होटल संघ नेपाल र अर्थमन्त्री पौडेलबीच भेटवार्ताः ब्याजदर घटाउनदेखि पुनर्कर्जा सुविधा विषयमा छलफल

bimbonline बिम्ब अनलाइन
२०७९ पुष १३ २०:१० बजे
अर्थमन्त्री पौडेल

काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वको टोलीले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेको छ । नवनियुक्त मन्त्री पौडेललाई बधाई दिन तथा यसअघि उनको कार्यकालमा भएका सहयोगी निर्णयका लागि धन्यवाद ज्ञापन र गुमेका उपलब्धि पुनः प्राप्ति हुने विश्वाससहित संघका पदाधिकारीले मन्त्री पौडेलसँग भेटवार्ता गरेका हुन् । 

सो अवसरमा पदाधिकारीले समग्र अर्थतन्त्रको बचाउ तथा होटल उद्योगको संरक्षणार्थ सुझाव प्रस्तुत गरेका थिए । भेटमा अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको तथा तथा पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरू व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको  जानकारी दिएका छन् । 

देशैभरका होटल व्यवसायीहरूले माग गरेका ज्वलन्त समस्याहरू समाधानका लागि पनि उनले मन्त्री पौडेलसमक्ष आग्रह  गरेका छन्। नेपाल राष्ट्र बैङ्कबाट जारी चालू पुँजी कर्जा निर्देशिका तत्काल कार्यान्वयनमा नल्याउन र अर्थतन्त्रको पनरुत्थानमा प्रत्यक्ष भूमिका खेल्ने होटल उद्योगलाई उत्पादनमूलक उद्योगको मान्यता दिई प्राथमिकता प्राप्त उद्योगको रूपमा कानूनमै व्यवस्था हुनका लागि छलफलसमेत भएको छ । संघले तत्कालका लागि तीन बुँदे सुझाव समाधानका लागि पेस गरेको छ । 

संघले होटल जस्तो अति संवेदनशील उद्योगमा ब्याजदर धान्नै नसकिने गरी अधिक भएको र व्यवसाय सञ्चालन गर्न तथा लगानी आकर्षण गर्न प्रतिकूल देखिएकोले यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाउन अर्थमन्त्री पौडेलसमक्ष माग गरेको छ । 

यसैगरी होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्नका लागि समय थप गर्नसमेन संघको माग छ । बैङ्कबाट सीमाभित्र साँवा ब्याज बुझाउन तीव्र ताकेता रहेकोले देशैभरका होटल व्यगवसायीहरू आन्दोलित भएको भन्दै संघले समयसीमा बढाएर थप सहजीकरण गरिदिन आग्रह गरेको हो । 

मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनर्तालिकीकरण र पुनर्कर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत स्पष्ट खुलाउँदै सुविधा प्रदान गरी कार्यान्वयनको व्यवस्था गर्नसमेत संघले माग गरेको छ । 

उक्त अवसरमा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि मन्त्रालय लागिपरेको र उद्योग व्यवसायको विकास र विस्तारका लागि पनि कदम चालिने र यसलाई सहज बनाइने  बताएका छन् । 

२०७९ पुष १३ २०:१० बजे

प्रतिक्रिया