स्वाधीन संयुक्त सरकार आजको आवश्यकता हो : हेमन्त प्रसाद ओली सुदर्शन

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ३० १९:४६ बजे
हेमन्त प्रसाद ओली सुदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (वहुमत) का प्रवक्ता क.हेमन्तप्रकाश ओली सुदर्शनसँग समसामयिक विषयमा विम्व अनलाइनका सम्वादाता डम्मर धामीले गरेको कुराकानीका सम्पादित अँशहरु

यहाँको राजनीतिक यात्राका बारे केही बताइदिनु हुन्छ कि ? 

म वि. सं. २०३५/३६ सालमा भएको जनआन्दोलनको उपज हँ । विद्यार्थी सङ्गठनमा चार वर्ष काम गरेपछि २०४० सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पार्टी सदस्यताको लागि आवेदन पत्र दिई सोही सालको माघ महिनामा पूर्ण सदस्यता प्राप्त गरेर पार्टीको प्रारम्भिक समितिमा आबद्ध भएको थिएँ । विद्यार्थी संगठनको जिल्ला अध्यक्ष हँदै २०४४ सालमा केन्द्रीय समितिको महत्वपूर्ण जिम्मेवारीमा रही २०४८ सालसम्म कार्यरत भएँ । पार्टी सङ्गठनमा प्रारम्भिक समिति, जिल्ला समिति सदस्य र सचिव, उपब्यूरो तथा ब्युरो सदस्यका साथै इन्चार्ज हुँदै २०५४ भाद्रमा तत्कालीन नेकपा (माआवादी) को केन्द्रीय सदस्य हुँदै राजनीतिक परिषदको सदस्यसमेत रही काम गरिसकेको छु । दश वर्षको महान् जनयुद्धका दौरानमा जनमुक्ति सेनाको पत्ती आयुक्तदेखि लिएर पृतना आयुक्तसम्म नियुक्त भएको छु ।

 प्रचण्डले शक्ति सञ्चय गर्ने बाहनामा नेकपा (माओवादी) र जनमुक्ति सेनालाई शान्तिवार्तामा लिएर संसदीय व्यवस्थामा डुबाए । त्यसको परिणामस्वरूप वि.सं. २०६५ देखि क्रान्तिकारीहरूले विद्रोह गर्न थाले । २०७२ मा मेरै नेतृत्वमा प्रचण्ड नेतृत्वको नवसंशोधनवादी नेकपा (माओवादी केन्द्र) बाट क्रान्तिकारीहरूले विद्रोह गरे । यसको साथै कम्युनिस्ट न्युक्लियस नेपालको पुनर्गठन गरियो । २०७३ भदौ ७ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी र न्युक्लियसबीच एकता भई नेकपा (माओवादी) बन्यो । म त्यस पार्टीको स्थायी समिति सदस्य भई कार्यरत भएँ । विप्लवले संसदीय संशोधनवादको बाटो तताएपछि हामीले त्यसलाई विघटन गरी २०६९ बैशाख २१ देखि २३ सम्म सम्पन्न विशेष राष्ट्रिय भेलाबाट नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को पुनर्गठन गरेका छौं । मेरो राजनैतिक यात्राको संक्षिप्‍त रूपरेखा यही नै हो । 

नयाँ बनेको पुष्पकमल दाहालको सरकारबारे के भन्नुहुन्छ ? अब सुशासन, विकास, समृद्धि हुन्छ छ त ? 

यो एकाधिकार पुँजीवादको संरक्षणमा रहेको दलाल पुँजीवादको राजनैतिक अभिव्यक्ति हो । २०६४ मा जनयुद्धको रापताप छँदै पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारले त कुनै लछारपाटो लाउन सकेन भने अहिले रङ्गी–विरङ्गी दलहरुको गठबन्धनमा बनेको  सरकारले केही गर्न सक्दैन भन्ने कुरा  कांग्रेसको समेत सहभागिताले प्रस्ट पारिसकेको छ । यो पूर्व–पश्चिम र उत्तर–दक्षिणको अस्थिर खिचडी बाहेक केही होइन । प्रभुहरुले जति दिनसम्म टिकाउँछन् त्यती दिनसम्म नेपाली जनताको रगत पसिनाबाट बनेको ढुकुटी लुटपाट गर्ने बाहेक यो सरकारले अर्को काम गर्ला जस्तो मलाई लाग्दैन । यी सबै खेल खण्डहरुलाई हेर्दा देशभक्त तथा क्रन्तिकारी कम्युनिस्टहरुको ‘स्वाधीन संयुक्त सरकार’ को आवश्यकता खट्केको छ । 

तपाइँहरु नेकपा (माओवादी—केन्द्र), नेकपा (क्रान्तिकारी—माओवादी) र नेकपासँग क्रमश विद्रोह गर्दै आउनु भयो । सो अवस्थामा यिनीहरु र तपाइँहरु बीच के—के कुरामा मतभेद थिए ?

नेकपा (एकता केन्द्र) सँग विद्रोह गर्दा हामीले त्यस पार्टीको नेतृत्वलाई नवसंशोधनवादको आरोप लगाएका थियौं । नवसंशोधनवाद भनेको माक्र्सवादमा लाग्ने अदृष्य किरा हो । यसले माक्र्सवादको खोल ओढेर माक्र्सवादको मुटुमा नै छुरा धस्ने दुस्साहस गर्दछ । यसबाट केही मानिसहरु भ्रममा पनि पर्दछन् । माक्र्सवादलाई कमजोर बनाउन यसका विरोधीहरुले कम्युनिस्ट दोसल्ला ओढ्न बाध्य हुन्छन् । त्यही दोसल्ला धारी पुँजीवादको भण्डाफोर गर्दै हामीले माक्र्सवादलाई स्थापना गर्न त्यो विद्रोह गरेका थियौं । 

आजको क्रान्तिकारी माओवादीसँग विद्रोह गर्दा हामी आइपुगेका थिएनौं । क। किरण नेतृत्वको पार्टीबाट विद्रोह गरेर विप्लवले कुनै पनि प्रकारले औचित्य सावित गर्न सकेका छैनन् । त्यो वास्तवमा परिपक्व छलफल बिनाकै विद्रोह थियो भन्ने कुरा आज आएर पुष्टि भएको छ । हाम्रो समाजका केही परिवारमा जस्तै त्यो बाक्लो दाल खानकैलागि छुट्टिएको महसुस हुन्छ ।

विप्लवले नेतृत्व गरेको नेकपा भित्र हाम्रो गम्भीर मतभेद भएको थियो । विशेष राष्ट्रिय भेलाको राजनैतिक प्रतिवेदनमा हामीले दार्शनिक हिसाबले सारसंग्रहवाद, राजनैतिक हिसाबले संसदीय संशोधनवाद, चिन्तन शैलीका हिसाबले निम्न पुँजीजीवी स्वच्छन्दतावाद, सांगठनिक हिसाबले निषेधात्मक अधिभूतवाद, संघर्षका हिसाबले आत्मसुरक्षावाद र आर्थिक हिसाबले जुझारु अर्थवादको आरोप लगाएका छौं । यी आरोपहरुबारे प्रस्तुत राजनैतिक प्रतिवेदन र विभिन्न आलेखहरुमा तथ्य र तर्कसहित स्पष्ट पारिसकेका छौं । यसको साथै हामीले हाम्रो विचारधारात्मक कार्यदिशा माक्र्सवाद–लेनिनवाद–माओवाद, राजनैतिक कार्यदिशा जनवादी क्रान्तिको कार्यभारसहित वैज्ञानिक समाजवाद, सामरिक कार्यदिशा एकीकृत जनयुद्ध र राजनैतिक कार्यनीति स्वाधीन संयुक्त सरकारको विकास गरी कार्यान्वयनमा अघि बढेका छौं । 

कम्युनिस्ट व्यवस्था ल्याउनका लागि तपाइँहरु दसवर्ष जनयुद्ध लड्नुभयो, कम्युनिस्ट व्यवस्था आएन, अब तपाइँहरुले कम्युनिस्ट व्यवस्था ल्याउनुहुन्छ भनी विश्वास गर्ने आधार के हो?

कम्युनिस्ट पार्टी निर्माण गर्ने चेतना भनेको वर्गहरुको उन्मुलन गरी सच्चा मानवतावादको स्थापना गर्ने चेतना हो । कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता हुनु भनेको आजैदेखि सामुहिक उत्पादनको सामुहिक स्वामित्व स्थापना गर्ने चेतना निर्माण गर्दै जानु हो । माक्र्सले कम्युनिस्ट घोषणापत्र लेख्दा कम्युनिस्ट भनेको नीजि स्वामित्वको अन्त्य र सामुहिक स्वामित्वको स्थापना गर्नु हो भन्नुभएको थियो । यो कुरा सिद्धान्त मात्र नभएर कम्युनिस्टहरुको आचरण हो । त्यसकारण आजैदेखि हामी कम्युनिस्ट आचरणका साथ कम्युनिस्ट पार्टीको नेतृत्व र विकास गर्नुपर्दछ । होइन भने कम्युनिस्ट व्यवस्थाको कल्पना गर्न सकिदैन । 

दशवर्षको जनयुद्धले निश्चय नै कम्युनिज्मको जग हालेकै थियो । तर नीजि सम्पत्तिको संस्कृतिले कुटकुट भरिएका केही नेताहरुले त्यसलाई विघटन गरे । यसले नेपालमा कम्युनिस्ट व्यवस्थाको पहिलो चरण वैज्ञानिक समाजवाद ल्याउन एक कदम पछि धकेलेको छ ।कम्युनिज्म हाम्रो चाहनाको कुरा होइन, यो त साँच्चिनै इतिहासको अपरिहार्य आवश्यकता हो । आजको अति एकाधिकारवादी तथा अति केन्द्रिकृत साम्राज्यवादी पुँजीवादको विकल्प कम्युनिज्म बाहेक अरु केही पनि हुन सक्दैन । एक प्रतिशत मानिसहरुको हातमा ९९ प्रतिशत बराबरको सम्पत्ति थुप्रिनु, अति एकाधिकारवादी पुँजीपतिहरुको व्यापक शोषणले गर्दा मध्यम वर्गको विशाल संख्या कंगालीकरण हुँदै जानु, विज्ञान तथा प्रविधि खासगरी सूचना प्रविधिका कारणले एउटै विश्व ग्राम बन्नु साम्यवादका लागि परिस्थिति उर्वर हुँदै जानु हो । 

नेपालको सन्दर्भमा पनि १०० जना धनीहरुको हातमा समग्र सम्पत्ति केन्द्रित हुनु, दलाल पुँजीवादी राज्यसत्ता र श्रमजीवि तथा उत्पीडित जनताका बीचको अन्तरविरोध भुसको आगोझैं सल्किनु, नेपालका श्रमजीवि जनताहरु पौने करोडको संख्यामा विश्व श्रम बजारमा बिक्रि भई शिक्षित दिक्षित हुनु जस्ता कुराहरुले साम्यवादलाई झन्–झन् नजिक्याएका छन् ।

नेपालमा छिन्न–भिन्न भएको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन पुनर्निर्माण र पुनर्गठन केका आधारमा गर्नुहुन्छ ?

कम्युनिस्ट आन्दोलन पुनर्गठनको पहिलो आधार भनेको दलाल पुँजीवादी राज्यसत्ता र नेपाली जनताबीचको तीब्र अन्तरविरोधले जनतामा आएको आक्रोश नै हो । दोस्रो आधार भनेको मालेमावादको विकास गर्नुपर्ने आवस्यकता हो । मालेमावादको विकास नगरिकन क्रान्ति हुँदैन र क्रान्ति नभईकन मालेमावादको विकास हुँदैन । यो द्वन्द्वात्मक सम्बन्धलाई अघि बढाउन क्रान्तिकारी कम्युनिस्टहरुको एकता ऐतिहासिक अपरिहार्यता हुन जान्छ । तेस्रो कुरा क्रान्तिकारीहरु बीचको एकताको आधार जनवादी केन्द्रियता हो । आज एकता हुनुपर्छ भन्ने जनवाद व्यापक रुपमा उठेको छ । त्यसलाई केन्द्रिकरण गर्ने भनेको छरिएका कम्युनिस्टहरुको एकता नै हो जसले एकताको माग गर्ने व्यापक जनसमुदायलाई गोलबन्द गरी अजेय शक्तिको निर्माण हुन्छ । यसले नै दलाल पुँजीवादी राज्यसत्ताको अन्त्य गर्दछ । क्रान्तिको विजयलाई सुनिश्चित गर्न हामी अन्धराष्ट्रवादी भएर हुँदैन, स्पष्ट रुपमा सर्वहारा अन्तराष्ट्रवादी हुनुपर्दछ । यो क्रान्तिकारीहरुको एकताका लागि चौथो आधार हो । छरिएका कम्युनिस्टहरुको एकताका लागि दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य पाँचौ आधार हो । आखिर संसदीय व्यवस्थाको अन्त्य नगरी जनवादी क्रान्तिको कार्यभारसहितको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न हुन सक्दैन । छरिएका कम्युनिस्टहरुको एकताका लागि छैठौं आधार भनेको माक्र्सले भने जस्तै पुरानो समाजको गर्भबाट बच्चा जन्माउन बल प्रयोगले सुडेनीको काम गर्छ भन्ने कुरामा एकमत हुनु हो । यसैगरी छरिएका कम्युनिस्टहरुको एकताका लागि सातौं आधार भनेको पुरानो समाजको गर्भबाट सुडेनीद्वारा जन्माइएको शिशुलाई सुरक्षित रुपमा हुर्काउन सर्वहारा अधिनायकत्वको प्रयोग गर्नु हो । सर्वहारा वर्गको अधिनायकत्वले अन्ततः वर्गहरुको उन्मुलन गरी महान साम्यवादको स्थापना गर्नेछ ।

नेपालका कम्यनिस्टहरु विचार, सिद्धान्त र आचरणका कुरा गरे पनि महत्वाकांक्षा र पदलोलुपताका कारण टुटफुट हुदै सकिन्छन् भन्ने आरोपबारे के भन्नु हुन्छ ?

विचार, सिद्धान्त र आचरणका कुरा गर्नु र ग्रहण गर्नु भिन्ना–भिन्नै चिजहरु हुन् । विचार, सिद्धान्त र आचरणलाई जीवन–व्यवहारमा अभिव्यक्त हुनेगरी गहण गर्नु नै कम्युनिस्ट हुनु हो । महत्वाकांक्षा र पदलोलुपता निजी सम्पत्तिका अभिव्यक्ति हुन् । कम्युनिस्ट हुनु भनेको निजी सम्पत्तिको अन्त्य गर्दै जानु र सामुहिक सम्पत्तिको स्थापना गर्नु हो । यही विचारलाई दह्रोसँग पकडेको हुनालेनै माक्र्स र एंगेल्सले सही सिद्धान्तको प्रतिपादन गर्नुभयो भने लेनिन र माओले त्यो सिद्धान्तलाई आ–आफ्नो विशिष्ठतामा लागु गर्दै त्यसको थप विकास गर्नुभयो । तपाईले सही प्रश्न उठाउनुभएको छ । टुटफुटको मुख्य कारण नै हाम्रो देशको निम्नपुँजीवादी सम्पत्तिसम्बन्ध र त्यसबाट उत्पन्न हुने महत्वाकांक्षा हो । 

पार्टीभित्र तपाइँहरुले करोडाै‌ को घोटाला गरेको हुँदा कार्वाहिमा पर्ने डरले पार्टी विभाजन गरेको हो भन्ने आरोप विप्लव पक्षको छ, के भन्नु हुन्छ ?

यो सरासर झुठो आरोप हो । यसबारे हामीले सयौं संचारमाध्यममा खण्डन गरिसकेका छौं । हामीलाई उनीहरुले कार्वाही गर्दा करोडौंको घोटाला गरेको भनी कतै पनि निर्णय गरेका छैनन् । भाषण गर्दा वा अर्को मान्छेद्वारा हामी र हाम्रा नेताहरुको बदनाम गर्न लेख लेखाउने र समाचार बनाउने कृत्रिम काम गरेका छन् । वास्तवमा विप्लव तथा प्रकाण्ड र तिनका आसेपासेहरुले नै करोडौं होइन अर्बौंको घोटाला गरेको कुरा भौतिक रुपमै मूर्त भइसकेको छ । हामी तपाईको सञ्चारमाध्ययममार्फत् जुन घोटाला गरेको हल्ला छ त्यसलाई मुर्तीकरण भएको प्रमाणित गर्नका लागि चुनौति दिन्छौं । होइन भने यो बकवास रोक्न सम्बन्धित पक्षलाई विशेष आग्रह गर्दछौं ।

नेकपा (मशाल), नेकपा (क्रान्तिकारी माओवादी) र तपाईको पार्टीले केही महिना यता सहकार्य गरेको देखिन्छ, यसको उद्देश्य के हो ?

हामी तीन पार्टीका बीच करिब ६ महिनादेखि पार्टी एकताका लागि वार्ता, छलफल र बहस भइरहेको छ । यो फूटैफूटबाट आक्रान्त नेपाली जनताका लागि खुशीको कुरा हो । करिब ७० प्रतिशत कम्युनिस्ट समर्थक जनता रहेको हाम्रो देशमा साम्राज्यवादका दलालहरुले शासन गर्नु विडम्बनाको कुरा हो । क्रान्तिकारी कम्युनिस्टहरु कमजोर हुनु र कम्युनिस्ट खोल ओढेका संशोधनवादीहरु हावी हुनुले यो विडम्बना पैदा भएको हो । त्यसकारण हामीले नेपाली क्रान्ति पुरा गर्न तीन कम्युनिस्ट पार्टीहरुबीचको एकतालाई पार्टी एकता संयोजन समिति निर्माणको स्थितिमा पुर्याएका छौं । यसलाई छिट्टैनै हामी तीन पार्टीको एकतामा पुर्याउने छौं । यही शक्तिले नै सबै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकीकृत र ध्रुवीकृत गर्नेछ । यसो भयो भने मात्र माओले भने जस्तै पर समुद्रमा चलिरहेको पानीजहाजको मस्तुललाई वरैबाट देख्न सकिने छस एका बिहानै उदाउने सूर्यका चम्किला किरणहरुलाई उचो पहाडबाट देख्न सकिने छ र आमाको गर्भभित्र छट्पटाइरहेको शिशु छिटै जन्मने छ ।

सायद २०५१ सालपूर्व तपाइँहरुले माओ विचारधारा मान्दै आउनु भएको थियो, माओ विचारधारा र माओवादमा के फरक छ ?

 हो, हामीले वि.सं. २०५१ सालबाट नै माओ विचारधारा पदावलीको स्थानमा वैज्ञानिक पदावली माओवाद प्रयोग गरेका थियौं । अंग्रेजीमा : बय त्जयगनजत लाई नेपालीमा माओ विचार भन्नुपर्नेमा माओ विधारधारा पदावली गलत अनुवाद हो । वि.स.२०५१ पूर्व हामीले माओ विचारधारा भनेपनि त्यसलाई सार्वभौम सत्य मान्दै आएका थियौं । यदी माओका विचारहरु सार्वभौम सत्य हुन् भने वैज्ञानिक पदावली माओवाद भन्नु नै सही हुन्छ ।

कुनै पनि सिद्धान्त वाद हुनका लागि तीन संघटक अंग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादमा नयाँ विकास भएको हुनुपर्दछ । माओले दर्शनशास्त्रमा दुई छलाङको ज्ञान सिद्धान्त, भौतिकवादी द्वन्द्ववादका तीन नियमहरुको एउटै नियम अन्तरविरोधमा संश्लेषण, एक दुईमा विभाजन जस्ता सार्वभौम सिद्धान्तको विकास गर्नुभएको छ । राजनीतिक अर्थशास्त्रमा चिनियाँ समाजमा वर्गविश्लेषण, आधारइलाकाको अर्थनीति, जनकम्युनहरुको स्थापना, ठूला उद्योग र साना उद्योगको द्वन्द्वात्मक सम्बन्ध र स्टालिनको राजनीतिक अर्थशास्त्रमा देखिएका कमी कमजोरीहरुको आलोचनासहित नयाँ अर्थतन्त्रको विकास माओका नयाँ योगदानहरु हुन् । वैज्ञानिक समाजवादमा चिनियाँ विशिष्टतामा नयाँ जनवाद, सैन्य विज्ञानमा दीर्घकालीन जनयुद्ध, सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति अर्थात् महान सर्वहारा साँस्कृतिक क्रान्ति, जनवादमा आधारित वृहद् जनवादी केन्द्रियता, आलोचना र आत्मआलोचना, दुई लाईन संघर्षलगाएतका योगदानहरु माओका सार्वभौम योगदान हुन् । त्यसकारण यसलाई माओ विचार, माओ विचारधाराको सट्टा माक्र्सवाद–लेनिनवाद कै स्तरमा माक्र्सवाद–लेनिनवाद–माओवाद भन्नु माओका योगदानहरुको सही मुल्याँकन हुन्छ ।     

नयाँ पुस्ताको चेतना र प्रविधिको विकाससँग तपाइँहरुका कार्यनीति र कार्यक्रममा मेल नखाएको हुँदा  कोठे राजनीतिमा सिमित हुनुभएको छ भन्ने आरोपबारे के भन्नु हुन्छ ?

कम्युनिस्टहरु नयाँ चेतनाको स्वागत गर्दछन् र विज्ञान तथा प्रविधिको विकासलाई आफ्नो चेतनाको आधार मान्दै यसलाई दार्शनिकरण गर्दछन् । हामीलाई थाहा छ माक्र्स र एंगेल्सले जीवकोषको सिद्धान्त, उर्जा रुपान्तरणको सिद्धान्त र जीव विकासको सिद्धान्तद्वारा आफ्नो सिद्धान्तको पुष्टि गर्नुभएको थियो । त्यसैगरी लेनिनले आइन्स्टाइनको सापेक्षताको सिद्धान्त, म्याक्स प्लांकहरुको क्वान्टम यान्त्रिकी, एक्सरे, बेक्वेरेल रे र रेडियमको आविष्कारबाट द्वन्द्वात्मक भौतिकवादको विकास र थप पुष्टि भएको कुरा प्रमाणित गर्नुभएको थियो । विज्ञानको पछिल्लो विकासलाई माओले पनि स्वागत गर्नुभएको थियो । त्यसकारण कम्युनिस्टहरुले नयाँ चेतना र विज्ञान–प्रविधि अनुरुप आफ्नो चेतना उठाउनु पर्दछ । तर उनीहरुले पदार्थ लोप भयो भन्ने कुरालाई कहिल्यै मान्दैनन् । पदार्थ लोप भयो भन्नेहरुलाई मुखभरीको जवाफ दिँदै लेनिनले भन्नुभएको थियो– ‘पदार्थको लोप भएको होइन, बरु हाम्रो ज्ञानको सिमा लोप भएको हो ।’ यो विज्ञान सम्मत चेतनालाई उल्टाउन खोज्ने केही मानिसहरु नेपालमा नयाँ चेतनाको कुरा गरिरहेका छन् । विज्ञान र प्रविधिको विकासले उत्पादक शक्तिको ठाउँ लियो भनेर डङ्का पिटिरहेका छन् । विज्ञान र प्रविधिको विकासले सफ्टवयर र चेतनाबीचको भिन्नता लोप भयो भन्दै गिड्गिडाइरहेका छन् । उनीहरुले स्वचालनको कुरा गरिरहेका छन् । यो वास्तवमा स्वचालनभित्र परमात्मा घुसाउने चालबाजी मात्र हो । यस्तो चेतना नयाँ चेतना होइन । यो वास्तवमा कम्युनिस्ट विरोधी चेतना हो ।

हामी कोठामा सिमित छैनौं । हामी वास्तवमा जनतासँगै वस्तुगत संसारको अध्ययन गरिरहेका छौं र जनतालाई वस्तुगत संसारअनुरुप अघि बढाउन कोसिस गरिरहेका छौं । आज साम्यवाद असम्भव छ र साम्यवादका सिद्धान्तहरु पुराना भइसके भन्दै भैंसी पुजा गर्ने तथा राम मन्दिर बनाउने धर्मभिरुहरुलाई नाङ्गेझार पार्न कोसिस गरिरहेका छौं । नयाँ चेतनाका नाममा क्रिश्चियनको घण्टी बजाएर साम्राज्यवादको चाकडी गर्नेहरुलाई पनि राम्रोसँग चिनिरहेका छौं । त्यसकारण हामी कोठाभित्र सिमित छैनौं बरु महान जनतालाई महान साम्यवादको लक्षतिर अघि बढाउन प्रयत्नरत छौं । 

अन्तमा थप केही भन्नहुन्छ की ?

विम्व अनलाइनले हाम्रा विचारहरुलाई सम्प्रेषण गर्ने अवसर प्रदान गरेकोले हार्दिक धन्यवाद दिँदै हामी विम्व अनलाइनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

२०७९ पुष ३० १९:४६ बजे

प्रतिक्रिया