सर्वहारा वर्गीय पक्षधरताबाट विमुख बनाउन खोज्ने हरेक क्रियाकलाप रक्तिमलाई अस्वीकार्य छ

bimbonline बिम्ब अनलाइन
२०७९ पुष ४ १९:०९ बजे
नारायण शर्मा

काठमाडौं । सञ्चारकर्मी एवम् प्रगतिशील साहित्यका सर्जक साँस्कृतिककर्मी  एवम् रक्तिम सांस्कृतिक अभियान का केन्द्रिय अध्यक्ष वहु प्रतिभाका धनि नारायण शर्मा सँग बिम्ब अनलाइनका सम्वाददाता डम्मर धामीले गरेको कुराकानी का  सम्पादित अंशहरू

तपाई रक्तिम सांस्कृतिक अभियानको अध्यक्ष र सञ्चारकर्मी समेत हुनुहुन्छ, एक सांस्कृतिककर्मीको दृष्टिमा देशको वर्तमान अवस्था कस्तो देख्नु हुन्छ ?

देशको वर्तमान राजनैतिक अवस्था त्यति  सन्तोषजनक म देख्दिन । राजनैतिक पार्टीहरूमा नीति, सिद्धान्त, इमान्दारिता र आदर्शको झन पछि झन खडेरी पर्दै गैरहेको छ । सत्ता र कुर्सीका लागि आफ्ना घोषित नीति सिद्धान्तलाई तिलाञ्जलि दिँदै जस्तोसुकै अप्राकृतिक र अनैतिक गठबन्धन पनि गर्ने विचित्रको संस्कार राजनैतिक पार्टीहरूले बसालेका छन् । सत्तामा पुग्नकै लागि देशको राष्ट्रियता र स्वाधिनताकै सौदाबाजी गर्ने होडबाजीमा संसदवादी दलहरू देखिएका छन् । आज देशमा गणतन्त्र, समावेशिता लगायतका जे जति उपलब्धीहरु हासिल भएका छन्, ती ल्याउनका निम्ति हिजो जनआन्दोलन र सशस्त्र संघर्ष हाँक्ने पार्टीहरू नै आज आदर्शच्यूत हुँदा जनआन्दोलनका ती उपलब्धीहरू समेत धरापमा पर्दै गैरहेका छन् । महंगी, भ्रष्टाचार, दण्डहीनता, अराजकता  दिनप्रतिदिन बढ्दै गैरहेको छ । हाम्रो देशको आजको अवस्था आज भन्दा तीस वर्ष अघि जनगायक जीवन शर्माले यो गीतमा भन्नु भए जस्तै ठ्याक्कै उस्तै देखिन्छ ः–
फेरिए घुम्ने कुर्सीमा शासन गर्ने मान्छेहरू
फेरियो रंग शोषकको फेरिए लुट्ने मान्छेहरू
उस्तै छ रूप देशको उस्तै छन् दुःखी जनता
उस्तै छ दमन हामीलाई उस्तै छ फेरि व्यवस्था
उस्तै छ हामीलाई पिरलो ....

 जनगायक जीवन शर्माको गीतको प्रसङ्ग ल्याउनु भयो, उहाँले स्थापना गर्नु भएको रक्तिम सांस्कृतिक अभियानबारे बताइदिनु होस् न । यो संगठन कहिले स्थापना भयो ? यसको उद्देश्य के हो ? यो कसरी सञ्चालन हुँदै आएको छ ?

हजुर, रक्तिम सांस्कृतिक अभियानको स्थापना २०४३ साल चैत्र २६ गते भएको हो । जनसंगीत प्रति चासो र अभिरुची राख्ने देशका विभिन्न भागबाट अध्ययन गर्न आएका विद्यार्थीहरूको काठमाडौंको घण्टाघर मुनि भएको जमघटका बीच यो सांस्कृतिक संगठनको स्थापना गरिएको थियो । जनगायक जीवन शर्माको विशेष पहल कदमीमा भएको सो जमघटमा संगठनको नाम रक्तिम राख्ने प्रस्ताव एवयं जीवन शर्माले नै गर्नु भएको थियो । उक्त भेलाले संगठनको नाम ‘रक्तिम सांस्कृतिक अभियान’ तय गर्नुका साथै जीवन शर्माकै नेतृत्वमा ९ सदस्यीय केन्द्रीय समिति पनि बनाएको थियो । जसमा राधा बुढाथोकी, सुजाता गुरुङ, कृष्ण भण्डारी, झोकेन्द्र थापा लगायतका साथीहरु सदस्य रहनु भएको थियो ।

रक्तिम सांस्कृतिक अभियानको स्थापना चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा गरिएको थियो । त्यो बेला नेपालमा पनि चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको राप र ताप कायमै थियो । रक्तिमको स्थापना त्यही महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मर्म र स्पीरिटलाई आत्मसाथ गर्दै नेपालमा जनसांस्कृतिक  अभियानलाई अगाडि बढाउने स्पष्ट उद्देश्यका साथ गरिएको थियो । रक्तिम सामन्तवादी, रुढीवादी र साम्राज्यवादी छाडा संस्कृतिका विरुद्ध जनसंस्कृतिलाई अगाडि  बढाउन खोलिएको एक सांस्कृतिक संगठन हो । यसको आफ्नै विधि र विधान छ, जस अन्तर्गत रहेर यो संचालित हुँदै आएको छ ।

रक्तिमकै नामबाट अर्को समूह पनि क्रियाशील हुन खोजेको देखिन्छ । रक्तिममा विभाजन कसरी आयो ? यसबारे प्रकाश पारिदिनुहोस् न ?

होइन, रक्तिम सांस्कृतिक अभियान विभाजित भएको छैन । रक्तिमको विधि विधान र वर्गीय पक्षधरतामा अडिक रहेर संस्थागत जुन संरचना हो त्यसलाई हामीले अगाडि बढाइरहेका छौं । रक्तिमको नामबाटै गतिविधि अघि बढाउन खोजेको अर्को समूहको तपाईले जुन प्रसङ्ग उठाउनु भयो त्यो रक्तिमको विधि विधान र पुरानो संरचना बाहिरबाट गठन गरिएको संगठन भन्दा पनि एक ‘भजनमण्डली’ हो । सर्वहारा वर्गीय पक्षधरता रक्तिमको संगठनको मुलकडी हो । आम शोषित पीडित जनताको मुक्तिका निम्ति रक्तिमले आफ्ना गीत\संगीत, कला र साहित्यका माध्यमबाट योगदान पु¥याउँदै आएको यहाँहरु सबैलाई विदितै छ । सर्वहारावर्गीय पक्षधरताबाट विमुख बनाउन खोज्ने  हरेक क्रियाकलापहरु रक्तिमका लागि अस्वीकार्य छन् । बुर्जुवा सत्तामा पुग्नकै लागि, आफ्ना व्यक्तिगत महत्वकांक्षाहरु पूरा गर्नका निम्ति, रक्तिमको कला, साहित्य र गीत\संगीतलाई कुनै नेता वा राजनैतिक समूहले दुरुपयोग गर्न खोज्छ भने त्यो हामीलार्ई किमार्थ स्वीकार्य छैन । रक्तिम वर्गशत्रुलाई बलियो बनाउँदै सत्तामा पु¥याउन मद्दत गर्न खोलिएको सांस्कृतिक संगठन होइन । त्यसकारण रक्तिमकै नामबाट देखा परेको त्यो अर्को संगठनलाई रक्तिमको नाम लिने कुनै अधिकार छैन । उनीहरुमा अलिकति पनि लाजसरम, नैतिकता र इमान्दारिता बाँकी छ भने उनीहरुले रक्तिमको नामबाट गतिविधि गर्न अब छोड्नु पर्छ । नाम रक्तिम राख्ने अनि काम चाहिं वर्गशत्रुको चुनाव प्रचारप्रसार गरी उसलाई जिताएर सत्तामा पु¥याउने ? यसरी उनीहरुको नाम र काममा पटक्कै मेल खाएको छैन । हामी चाहान्छौं उनीहरुले आफ््नो नाम सच्चाउन, होइन भने हामीले कुनै दिन यसको कानुनी उपचार  पनि खोज्ने समय नआउला भन्न सकिंदैन ।

रक्तिमको संगठनमा तपाईहरु नै आधिकारिक हो भन्ने ठोस आधारहरु के के हुन् ? दुईवटा रक्तिम देखा पर्ने स्थिति कसरी सिर्जना भयो ? ती घटनाक्रमहरुबारे अलि प्रष्ट पारिदिनुहोस न ?

म तपाइलाई फेरि पनि स्पष्ट पार्न चाहान्छु –रक्तिमभित्रैबाट अन्तरविरोध पैदा भएर यो संगठन विभाजित भएको होइन । रक्तिमको पहिलेदेखिको जुन समिति थियो अहिलेको म नेतृत्वको समिति त्यही पुरानो समितिको निरन्तरता हो । संगठनको विधि, विधान अनुरुप यसका बैठक र भेलाहरु हुँदै आएका छन् र केन्द्रीय समितिमा आवश्यकता अनुसार जिम्मेवारी  हेरफेरि हुँदै आएको छ । जसअनुसार रक्तिमको ३६ औं स्थापना दिवसको पूर्व सन्ध्यामा २०७८ चैत्र २४ र २५ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले वर्तमान केन्द्रीय  समिति निर्वाचित गरेको हो ।

रक्तिमको चौथो राष्ट्रिय सम्मेलन (२०७५ फागुन १,२ र३) को उद्घाटन हुनुभन्दा दुई दिन अघि मात्र २०७५  माघ २८ गते नेकपा  (मसाल)को नेतृत्वले रक्तिमका अध्यक्ष जीवन शर्मालाई पदबाट  हटाएर मात्र सम्मेलनको कार्यक्रम अगाडि बढाउन ठाडो निर्देशन दिएको थियो । तर रक्तिम केन्द्रीय समितिको बैठकले उक्त निर्देशनलाई अस्वीकार ग¥यो । जसले रक्तिमलाई जन्मायो, हुर्कायो, जसको सम्पूर्ण जीवन जनसंगीतमै समर्पित छ, जसका गीत÷संगीतबाट आकर्षित भएर नै धेरै मानिस नेकपा (मसाल) मा संगठित भएका छन्, जसले संगठनको विधि विधान र अनुशासन विपरीत कुनै काम गरेकै छैन उसैलाई विना कारण अपमानजनक तरिकाले पदबाट हटाउन निर्देशन दिने मसाल नेतृत्वको उक्त निर्देशन वास्तवमा निन्दनीय नै थियो । रक्तिम संगठनलाई छिन्नभिन्न पार्ने बदनियतबाट दिइएको निर्देशन थियो त्यो । जनगायक जीवन शर्माको बढ्दो लोकप्रियताबाट अत्तालिएर नै मसाल नेतृत्वले  त्यो निर्देशन दिएको थियो । त्यसका पछाडिको मसाल नेतृत्वको स्वार्थ हामीले बुझेका थियौं । आफ्नो व्यवसायिक स्वार्थपूर्तिका लागि मसाल नेतृत्वको चाकडी गरिरहेको र दरिलो भेटी चढाउँदै आएको व्यक्तिलाई संगठनमा जवरजस्त स्थापित गराउन मसाल नेतृत्वले त्यो  निर्देशन दिएको थियो । रक्तिमको केन्द्रीय समितिले त्यसलाई दृढतापूर्वक अस्वीकार ग¥यो । पछि अध्यक्ष जीवन शर्माले आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुभयो । रक्तिम केन्द्रको बैठकले अध्यक्ष जीवन शर्माले नेपालको प्रगतिशील जनसंगीतको अभियानमा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँलाई अध्यक्ष पदबाट ससम्मान विदा दिने निर्णय ग¥यो । ती पुराना निर्णयका माइनटहरु त्यतिबेलाको केन्द्रीय समितिको ९५ प्रतिशत संख्या अहिले पनि हामी सँगै सुरक्षित छ । कानुनी वैधानिकताका प्रमाणहरु पनि हामीसँगै छन् । संस्थापक अध्यक्ष जीवन शर्माको साथ र समर्थन पनि हामीलाई नै छ । त्यसकारण कुन रक्तिम आधिकारिक भन्ने त प्रश्न नै गर्नु परेन । हामी नै वैधानिक र आधिकारीक हौं । रक्तिमको त्यो केन्द्रीय  समितिसँग कुनै सरोकार नै नराखी मसाल नेतृत्वले आफ्ना केही दास र चाकडीबाजहरुलाई जम्मा गरी रक्तिमको अर्को संगठन खोलेको घोषणा गरेका रहेछन् । तर त्यो पूर्णतया  अवैधानिक र नक्कली रक्तिम हो ।  त्यो त मसाल नेतृत्वको ‘भजनमण्डली’ मात्र हो । 

 नेकपा (मसाल) भित्र चलेको पछिल्लो अन्तरसंघर्षलाई सांस्कृतिक मोर्चाको तर्फबाट हेर्दा कस्तो देख्नु हुन्छ ?

कुनै पनि संशोधनवाद बाजा बजाएर, तिथि मिति तोकेर घोषणा गरेर आउँदैन । नेतृत्वको दिमागमा संशोधनवादी विचार आइसकेपछि उसले त्यो मन्द विषलाई पार्टी संगठनभित्र क्रमशः लागु गर्दै जाने रहेछ । मसाल नेतृत्वले पनि पार्टीभित्र त्यही ग¥यो । नेकपा (मसाल) भित्र चलेको पछिल्लो अन्तरसंघर्ष –क्रान्तिकारी विचार र दक्षिणपन्थी विचार बीचको अन्तरसंघर्ष थियो । हामी त्यो संघर्षदेखि शुरु देखि नै परिचित थियौं । मैले माथि रक्तिम केन्द्रमाथि मसाल नेतृत्वले गरेको निकृष्ट व्यवहारको जुन चर्चा गरे त्यो पनि त्यही अन्तरसंघर्षकै एक पाटो थियो । रक्तिमले आजसम्म जे जति कला, साहित्य र गीत, संगीत निर्माण गरेको छ , त्यसले क्रान्तिकारी विचार समूहलाई नै मद्दत पु¥याउँदथ्यो । पार्टीभित्र दक्षिणपन्थी विचार लाद्नका निम्ति मसाल नेतृत्वले आफ्नो बाधक रक्तिम मोर्चालाई देख्यो र नै पहिलो आक्रमण रक्तिममाथि गरेको थियो । रक्तिमले पार्टी संगठनभित्र चल्दै आएको वैचारिक संघर्षमा सधै आफूलाई क्रान्तिकारी विचारको पक्षमा उभ्याउँदै आएको थियो । मसाल नेतृत्वले पार्टीलाई दक्षिणपन्थी लाइनमा लैजानका निम्ति धेरै पहिल्यैदेखि काम गरिररहेको थियो । पार्टी संसदवादको गोलचक्करमा नराम्रोसँग फसिसकेको थियो  । तर त्यसका विरुद्ध मसाल भित्रका क्रान्तिकारी विचार पक्षधर नेता-कार्यकर्ताहरुले भीषण संघर्ष चलाइरहेका थिए । दक्षिणपन्थी भासमा डुब्दै गैरहेको मसाल नेतृत्वलाई सुधार्न उहाँहरुले निकै कोशिस गरेको देखिन्छ । तर मसाल नेतृत्व आफ्नो दक्षिणपन्थी नीति सच्चाउन तयार देखिएन । उसलाई क्रान्तिकारी विचार र सिद्धान्त भन्दा पनि संसदभित्रको एक दुई सिट नै प्रिय लाग्यो । आठौं महाधिवेशनबाट नीतिगत रुपमा दक्षिणपन्थीको औपचारिक बाटो समाएको मसाल नेतृत्वले गत मंसिरमा सम्पन्न संसदीय चुनावसम्म आइपुग्दा त्यो नीतिलाई व्यवहारमै लागु गरेर देखायो । दस्तावेजमा आफैले “वर्गशत्रु”  घोषणा गरेको पार्टीसँग चुनावी   तालमेल ग¥यो । अहिले त्यही “वर्गशत्रु” को निगाहबाट उसलाई प्रतिनिधि सभामा एक प्रदेशसभामा एक र राष्ट्रिय सभामा एक सिट प्राप्त भएको छ । दक्षिणपन्थी भाषमा डुबेको मसाल नेतृत्व सच्चिन तयार नभएपछि मसालभित्रका क्रान्तिकारी विचार पक्षधर नेता कार्यकर्ताहरुले विशेष महाधिवेशन नै गरेर पार्टी पुनर्गठन गरेका छन् । आठौं महाधिवेशनका दक्षिणपन्थी गलत नीतिहरु सच्चाएका छन् । पार्टीको नाम अब नेकपा (मशाल) बनेको छ । आशा गराै‌ नेपालमा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अब गठन, पुनर्गठन र एकीकरण हुँदै नयाँ गतिमा अगाडि बढ्ने छ ।    

भनेपछि अहिले रक्तिम सांस्कृतिक अभियान नेकपा(मशाल) सँग नजिक रहेछ होइन ?

निसन्देह रुपमा हाम्रो वैचारिक सामिप्यता नेकपा (मशाल) सँग नै छ । तर रक्तिमले आफ्नो सांगठानिक यात्रालाई अलि फराकिलो रुपमा अगाडि बढाउन खोजिरहेको छ । रक्तिम प्रगतिशील कला, साहित्य र गीत संगीत प्रति समर्पित प्रगतिवादी साहित्यकार कलाकारहरुको साझा  संगठन हो । सामन्तवादी तथा साम्राज्यवादी  कला संस्कृतिको विरुद्धमा रहेका, जनपक्षीय  साहित्यकार, कलाकारहरु विशेष गरी महान् सर्वहारा सांस्कृतिक क्रान्तिका पक्षधर प्रगतिशील साहित्यकार कलाकार यसमा संगठित हुन सक्नेछन् ।

रक्तिम सांस्कृतिक अभियानले अहिले प्रगतिशील कला, साहित्य, गीत संगीत र सगठनको क्षेत्रमा के कस्ता कामहरु गर्दैछ नि ?

हामीले अहिलेसम्म गरेका कामहरु सबैका अगाडि प्रष्ट नै छन् ।  जनतालाई सचेत, जागरुक र आन्दोलित पार्ने अभियानमा रक्तिम निरन्तर समर्पित छ । देशमा भएका हरेक राजनैतिक परिवर्तनहरुमा रक्तिमका गीत संगीत र साहित्यहरुले उर्जाशील योगदान पु¥याउँदै  आएको तथ्यदेखि शायद कोही पनि अनविज्ञ नहोला । स्थापनाको यो ३६ वर्षको अवधिमा देश तथा विदेशमा रहेका नेपालीहरुका बीचमा रक्तिमले सयौं अभियानहरु संचालन गरेको छ । हजारौं गीतहरु प्रकाशित भएका छन् । कथा, कविता, गजलका संग्रहहरु रक्तिमकै साथ सहयोगमा विभिन्न साहित्यकारहरुले प्रकाशित गर्नु भएको छ ।  जनगिती यात्रा भाग १२ सम्म प्रकाशित भएको छ । गिती एल्वमहरु मात्र झण्डै तीन दर्जन प्रकाशित भैसकेका छन् । गीतिनाटक ठूली र पुजा, सडक नाटक कुर्सीको खेल, एकांकी नाटक कालो हतियार, गीतिनाटक जवाफ प्रकाशित छन् । साहित्य, कला र संस्कृतिका विभिन्न विषयहरुमा केन्द्रित  रहेर सयौं अन्तक्र्रियाहरु गरिएको छ ।

स्थगित चौथो राष्ट्रिय सम्मेलन (२०७५ फागुन १, २ र ३) पछि पनि हामीले बागलुङको हाँडीकोट महोत्सवमा बृहत् सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्र्यौं । नवलपुरको अमरापुरीमा विशाल विविध सांस्कृतिक कार्यक्रम गर्यौं । रक्तिम स्थापना दिवसका अवसरमा चैत्र २६ गते प्रत्येक वर्ष कार्यक्रम गर्दै आएका छौं । तिहारका बेला देउसी–भैलो कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यसपटकको दिपावलीमा रक्तिमको केन्द्रीय टोलीले संस्थापक अध्यक्ष जीवन शर्मा कै नेतृत्वमा राजधानी काठमाडौंमा देउसी भैलो कार्यक्रम प्रस्तुत ग¥यो । प्रत्येक वर्षका तीज पर्वको सेरोफेरोमा रक्तिमकी उपाध्यक्ष जनगायिका निलिमा पुनले तिजी गीति एल्वम प्रकाशित गर्दै आउनु भएको छ, त्यसमा रक्तिमले सक्दो साथ सहयोग गर्दै आएको छ । कोरोना कालको कहालीलाग्दो समयमा समेत हामीले जुम मार्फत् कार्यक्रमहरु दिएका छौं । जनगायक जीवन शर्माको युटुव च्यानलबाट रक्तिमका दर्जनौं गीतहरुलाई भिडियो बनाई सार्वजनिक गरिएको छ । गणतन्त्र दिवसका अवसरमा पोखरामा अन्तक्र्रियात्मक सांस्कृतिक कार्यक्रम दिइएको छ । यसबीचमा केही नयाँ गीतहरु पनि प्रकाशित भएका छन् । केही समय अघि मात्र माया हमालको शब्द र जनगायक जीवन शर्माको संगीत अनि स्वरमा “गरिब जनता”  बोलको गीत प्रकाशित  भएको छ । केही दिन अघि मात्र रक्तिम सांस्कृतिक अभियानले नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपा (बहुमत) निकटका सांस्कृतिक संगठनहरु अखिल नेपाल जनसांस्कृतिक महासंघसँग मिलेर राजधानीमा संयुक्त रुपमा “कम्युनिस्ट आन्दोलनको आगामी दिशा” विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रगतिशील, चेतनामूलक र देशप्रेमको भाव बोकेका गीतहरु जसले लेखेको भए पनि त्यसको समीक्षा लेखेर प्रचारप्रसार गर्ने काम समेत हामीले गर्दै आएका छौं । अब छिट्टै हामी रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको बैठक बस्न गैरहेका छौं । त्यो बैठकबाट, प्रशिक्षण, सांस्कृतिक अभियान र संगठन निर्माण एवं विस्तारका विस्तृत कार्यक्रमहरु बनाई हामी अगाडि बढ्ने छौं । 

नेपालमा प्रगतिशील, क्रान्तिकारी सांस्कृतिक आन्दोलन समेत विभिन्न चिरामा विभक्त भएको देखिन्छ, यसलाई एकै सुत्रमा बाध्न के छन् रक्तिमसँग त्यस्ता योजनाहरु ?

तपाईले उठाउनु भएको यो निकै गम्भीर प्रश्न हो । देशमा साम्राज्यवादी तथा दलाल पुँजीवादीहरुको उपभोक्तावादी संस्कृतिको आक्रमण बढ्दो मात्रामा छ । यस्तो बेलामा जनपक्षीय प्रगतिशील कला साहित्य र संस्कृतिका पक्षधर शक्तिहरु एकीकृत हुनु निकै जरुरी छ । नेपालको कम्युनिस्ट आन्दोलनसँगै प्रगतिशील सांस्कृतिक संगठनहरु पनि विभिन्न चिरामा विभक्त छन् । यस्तो हुनु निकै दुःखदायी कुरा हो । रक्तिम यस विषयमा निकै गम्भीर छ । क्रान्तिकारी सांस्कृतिकर्मीहरु एकै सुत्रमा बाँधिनुपर्छ भन्ने स्पष्ट मान्यता रक्तिमले राख्दछ । त्यसका लागि पार्टी संगठनको संकुचित घेरा भन्दा अलि बाहिर निस्किएर अलि बृहत्तर रुपमा सबैको सोच्नु पर्छ भन्ने हामीलाई लाग्दछ । तर यसको अर्थ नीति सिद्धान्त र विचारको नियन्त्रणबाट बाहिर निस्कनु पर्छ भन्ने पटक्कै होइन । बरु नीति, सिद्धान्त र विचार मिल्नेहरुले अलग अलग चुल्हो बाल्नु हुँदैन भन्ने चाहिं हो । सम्पूर्ण रुपमा विचार मिल्दैन भने पनि जुनजुन विषयमा मतऐक्यता रहन्छ ती विषयहरुमा कार्यगत एकता  गरेर संयुक्त रुपमा कार्यक्रमहरु गर्दै जानु पर्दछ । त्यसले संगठनहरु बीचको एकीकरणलाई पनि आधार तयार पार्दै जाने छ । 

देशमा साम्राज्यवादी तथा विस्तारवादी  हस्तक्षेप निकै बढ्दै गैरहेको छ । देशको राष्ट्रिय संस्कृति संकटमा पर्दै  गैरहेको छ । यस्तो अवस्थामा प्रगतिशील सांस्कृतिक  संगठनहरुले साम्राज्यवाद विरोधी बृहत् सांस्कृतिक मोर्चा निर्माण गरेर सांस्कृतिक क्षेत्रबाट प्रतिरोधमा उत्रनु पर्दछ । देशमा त्यसप्रकारको मोर्चाको निर्माण नितान्त जरुरी देखिएको छ । प्रगतिशील सांस्कृतिकर्मीहरुको साझा मञ्च निर्माणमा हामी निकै गम्भीर छौं । त्यसप्रकारको मंच निर्माणका लागि केही पहलकदमीहरु पनि अगाडि बढाइएका छन् । प्रगतिशील सांस्कृतिक आन्दोलनका पुराना हस्तीहरुदेखि नयाँ सर्जकहरुलाई समेटेर “संगीत  अभियात्रा”  नामक साझा मञ्च गठन भएको छ । उक्त मञ्च निर्माणलाई स्वागत गर्दै रक्तिमका केही साथीहरु त्यसमा सामेल समेत भएका छौं । संगीत अभियात्राले, संगीत दिवस पुष्पलाल स्मृति दिवश र जेवी टुहुरे स्मृति दिवसका अवसरमा  गरी राजधानीमा तीन कार्यक्रम प्रस्तुत गरिसकेको छ । जनपक्षीय संगीतकर्मीहरुको सो मञ्चको गठन प्रगतिशील सांस्कृतिककर्मीहरुको साझा मञ्च निर्माणमा एक महत्वपूर्ण उपलब्धी हो भन्ने हामीलाई लाग्दछ । 

प्रगतिशील सांस्कृतिक आन्दोलनमा तपाई कहिलेदेखि कसरी संगठित हुनुभयो ? आफ्नो साहित्यीक यात्रा र रक्तिममा संगठित रहेर गर्नु भएको सांगठनिक यात्राको बारेमा पनि बताइदिनुहोस् न ?

कला,साहित्य र गीत संगीत प्रति अभिरुचि नराख्ने मान्छे शायद नै कोही होला । गीत, संगीत प्रति बाल्यावस्थादेखि नै मेरो पनि अभिरुचि थियो ।  २०४१\४२ सालतिरको कुरा हो–त्यो बेला म त्यस्तै १२\१३ वर्षको थिए र रोल्पाको थवाङमा अध्ययनरत थिए । मेरो बुबाले त्यहाँ अध्यापन गर्नु हुन्थ्यो र उहाँकै साथमा म त्यहाँ पुगेको थिए । त्यहाँ कुलानन्द गिरी सरले मलाई पहिलो पटक कलाकार  टोलीमा समेट्नु भएको थियो । त्यतिबेला रोल्पाबाट कलाकार टोलीको प्रतिनिधित्व गरेर दाङ घोराही र बाँकेको नेपालगञ्जसम्म पुगेर हामीले प्रतियोगिताहरुमा गीत नाँच प्रस्तुत गरेका थियौं । त्यो बेला व्यवसायिक तथा लोक गीतहरु नै गाउने नाँच्ने गरिन्थ्यो ।

मलाई रक्तिमको सांस्कृतिक कार्यक्रम पहिलो पटक  २०४६ सालको वैशाखमा हेर्ने अवसर मिलेको थियो । स्याङजाको गल्याङमा भएको उक्त कार्यक्रम जीवन शर्मा सहितको रक्तिमको केन्द्रीय टोलीले प्रस्तुत गरेको थियो । त्यही कार्यक्रमबाट प्रभावित भएर नै म पनि प्रगतिशील सांस्कृतिक आन्दोलनमा गाँसिन पुगेको थिए । २०४७ सालको जेठ महिनामा म पहिलो पटक रक्तिम सांस्कृतिक अभियानमा संगठित भएको थिए । रक्तिम सांस्कृतिक अभियान स्याङजा जिल्ला समितिको सदस्य हुँदै अध्यक्षसम्मको जिम्मेवारमिा रहेर २०४७ देखि २०५२ सम्म म स्याङ्जा जिल्लामा संचालित सांस्कृतिक अभियानहरुमा क्रियाशलि रहे । रक्तिमको केन्द्रीय टोलीसँग म २०५० सालमा जोडिन पुगे भने २०५२ सालको चैत्रदेखि रक्तिमको केन्द्रीय समितिमा आए । २०५२ चैत्रदेखि म रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको कोषाध्यक्ष, सचिव र सल्लाहकार हुँदै  हाल अध्यक्षको जिम्मेवारीमा आइपुगेको छु । 

रक्तिमको केन्द्रीय समितिमा आइसकेपछि सांस्कृतिक कार्यक्रमको सिलसिलामा कहाँ–कहाँ पुग्नु भयो नि ?

रक्तिमको कार्यक्रमका सिलसिलामा म नेपालका झण्डै ७० जिल्ला पुगेको छु । भारत प्रवासका प्रायः सबै राज्यहरुमा पुगिएको छ । रक्तिमकै कार्यक्रम लिएर युएई र जापान सम्म पुगिएको छ । एक प्रगतिशील सांस्कृतिककर्मीको नाताले देशका राजनैतिक दल र तीनका नेताहरुलाई के सुझाव दिन चाहानुहुन्छ ?

आखिर सबै कुराको छिनोफानो गर्ने भनेको राजनीतिले नै हो । राजनीति नै सङलो हुन सकेन भने देशमा सबै कुराहरु धमिलिन पुग्छन । अहिले हाम्रो देशमा भएको पनि त्यही हो । जिम्मेवार राजनैतिक दलहरू आफ्ना नीति सिद्धान्त र आदर्शबाट च्यूत हुँदै गएकै कारण देशमा यो बेथिति बढ्दै गएको हो । देशको राष्ट्रियता र स्वाधिनता भन्दा ठूलो पार्टी हुन सक्दैन । सत्ता स्वार्थका लागि देशको राष्ट्रियता र स्वाधिनतालाई नै दाउमा राख्ने गल्ती ठूला भनिने दलहरुले गर्दै आएका छन् । त्यो गल्ती अब उनीहरुले दोहोर्याउनु हुँदैन । 

प्रायः पार्टीहरूले कलाकार साहित्यकारहरुलाई आफू सत्तामा पुग्ने भर्याङको रुपमा मात्रै प्रयोग गर्दै आएको देखिन्छ । जनचेतना जगाउनमा, पार्टी नीतिको प्रचारप्रसार गर्नमा, आन्दोलनहरुमा उर्जा भर्न कलाकार साहित्यकारहरुको अहम् भूमिका रहँदै आएको छ । तर तिनै कलाकार साहित्यकारहरुका समस्या प्रति राजनैतिक दलहरू त्यति गम्भीर बनेको देखिंदैन । समाजलाई सांस्कृतिक रुपबाट रुपान्तरण गर्नका लागि कलाकार साहित्यकारहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ । राजनैतिक दलहरुको ध्यान सांस्कृतिक विषयहरुमा कम जाने गरेको छ । सबैभन्दा पहिला त राजनैतिक दलका नेताहरु नै सांस्कृतिक रुपमा रुपान्तरण हुनु जरुरी देखिन्छ । कुरा क्रान्तिकारी गर्ने, जनपक्षीय गर्ने तर व्यवहार चाहिं उही सामन्ती चिन्तन अनुरुपकै देखिदै आएको छ प्रायः राजनैतिक दलका नेताहरुमा यी सबै विषयमा राजनैतिक दलहरू गम्भीर बनुन भन्ने सुझाव दिन चाहान्छु । 

अन्तिममा हामीले सोध्न भुलेको तपाईले भन्नै पर्ने त्यस्ता कुनै विषय छन कि ?
होइन प्रायः सबै विषयहरु माथि आइसकेका छन् । हामीलाई आफ्ना विचारहरु राख्ने अवसर प्रदान गर्नु भएकोमा तपाई र सम्पूर्ण विम्ब अनलाइन परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु । जनपक्षीय विचार र समाचारहरु तपाईहरुको संचारमाध्यममा यसैगरी प्राथमिकतामा परिरहनु । म तपाईहरुको संचारसंस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । 

२०७९ पुष ४ १९:०९ बजे

प्रतिक्रिया