनजीले मलाई परराष्ट्र मन्त्री बनाउने भन्नु भएको थियो । तर माधव र केपीले भारत रिसाउँछ भनेर मलाई त्यो अवसर दिन मानेन्न । यो देशमा यस्तै छ । देशभक्त हुनुनै अपराध हुँदो रहेछ ।

 

तपाई लामो समय कम्युनिस्ट आन्दोलनको लागि भनेर जीवन बिताउनु भएको व्यक्ति हो । नेपालको कम्युनिस्ट आन्दोलन के भयो, के हुनु पर्दथ्यो ।


नेपालको कम्युनिस्ट आन्दोलन संसदीय भड्कावमा फस्यो । सबैभन्दा ठूलो भड्काव त यही हो । नयाँ जनवादी क्रान्तिको धार छाड्यो । सुविधाभोगी भयो । समाजवादउन्मुख संविधान लागु गर्ने भन्छ । तर समाजवाद तिर जाने न सोंचाई छ । न व्यवहार छ । आफ्ना श्रीमतीहरुको नाममा नेताले एनजिओ÷आइएनजिओ चलाउँछ । निजी स्कूल, निजी कलेज, निजी अस्पताल चलाउन जोड गरेर कहीं समाजवाद उन्मुख भइन्छ ? फगत जनतालाई झुक्काउने कुरा मात्र भएको छ ।

 

 त्यही त मैले सोध्न खोजेको कुरा के हो भने नेपालमा कम्युनिस्ट आन्दोलनमा के हुनु पथ्र्यो ? के भयो ?


कम्युनिस्ट पार्टीहरुको वर्गीय राजनीति हुनुपथ्यो । नेता, कार्यकर्ताहरुमा सर्वहाराकरण वा सर्वहारा चिन्तन हुनुपथ्र्यो । बोली र व्यवहारमा एकरुपता हुनु पथ्र्यो । देशभक्ति र जनवादी बाटो छोड्नु हुने थिएन । जे नहुनु पथ्र्यो नेपालमा आफूलाई कम्युनिस्ट भन्नेहरुमा त्यही भइरहेको छ । जे हुनु पथ्र्यो त्यो भएको छैन । संविधानमा समाजवाद उन्मुख राज्य भनेर लेखिएको छ । तर अहिले यहाँ दलाल पुँजीपति र विचौलिया तन्त्रलाई मलजल गर्ने काम कम्युनिस्ट भन्नेहरुले नै गरिरहेका छन् । दलाल पुँजीपति र विचौलियातन्त्रबाट पनि कहीं समाजवाद आउँछ ? यो त फगत भ्रम मात्र हो ।

 

सन् १९९० मा सोभियत संघ विघटन भएपछि विश्वमा अमेरिकाको एक ध्रुवीय विश्व कायम भयो भनिन्थ्यो । १९९० को विश्व राजनीति र आज २०२३ को प्रारम्भसम्म आउँदा विश्व राजनीतिमा के फरक आयो ?


सन् १९९० मा सोभियत संघ विघटन हुनु भन्दा पहिले विश्वमा दुई धु्रवीय विश्व थियो । एउटा सोभियत ध्रुव र अर्को अमेरिकी ध्रुव । सोभियत संघ विघटन भएपछि केही वर्षसम्म अमेरिकाको एक ध्रुवीय विश्व भयो । अमेरिकाकै हालीमुहाली चल्यो । सोभियत संघ विघटन भएपछि सोभियत संघले नेतृत्व गरेको वार्सा प्याक्ट पनि विघटन भयो । सोभियत संघमा आबद्ध जर्जिया, ताजकिस्तान, कजाकिस्तान लगायतका १३ वटा राज्यहरु रुसबाट अलग भए । सन् २००१ मा अमेरिकाको ट्वीन टावरमाथि आक्रमण भएपछि एकलौटी रुपमा विश्वमा हाइ हुकुम चलाइरहेको अमेरिकामाथि चुनौती आयो । मुस्लिमम फन्डामेन्टालिज्म (मुस्लिम अतिवाद) अमेरिकाको लागि खतरा बन्यो । सभ्यताहरु बीचको द्वन्द्व पनि शुरु भयो । अमेरिकाले इण्डोप्यासेफिक स्ट्राटिजी (एसियाप्रशान्त रणनीति) बनाएपछि चीनले आफूलाई घेराऊ गर्न ल्याएको नीति भनेर विरोध गर्यो । चीनले यो एसियाको नाटो (सैनिक गठबन्धन) हो । अमेरिका र चीनका बिचमा एक खालको शीत युद्ध चल्यो । अमेरिका र चीनबित्र टेडबार पनि चल्यो । अर्कोतिर अमेरिकाले नाटो विस्तार गर्न थालेपछि रुसलाई त्यो कुरा सह्य भएन र उसले नाटो विस्तार गर्न नदिन युक्रेनमाथि आक्रमण ग¥यो । अहिले रुस र युक्रेनको बिचमा तात्तातो युद्ध चलिरहेको छ । खासमा यो अमेरिकाले नेतृत्व गरेको नाटो र रसियाको युद्ध हो । युक्रेन त केवल व्याटल फिल्ड (युद्धस्थल) मात्र हो ।

विश्व राजनीति एक ध्रुवीय विश्वबाट बहुध्रुवीय विश्वतर्फ संक्रमण हुँदै गइरहेको छ । रुस, चीन, चारत, ब्राजिल, दक्षिण अफ्रिका अहिलेको विश्व राजनीतिका नयाँ एक्टरहरु हुन । यो बहुध्रुवीय विश्व राजनीतिमा इरान, इण्डोनेशिया लगायतका देशहरु बहुध्रुवीय विश्व राजनीतिको नयाँ एक्टर बन्न खोजिरहेका छन् ।


विश्व राजनीतिको आजको अवस्थामा नेपालको स्थान कहानेर छ ?


नेपाल निकै संवेदनशील स्थानमा अवस्थित छ । अमेरिकाले चीन नीति बनाउँदा नेपाललाई प्रयोग गर्ने प्रयास गर्दछ । एमसीसी पारित गराउन अमेरिकाले दबाब दिनुको कारण त्यही हो । चीनले इण्डोप्यासिफिक स्ट्राटिजीको खुलेरै विरोध गरेको छ । अमेरिकाले सकेम्म एसपीपी पनि स्वीकार गराउन खोजेको थियो । व्यापक विरोध भएपछि त्यो सम्भव भएन । द्वन्द्व पश्चिमबाट पूर्वतर्फ सर्दै आएको छ ।अन्तर्राष्ट्रिय राजनीतिमा नेपालको अवस्था बुझ्नका लागि हाम्रा छिमेकी चीन र भारतको बारेमा बुझ्न जरुरी छ । भारतले रुस र अमेरिका दुवै तिरबाट हतियार खरिद गर्दछ । ६० प्रतिशत हतियार अहिले पनि भारतले रुसबाटै खरिद गर्छ । हतियारका पाटपुर्जामा भारत रुससितै भरपर्दै आएको छ । चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले १९६२ तिर भारतलाई असंलग्न राष्ट्र हैन, डवल एलाइन (दुवैतिर संलग्न) राष्ट्र, अमेरिका, रुस दुवैतिर संलग्न राष्ट्र भनेका थिए । अहिले पनि भारतको अवस्था उस्तै हो । चीनसित सिमानामा भारतको विवाद छ । बेलाबखत सानातिना झडप पनि हुने गर्दछन् । तर चीनको ए.आई.आई.वि (एसियन इन्फ्रास्टक्चर इन्टरनेशनल बैंक) बाट सबैभन्दा धेरै ऋण लिने देश पनि भारत नै हो । अमेरिकासित मात्र हैन आफ्नो फाइदाका लागि भारतले चीन, रुस सबैसित आफ्नो सम्बन्ध विस्तार गरेको छ र सम्बन्धलाई टुटाउन पनि खोजेको छैन । भारत अहिले मल्टी एलाइन कन्ट्री (धेरै देशहरुसित संलग्न) देश बनेको छ । रुस युक्रेन युद्ध शुरु भएपछि अमेरिकाले रुसको तेल खरिद नगर्न भारतलाई दबाब दियो । तर त्यो कुरा भारतले स्वीकार गरेन ।अमेरिकाले नेपाललाई एमसीसी सांसदबाट पारित गर्न दबाब दिएपछि त्यसरी दबाब दिन मिल्दैन भनेर चीनले खुलेर विरोध गरेको थियो । विश्वका शक्ति राष्ट्रहरुका लागि नेपालको भूराजनीतिक महत्व बढेको छ । दलाई लामाका समर्थकहरुलाई मद्दत गर्न र तिब्बतलाई चीनबाट विखण्डन गर्न उपयुक्त थलो अमेरिकाका लागि नेपाल हो । त्यसैले अमेरिकाले नेपालमा आफ्नो प्रभाव बढाउन खोजिरहेको छ ।मित्र फेर्न पाइन्छ तर छिमेकी फेर्न पाइन्न । नेपालले चीन र भारत दुवै देशका विरुद्ध कुनै पनि गतिविधि नेपाली भूमिबाट हुन दिनु हुँदैन । यसपालिको निर्वाचनमा अमेरिका आफ्नो लवी तयार पार्न सफल भएको छ । घण्टी बजाएर र नेपाली कांग्रेस पार्टीभित्र आफ्ना युवा प्रतिनिधिहरुलाई विजय गराउन सफल भएर अमेरिकाले संसदमै आफ्नो कुरा मान्ने समूह तयार पारेको छ । त्यसरी यहाँ अमेरिका र भारतले कसले बढी आफ्नो प्रभाव बढाउने भन्ने खेल पनि चलिरहेकै छ । उता चीन पनि नेपालमा अरुको प्रभाव बढेकोमा खुलेरै विरोधमा आउन थालेको छ । नेपाललाई भूराजनीतिक द्वन्द्वको अखडा बनाउन थालिएको छ । त्यसैले नेपालले बढी भन्दा बढी असंलग्नताको नीति, बढीभन्दा बढी पञ्चशीलको सिद्धान्त बढी भन्दा बढी तटस्थताको नीतिमा जोड दिन आवश्यक छ ।

 

रुसयुक्रेन युद्धको विषयलाई लिएर संयुक्त राष्ट्र संघमा हाम्रो नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका तर्फको जुन पक्षधरता देखाए त्यो ठिक हो कि बेठिक हो ?


बेठिक हो । किनभने नेपाल एउटा असंलग्न राष्ट्र हो । हामीले आफ्नो भू राजनीतिक परिस्थितिलाई विर्सनु हुँदैन । युक्रेनको कमजोरी कहाँनेर भयो भने उसले आफ्नो भू राजनीतिलाई बिर्सियो । यदि युक्रेनी राष्ट्रपति जेलेन्सकीले युक्रेन नेटोमा जाँदैन । युक्रेनलाई रुस विरोधि अखडा बनाउँदैन भनेको भए युद्ध नै हुने थिएन । छिमेकीका विरुद्धमा लाग्ने सात समुन्द्र पारीको देशलाई खुशी पार्ने काम युक्रेनले गयो । युक्रेनको भूराजनीतिक अवस्था र नेपालको अवस्था मिल्दो जुल्दो छ । नेपालले त्यो गल्ती गर्नु हुँदैन । युक्रेनको विरुद्ध जानुपर्दछ म भन्दैन तर युक्रेनको पक्ष लिनु त आफ्नै भू राजनीतिलार्ई बिर्सनु हो । छिमेकी चीन र भारत दुवै देशले रुस युक्रेनका युद्ध सम्बन्धमा रुसका विरुद्ध अमेरिकाले राखेको प्रस्तावमा तटस्थ बसे । तर नेपालले अमेरिकाको पक्षमा मतदान ग¥यो । त्यो गल्ती नै भएको थियो ।तर अब नेपालले आफूलाई अहिले सच्चाएको छ । संयुक्त राष्ट्र संघको मानव अधिकार कमिशनबाट रुसलाई निकाल्नु पर्दछ भन्ने प्रस्तावमा अहिले नेपाल तटस्थ बस्यो ।भारतले नेपालका शासकहरुलाई हामी तटस्थ बस्दा बस्दै किन बढ्ता जान्ने भएर अमेरिकाको समर्थन गरेको भनेर भनेको पनि हुनसक्छ । जेहोस् नेपालले आफूलाई सच्चाउन खोजेको छ । नेपालले आफ्नो स्पोर्टस मिनिस्टरलाई रुस भ्रमणमा पठायो । नेपालले रुससित हेलिकप्टर किन्न सकिन्छ कि भनेर पनि विचार गर्दैछ । तर देउवा अहिले पनि पश्चिमातिर ढल्कने मानसिकताबाट मुक्त छन् जस्तो लाग्दैन ।


२०७९ मा भर्खरै आम निर्वाचन सम्पन्न भयो । यसलाई कसरी हेर्नु हुन्छ ?


अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिकोणले हेर्दा अहिलेको निर्वाचन परिणाम ठीक भएको छ । हंग पार्लियामेण्ट बन्ने भयो । राजनीतिक अस्थिरता हुने भयो । त्यो खराव हो । तर परराष्ट्र नीतिका लागि यो फाइदा हो । संसद बहुरुपी भयो । सरकार पनि बहुरुपी भयो । त्यसले गर्दा उत्तरमुखी, पश्चिममुखी,दक्षिणमुखी सबै संसद र सरकारमा भएपछि आफ्नो एकलौटी परराष्ट्र सम्बन्ध कायम गर्न कसैले पनि नपाउने भयो । सन्तुलित परराष्ट्र नीति लागु हुन्छ यस्तो अवस्थामा । यो राम्रो भयो ।


तपाई रसियाको राजदुत कति वर्ष हुनुभयो ?


२००५ देखि २००६ सम्म दुई वर्ष रसियामा नेपालको राजदुत भएर बसें ।


अहिलेको रुसी महासंघ भनेको विगतको सोभियत संघ हो । समाजवाद ढलेर रुसमा अहिले पुजिवाद छ । तपाई रुस बस्दा पुँजीवादी देश भए पनि विगतका समाजवादका अवेशषहरु बाकी रहेको देख्नुभयो कि भएन ? उद्योग , कारखाना, शासनशैली, जीवनशैली, चिन्तनशैली आदिमा समाजवादका अवशेषहरु देख्नु भयो ?


त्यहाँ समाजवादका बाँकी अवशेषहरु पनि समाप्त पार्दै लगिरहेको छ । हुने खाने र गरी खानेको भेद फराकिलो बन्दै गइरहेको छ । मागेर खाने देखि अर्बपतिहरु त्यहाँ छन् । प्रशस्त बेरोजगार छन् । वर्गीय समाजको पुनस्र्थापना भएको छ । तर प्राचीन रुस एसिया र यूरोप जोडिएको विशाल शक्तिशाली देश थियो । समाजवादी सोभियत संघ पनि शक्तिशाली थियो । सोभियत संघ ढलेपछि कमजोर भएको रुसलाई विगतको गौरवशाली रुसमा पुनस्र्थापन गर्नेतिर पुटिनले कोशिश गरेका छन् । आर्मीमा अहिले जुन अनुशासन छ । त्यो बेलाको समाजवादी अनुशासनका अवशेष कायमै छ । विश्लेषकहरु के भन्छन् भने प्रथम विश्वयुद्धले समाजवादी सोभियत संघ जन्मियो । दोस्रो विश्वयुद्धले जनवादी चीन जन्मायो र यदि तेस्रो विश्वयुद्ध भयो भने वर्तमान शक्तिकेन्द्रहरु ध्वस्त हुनेछन् र नयाँ शक्ति राष्ट्रहरु जन्मने छन् । तर न्यूक्लियर बारमा अहिले तत्काल जान कोही तयार छैनन् ।


ईपिजि (प्रबुद्ध व्यक्तिहरुको समूह) ले तयार गरेको प्रतिवेदन भारतले किन बुझन् नमानेको होला ?


त्यो प्रतिवेदनमा १९५० को सन्धि पुनर्मूल्यांकन गर्ने भनिएको छ । सीमा समस्या समाधान गर्ने भनिएको छ । ती कुराहरु भारतलाई मन पर्दैनन् । त्यही भएर भारतले त्यो बुझ्न मानेको छैन । प्रतिवेदन पहिले भारतले नै बुझ्नुपर्छ भन्ने छैन । नेपालले बुझे पनि हुन्छ । भारतले बुझ्न मान्दैन भने त्यसलाई सार्वजनिक गरिदिंदा हुन्छ ।


रुसका लागि राजदुत हुँदा राष्ट्रपति पुटिनलाई नेपला भ्रमण गराउने कोशिश गर्नु भएन ?


उनकी अहिलेकी श्रीमती बुद्ध धर्म प्रति धेरै सकारात्मक थिइन् । उनकी श्रीमतीसित कुरा गराएर पुटिनलाई नेपाल भ्रमण गराउने च्यानल मिलाउन थालेको थिएँ । तर मेरो छिटै अवकास भयो ।


अहिले नेपालरुस सम्बन्ध कस्तो पाउनु भएको छ ?


सामान्य छ । देउवा सरकारले संयुक्त राष्ट्रसंघमा रुस विरुद्ध मतदान गरेपछि चिसो उत्पन्न भएको थियो । त्यो फेरि त्यो सामान्यीकरण हुँदै गएको छ ।


अमेरिकाको आइपिएस (इण्डोपेसिफिक स्ट्राटिजी) लाई काउण्टर गर्न चीनले जिएसआई (ग्लोवल सेक्युरिटी इन्इसियटिभ) अगाडि सारेको हो ?

हो । चीन १९६२ को चीन हैन । ऊ शक्तिशाली राष्ट्रमा विकास भइसकेको छ । म अमेरिका ४ पटक गएँ । अमेरिकाका बजारहरु चीनका सामानले भरिएका छन् । अर्थतन्त्रमा धेरै ठूलो विकास गरिसकेको छ । अमेरिकाले नेपाललाई आधार बनाएर चीन विरोधी गतिविधि गर्न खोज्छ भने त्यो सही छैन ।


 महत्वपूर्ण समय उपलब्ध गराउनु भएकोमा यहाँलाई धन्यवाद

यहाँलाई पनि धन्यवाद । हाँक साप्ताहिक बाट


 

 

२०७९ माघ ८ १४:०२ बजे

प्रतिक्रिया