अर्थ मन्त्रालयमा पौडेल फर्केपछि उत्साह

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १५ ०९:३७ बजे
विष्णु पौडेल

काठमाडौं । विष्णु पौडेल अर्थ मन्त्रालयको नेतृत्वमा फर्केपछि अर्थ बजारमा सबैको आस पलाएको छ । २०७७ साल असार २९ गते ‘लोकतान्त्रिक वाम गठबन्धन’ सरकार गठन भएसँगै पौडेलले अर्थमन्त्रीको पद गुमेको थियो। उनी फेरी पनि अर्थमन्त्रालयमा आएका हुन् । 

विगतमा रहेको नेकपा फुटेको १७ महिनापछि नेकपा एमाले र माओवादी केन्द्रको पुनर्मिलनसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बनेको छ । नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पौडेलले निजी क्षेत्रसँग छुट्टा–छुट्टै भेटवार्ता गरिसकेका छन् ।

निजी क्षेत्रमैत्री भनेर चिनिने पौडेल तेस्रो पटक अर्थ मन्त्रालयको नेतृत्वमा आएपछि निजी क्षेत्रले अर्थतन्त्र सुधार्ने सुझावसमेत पेस गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श गरी तीन वटै व्यावसायिक छाता संगठनले अर्थमन्त्री पौडेललाई भेटेर अर्थतन्त्र सुधार्ने सुझाव दिएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा नयाँ सरकार गठनसँगै निजी क्षेत्रमा उत्साह आएको बताएका छन् ।  नयाँ सरकार गठनसँगै अर्थ मन्त्रालयको जिम्मेवारीमा आएका पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्ने र बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रलाई ‘ट्र्याक’मा ल्याउने बताएका छन् । पौडेलको आश्वासन पछि निजी क्षेत्रका सबैमा आस जागेको छ । 

सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले बिग्रँदो अर्थतन्त्रलाई सम्बोधन गर्ने निर्णय गरेको छ । 

सरकारको यही निर्णयसँगै निजी क्षेत्रमा बढ्दो ब्याजदर नियन्त्रण हुने र बजारमा भइरहेको आर्थिक मन्दीको विषयलाई सरकारले सम्बोधन गर्ने  पनि देखिएको छ । अर्थमन्त्री पौडेलले निजी क्षेत्रका छाता सङ्गठनसँग भेटेर बिग्रँदो अर्थतन्त्रको समस्या समाधानमा तत्काल लाग्ने प्रतिबद्धता समेत जनाइसकेका छन् । 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रको पछिल्लो अवस्थाबारे आफूलाई पूर्ण जानकारी रहेको र चाँडोभन्दा चाँडो यसलाई सुधार्नतर्फ लाग्ने बताएका छन् । यस्तै, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले यतिबेला देशले अर्थतन्त्र र व्यवसायीहरूको समस्या बुझ्ने क्षमता भएका अर्थमन्त्री पाएको बताए । 

अर्थमन्त्रीमा नियुक्त बनेसँगै बधाई दिन पुगेका निजी क्षेत्रसँग पौडेलले बैंकको ब्याजदर घटाउनेदेखि चालु पुँजी कर्जा निर्देशिका स्थगन गर्नेसम्मको आश्वासन दिएका छन् । अर्थमन्त्रीबाट ब्याजदर घटाउने आश्वासन पाएपछि अर्थतन्त्र चलायमान बन्ने र बजारको मन्दी घट्ने व्यवसायीको अनुमान रहेको छ । 

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको दोस्रो दिनमै पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नरलाई नै राखेर आन्दोलनरत उद्योगी र व्यवसायीसँग छलफल गरेका छन् । पौडेलले बुधबार ब्याजदर वृद्धिको विरोधमा र चालु पुँजी कर्जा निर्देशिकाको विरोधमा सडकमा उत्रिएका पूर्वका ४ वटा संगठनका प्रतिनिधिसँग गभर्नर महाप्रसाद अधिकारीलाई नै राखेर छलफल गरेका हुन् । उनले ब्याजदर घटाउने र निर्देशिकालाई तत्काल स्थगन वा खारेज गर्ने प्रतिबद्धतासँगै व्यवसायीसँग समय मागेका थिए ।

यससँगै व्यवसायीले ब्याजदर घटाउने र चालु पुँजी कर्जा निर्देशिका खारेज वा स्थगित गर्न भन्दै १५ दिनको समय दिएका छन् । भर्खरै गठन भएको सरकारलाई काम गर्नका लागि केही समय दिनुपर्ने भएकाले अर्थमन्त्रीको मागअनुसार १५ दिनको समय दिएको व्यवसायीहरूको भनाइ छ । 

करिब १७ महिनापछि अर्थमन्त्रीको जिम्मेवारीमा फर्केको ३ दिनमै पौडेलले अर्थतन्त्र काबु बाहिर नपुगेको निष्कर्ष निकालेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको पहिलो दिनदेखि उद्योगीरव्यवसायी र विज्ञहरूसँग उनी छलफल गरिरहेका छन् । यसक्रममा अर्थतन्त्र समस्यामा रहे पनि सुधार गर्न सकिने अवस्था रहेको निष्कर्ष अर्थमन्त्रीले निकालेका हुन् ।

यता निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार पनि पौडेल मन्त्री बनेपछि उकालो लागेको छ । उच्च अंकले गिरावट आएको सेयर बजार उनि आए देखी भारी अंकले उकालो लागेको छ । पौडेल अर्थमन्त्री हुँदा सेयर बजार नयाँ रेकर्ड बनाएको थियो । 

२०७९ पुष १५ ०९:३७ बजे

प्रतिक्रिया