सवारी कर्जा महंगो भएको भन्दै सवारीसाधन व्यवसायीहरुले दिए धर्ना

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २२ १४:५६ बजे
सवारीसाधन व्यवसायीहरु

काठमाडौं । सवारीसाधन व्यवसायीहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन् । बिहीबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजानमा अटो व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्नेबाधा परेको भन्दै विरोध गरेका छन् । 

अटो व्यवसायीहरुले अगाडि सारेका मागहरु सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सवारी आयात गर्न खुला भएपनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने बताएका छन् । 

गाडी आयात खुला गरेपनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशतमात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको भन्दै उनले नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनुपर्ने र ८० प्रतिशत फाइनान्सिङ  गरिनु पर्ने माग राखेका छन् । 

अध्यक्ष थापाले ब्याजदर उच्च रहेको र ५० प्रतिशत मात्रै फाइनान्सिङ हुने अवस्थामा गाडी बिक्री नै नहुने बताएका छन् । अध्यक्ष थापाले शान्तिपूर्ण धर्ना तथा दबाव मुलुक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीहरुका मागलाई सम्बोधन नगरे थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

राष्ट्र बैंकले बनाएका नीतिहरु व्यवसायीहरुले गरिखान दिन खालको नभएको भन्दै उनले बजारमा तरलता अभाव, ब्याजदर वृद्धि जस्ता समस्या भएको अवस्थामा सहुलियत दिनुपर्ने ठाउँमा व्यवसाय गर्ने वातावरण नदिएको बताएका छन् । 

राष्ट्र बैंकले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई १५० प्रतिशत पुर्‍याएको छ । व्यवसायीले पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन् । कोभिड(१९ तथा आयात प्रतिबन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने अटो व्यवसायीहरुको माग रहेको छ । 

नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्न पनि उनीहरुको माग छ । शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने पनि माग अघि सारिएको छ ।

सिडी रेसियोलाई पुनरवलोकन गर्नुपर्ने, बैकहरुबाट सवारी साधनको हायर प्रचेज लोन स्वीकृत भएपश्चात जारी गरिने डेलिभरी ओर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारीसाधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने  उनिहरुको माग रहेको छ । 

जसले कर तिर्छ, उसैलाई पेल्छ, बैंकले अपमान गर्छ, सरकार ब्याजदर कहिले घट्छ’ जस्ता नारा लेखेका प्लेकार्ड बोकेर व्यवसायी आन्दोलित भएका छन् ।

२०७९ मंसिर २२ १४:५६ बजे

प्रतिक्रिया