दर्शन राजनीति विचारधारा विना कुनै पार्टी हुन सक्दैन, रास्वपा पार्टी नभएर जमात हो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १४ १४:५३ बजे
लाल बहादुर जाग्री

 काठमाडौं । विघटित राष्ट्रिय जनमोर्चा समन्वय समितिका महासचिव रहनु भएका लालबहादुर जाग्री, नेकपा (मशाल) को गत असोजमा सम्पन्न विशेष महाधिवेशनबाट पोलिट्ब्युरो सदस्य निर्वाचित हुनु भएको छ । जाग्री पेशाले अधिवक्ता भए पनि उहाँको परिचयको मुख्य पाटो राजनीतिकर्मी नै हो । जाग्रीले २०४७ मा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति एवंम सांगठनिक यात्राको प्रारम्भ गर्नु भएको थियो । २०४९ मा एमालेभित्र बहुदलीय जनवाद र नयाँ जनवादको विवाद हुँदा उहाँले नयाँ जनवादको पक्षमा आफ्नो मत प्रकट गर्नु भएको थियो । सिद्धनाथ बहुमुखी क्याम्पस , कञ्चनपुर (हाल सुदूर पश्चिम विश्वविद्यालय) मा लालबहादुर जाग्री २०५३ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सचिवमा निर्वाचित हुनु भएको थियो ।

एमालेले बहुदलीय जनवादको लाइन लिनु, राष्ट्रघाती महाकाली सन्धिमा सामेल हुनु जस्ता विषयमा असहमति राखेर २०५४ सालतिर सिद्धनाथ बहुमुखी क्याम्पसमा निर्वाचित स्ववियुको सिंगै टिम एमाले परित्याग गरेर नेकपा (मसाल) मा आबद्ध भएको थियो । जाग्री, अखिल (छैठौं) को सुदूरपश्चिम क्षेत्रीय  समितिको सचिव हुँदै २०५९ मा जनमोर्चा डडेल्धुराको अध्यक्ष हुनुभयो । २०६४ देखि २०७८ सम्म जाग्री राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । जाग्रीले डडेल्धुराको जोगबुढामा सेनाको  हिरासत र यातना समेत भोग्नु भएको थियो ।

२०६२ मा राजा ज्ञानेन्द्रको नगर निर्वाचन बहिष्कार २०६२\२०६३ को जनआन्दोलनमा उहाँले २ पटक २ महिना जेल सजाय समेत भोग्नु भएको थियो । जाग्री हाल वकिलहरूको साझा संगठन बार एसोसिएसन डडेल्धुराका अध्यक्ष समेत हुनुहुन्छ । मनु वि.क.ले उनै राजनीतिकर्मी, अधिवक्ता लालबहादुर जाग्री सँग समसामयिक राजनीति र नेकपा (मशाल) का बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ जाग्रीसित गरिएको सोही कुराकानीका सम्पादित अंशहरू : 

 मङ्सिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भयो । यो निर्वाचनको कसरी मूल्यांकन गर्नु हुन्छ ?

यो निर्वाचनबाट विजयी भएका दल वा उम्मेदवारहरूले प्राप्त मताधिकार कुनै एजेण्डा (विचारराजनीति) अनुमोदन गरेको नभइ प्राविधिक मत मात्र हो । यो निर्वाचनमा ६१ प्रतिशत मत खसेको भनी निर्वाचन आयोगले भने पनि स्वतत्र रुपका निर्वाचन पर्यवेक्षकले ४० प्रतिशतसम्म खसेको आकलन गरेका छन् । निर्वाचन आयोगको कुरालाई विश्वास गर्ने हो भने पनि ३९ प्रतिशत मतदाताले निर्वाचनमा मतदान गरेनन् । अघिल्लो प्रतिनिधिसभामा ६९ प्रतिशत मत खसेको थियो । अहिले हामीले मात्र निर्वाचन वहिष्कार गरेका छैनौ कि स्वयं निर्वाचन आयोगकै तथ्यांक अनुसार पनि ३९ प्रतिशत मतदाताले यो निर्वाचन बहिष्कार गरेको छन् । यो निर्वाचनमा दलको कार्यकर्ता, कार्यकर्ताका नातेदार, आफन्तहरु र आ‌शिक रुपमा जनताले मतदान गरेपनि त्यो अत्यन्त निरासाजनक सहभागी हो । यसले यो व्यवस्था, यसका संचालक दल र नेता कमजोर राजनीतिक धरातलमा उभिएका देखिन्छन् । यदि सरकारले ३ लाख सुरक्षाकर्मी परिचालन र राज्यकोषबाट २० अर्व रुपियाँ खर्च नगरेको भए जनताको आंशिक उपस्थिति पनि हुने थिएन । केवल पार्टी कार्यकर्ता, दलका नेता र सुरक्षाकर्मीले मात्र मतदान गर्ने अवस्था सबै ठाउँमा आउने थियो । अहिले कतिपय मतदान केन्द्रमा सेना, प्रहरी गएर मतदातालाई मत हाल्न बाध्य गराएको कुरा आएको छ । कास्कीमा मतदाताले मतपेटीका नै फुटाले , १५ स्थानमा मतदान स्थगित भएको छ । विभिन्न ठाउँमा धाँधली भयो भनेर निर्वाचनमा सहभागी दलहरुले नै भनिरहेका छन् । बाजुरामा सत्तापक्षले धाँधली गरेर निर्वाचन स्थगित भएको छ भने एकजनाको प्रहरीले गोली हानी र अर्को एक जना काँग्रेसले कुटपिट गरी मारेका छन् । समग्रमा सत्ताधारीहरुको चुनावी नौटङ्गी पुरा भएपनि यो मताधिकार दिगो, राजनीतिक विचारयुक्त र जनविश्वासिलो छैन ।

तपाईंको पार्टी नेकपा (मशाल) ले चुनाव बहिस्कार गर्ने घोषणा गरेको थियो । बहिष्कार सम्बन्धी के कस्ता कार्यक्रम गर्नु भयो ?

देशभरी संयुक्त र एकल रुपमा बहिस्कार सभा, मशाल जुलुस, कोणसभा, पर्चा वितरण, घरदैलो कार्यक्रम भएका छन् । सामाजिक सन्जालबाट व्यापक रुपमा बहिष्कारको प्रचार गरिएको छ । कैलाली कन्चनपुरमा एकलरुपमा प्रचा वितरण घरदैलो, कार्यक्रम सम्पन्न गरिएको छ । डडेल्धुराको हकमा हाम्रो पार्टीले मात्र ७ वटा पालीका मध्ये ६ वटा पालीकामा पर्चा वितरण, घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिमका ७ वटै पहाडी जिल्लामा सुनिने गरी , एफ.एमहरु मा अन्तवार्ता बहिष्कार सम्बन्धी जिङगल विज्ञापनको रुपमा प्रसारण गरियो । डडेल्धुराका तीन एफएमहरुबाट नेकपा (मशाल) ले तयार गरेको चुनावबहिस्कार सम्बन्धी जिङगल गीत लगातार बनाइएको थियो । बहिस्कारको कार्यक्रम गर्ने समय हामीलाई अत्यन्त कम भयो । यदि ६ देखि ३ महिनाको तयारी गरि बहिष्कार कार्यक्रम गर्ने पाएको भए अझ प्रभावकारी तरिकाले गर्न सकिने थियो ।

तपाईहरुको निर्वाचन बहिस्कारको प्रभाव कस्तो रह्यो त ?

डडेल्धुरा पाँच दलीय गठबन्धनका नाइके एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र पनि रहेको जिल्ला हो । निर्वाचन अवधिभरी शेरबहादुर देउवाले डडेल्धुराबाट नै देशको शासन सन्चालन गरे । यस जिल्लामा बहिष्कार गर्ने पार्टी चार वटा भए पनि हाम्रो पार्टी नेकपा (मशाल) ले डडेल्धुराका दुइ वटा नगरपालीका ५ वटा गाउँपालिका मध्ये २ वटा नगरपालिका ४ वटा गाउँपालिकामा पर्चा वितरण, घरदैलो कार्यक्रम, एफ.एममा अन्तवार्ता, जिल्लाका तिन वटा एफ.एम. रेडियोमा बहिष्कार सम्बन्धि जिङगल विज्ञापनको रुपमा प्रसारण गरियो । जिल्लाव्यापी चुनावी सभामा गठबन्धनको नाइके एव प्रधानमन्त्री शेरबहादुर देउवा घुमे पनि कतिपय मतदान केन्द्रमा ३० प्रतिशत मात्र मत खसे सम्बन्धित मतदान अधिकृतले बताएका छन् । जिल्लाभरि ५६ प्रतिशत खसेको दावी मुख्य निर्वाचन कार्यालय डडेल्धुराले गरे पनि स्वतत्र परिवेक्षकहरुको भनाइमा ३० देखि ४० प्रतिशत मात्र मत खसेको आकलन गरेका छन् । कम मत खस्नुमा अन्य विभित्र कारण भए पनि मुलकारण हामीहरुको वहिष्कारको नै प्रभाव हो ।

नवनिर्वाचित साँसदहरुको भूमिका कस्तो रहला भन्ने ठान्नु हुन्छ ?

यिनीहरुको भुमिका विदेशि शक्तिहरुको स्वार्थ पूरा गर्न र आफ्नो सत्ता जोगाउन विभिन्न किसिमका राष्ट्रघाती सन्धि सम्झौता गर्नेछन । भ्रष्टाचार, महङ्गी, वैदेशिक ऋण अझ बढेर जाने छ । मन्त्री हुनका लागि प्रतिनिधिसभा र प्रदेश सभाका साँसदहरुले विभिन्न हर्कत गर्ने छन् । यसले गर्दा यी संसद र अब बन्ने सरकार चाडैँ जनताका माझमा नाङ्गिने छन् । हामीले जनतालाई बढी भन्दा बढी संगठित र परिचालन गरेमा यो व्यवस्थाका ठाउँमा प्रगतिशील व्यवस्था ल्याउन आन्दोलन अगाडि बढाउन सकिने छ ।

तपाईहरुले पुराना पन्चहरुले गठन गरेको पार्टी राप्रपा र भर्खरै गठन भएको नेपाल स्वतन्त्र पार्टीको बिजयलाई कसरी लिनु भएको छ ?

यिनीहरुको विजय मुलतः विद्यमान व्यवस्था र दलहरु प्रतिको जनताको अविश्वास र वितृष्णा हो । यसको विकल्प जनताले चाहेका छन तर अग्रगामी र प्रगतिशिल पार्टीहरु (हामीले) जनभावना समेट्न नसके पछि यिनीहरुको विजय हुन गएको हो । राप्रपा पुर्वपन्चहरु को पार्टी हो । यसले राजतन्त्र पुनस्थापना गर्न चाहन्छ । नयाँ पुस्तालाई राजतन्त्र र पंचायतले यो देशमा ३० वर्ष शासन गरेको हो भन्ने कुरा र सो शासनको अनुभुति गर्न नपाएको हुदा केही भ्रमित भएका हुन सक्छन् । यो पुनउत्थान र प्रतिगामी पार्टी हो । रास्वपा कुनै दर्शन,विचार र राजनीति बोकेको पार्टी होइन । स्थानीय तह केहि नीति निर्माण गर्नु परे पनि मुलत जनतालाई छिटो छरितो पारदर्शिरुपमा सेवा प्रवाह गर्नु पर्ने हुन्छ । स्थानीय तहमा स्वतन्त्र व्यक्तिले नेतृत्व गरे पनि खास फरक पर्दैन तर प्रतिनिधि सभा र प्रदेश सभामा को मूल काम भनेको नीति (कानुन) निर्माण गर्ने हो । नीति निर्माण गर्दा दर्शन, राजनीति र विचार चाहिन्छ । जस्तै नेपालका जनता हिन्दु दर्शनबाट प्रभावित छन यहाँ मगर समुदायमा फूपु –मामा छोरी विवाह गर्दा नेपालको कानुनले हाडनाता विवाह मान्दैन भन्ने वाहुन क्षेत्रीले सोही नातामा विवाह गरेमा हाडनाता विवाहमा अपराध हुन्छ । पाकिस्तानका जनता मुस्लिम दर्शनबाट प्रभावित छन । त्यहाँ एकै आमाको स्तनपान गरेका दाजु–वहिनी बाहेकका दाजु वहिनीमा विवाह गरेमा हाडनाता हुँदैन । यही काम नेपालमा गम्भीर हाडनाता अपराध ठहरिन्छ । चीनमा कुनै व्यक्तिले भ्रष्टाचार गरेमा मृत्युदण्ड दिइन्छ भने नेपाल १ करोड वा सोभन्दा बढी जतिसुकै रकम भ्रष्टाचार गरे पनि बढिमा १० वर्ष सम्म कैद हुन्छ । यी कानुन विचारधाराबाट निर्देशित छन् । कुनै दर्शन, राजनीति र विचार विनाको कुनै राजनीतिक पार्टी हुनै सक्दैन । त्यसकारण यो रास्वपा कुनै राजनीति पार्टी होइन । यसले कुनै दर्शन, राजनीति र विचार धारण गरेन भने केही पनि गर्न सक्दैन र समाप्त भएर जान्छ । यिनको भुमिका प्रगतिशिल र अग्रगामी हुने सम्भावन कम छ । यथास्थिति र प्रतिगमनलाई नै यिनले मदत गर्छन । रवि लामिछानेको पृष्ठभूमि, सो पार्टीको विधान, झण्डाको बनावट हेर्दा रास्वपा कतै अमेरिकाबाट पालित, पोषित र परिचालित पार्टी त होइन ? भन्ने गम्भीर आशँका छ । यस्तो हो भने नेपालको जेलेस्की रवि लामिछाने हुने सम्भावना प्रवल छ । तर मेरो यो आशंका गलत सावित होस ।

चुनाब त भयो अब आगामी दिनमा कसरी अगाडि बढ्ने योजना छ ?

दलाल संसदीय व्यवस्थाको चुनावी नौटङ्गी पूरा भएको छ । यिनीहरु निर्वाचित भएकै दिन देखि हामी यिनका राम्रा कामको समर्थन, सहयोग र गलत कामका विरोध गरी जनताका माझमा लिएर जाने, जनतालाई बुझाइ यसका विरुद्ध जनपरिचालन गरी संघर्ष अगाडि बढाउने र मिडिया र सामाजिक सन्जाललाई पनि देशभक्तिपुर्ण र प्रगतिशील काममा अधिकतम प्रयोग गर्नु पर्छ ।

भर्खरै विशेष महाधिवेशन गर्नु भएकोछ । तपाईहरुले पार्टी चलाउन सक्नु हुन्न यो पार्टी कसैलाई बुझाउँछन भनेर मसाल नेतृत्वले भनेको सुनिन्छ नि, खास कुरा के हो ?

मसाल नेतृत्व मोहनविक्रम जीको यो भनाइ इष्र्या, डाहा र प्रतिशोधबाट प्रेरित छ । उहाँले हाम्रो पार्टीबाट दिनानाथ, रामसिंह, परि थापा, डिलाराम गए तर कसैले पार्टी चलाउन सकेनन् । मैले मात्र पार्टी चलाएको छु, यी सबै विभिन्न पार्टीमा विलय भए, त्यसकारण नेकपा(मशाल) पनि कुनै पार्टीमा मिसिएर विलय हुन्छ भन्ने तर्क गर्नु भएको छ । तर नेकपा (मशाल) विभाजित हुँदा र अरु विभाजित हुँदाको प्रकृति तात्विक फरक छ उहाँले त्यो भन्न सक्नु भएन । हामीहरुको मुल उद्देश्य मसाल पार्टीमा भएको दक्षिणपन्थी दिशालाई सुधारेर क्रान्तिकारी बनाउने ध्येयका साथ फरक दस्तावेज ल्याएर त्यसलाई देशभरी फोरम सन्चालन गरी महाधिवेशनमा पनि पेश गरेका थियौ । पार्टी नेतृत्व दक्षिणपन्थी हुनबाट रोक्न सकिएन । हामीलाई पार्टी नेतृत्वले अनुशासनका नाममा पार्टीबाट फालिएको व्यक्तिहरु एक भएर अगाडि आयौ । राजनीति विचार र सिद्धान्त छोडेर जाने भएत हामीहरु व्यक्तिगत रुपमा वा समुहगत रुपमा आजसम्म विभिन्न पार्टी प्रवेश गरिसकेका हुने थियौ । हामीले विशेष महाधिवेशन गरेर मसालको क्रान्तिकारी स्पीरिट र आत्माको पुनःस्थापना गरेर पार्टीको नाम नेकपा(मशाल) राखेका छौ । हामी र हामी भन्दा पहिले मसाल छोड्नेहरुको उद्देश्य र कार्यशैली र नीतिमा पनि आधारभुत रुपमा नै फरक छ । त्यसकारण पहिले मसाल छोडेनहरु सँग हामीलाई तुलना गर्नु त्यो एमवी समूहको आत्मारति मात्र हो ।

नेपालमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन कमजोर भएको अवस्थामा सिद्धान्त, विचार र कार्यदिशा मिल्ने व्यक्ति, समुह र पार्टीसँग संयुक्त मोर्चा, पार्टी एकता गर्ने कुरा स्वाभाविक हुन्छ ।समान लक्ष्य उद्देश्य बोकेका एकै कार्यदिशा भएको पार्टीहरु अलग–अलग रहनु भन्नेको क्रान्तिकारी आन्दोलनलाई कमजोर पार्दै क्रमशः समाप्त हुनु नै हो । त्यसकारण हामीले नेकपा(मशाल)लाई कसैलाई बुझाउने भन्दा पनि नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई नै पुन.निर्माण गरेर जानु आजको आवश्यकता हो ।

संक्षिप्तमा नेपालको सुदुरपश्चिमको कम्युनिस्ट आन्दोलनको इतिहास र वर्तमान अवस्थाबारे भन्नु पर्दा के भन्नु हुन्छ ?

सुदुरपश्मिममा भिमदत्त पन्तले विद्रोह गरे पनि उनी तत्कालिन नेकपाका सदस्य भएको पुष्टि भएको छैन । तर यस क्षेत्रमा देशभक्ति, स्वाभिमानि र विद्रोही स्वाभावको जनमत व्यापक छ । पञ्चायतकालमा पञ्च र २०४८ सालमा चर्को कांग्रेसको आतङकका विचमा पनि विभिन्न वाम घटकहरुले आफ्नो गतिविधि अगाडि बढाए भन्ने माओवादी जनयुद्धमा रोल्पा रुकुम पछि सुपका जनताको ठुलो सहभागीता रह्यो । अन्य क्षेत्रको तुलनामा यहाँ बढी बलिदानी भएको देखिन्छ । अहिलेको अवस्थामा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन तुलनात्मक रुपमा कमजोर देखिए पनि क्रान्तिकारी उभार यो क्षेत्रमा आउन सक्ने वस्तुगत आधार विद्यमान नै छन् । क्रान्तिकारी र देशभक्तिको आन्दोलनमा यस क्षेत्रका जनताले साथ दिदै आएका छन् ।

नया“ संसद गठन हुदैछ । पारित हुन नसकेका विधेयकहरु बर्षौ देखि अलपत्र छन् । एमसीसी र एसपीपी यी सबै बारे अब के होला ?

संसदमा निर्वाचित भएको दल र सांसदको पृष्टभूमि, विचार, राजनीति हेर्दा देशभक्त प्रगतिशिल पार्टी र व्यक्तिको संसदमा उपस्थिति छैन । विदेशीका दलाल, माफियाहरु, पदलोलुप विचारविहीन दल र व्यक्ति संसद आएकाले एमसिसीलाई कार्यान्वयनमा, एसपिपी नागरिकता विधेयक पास गर्ने प्रयत्न संसदले गर्ने छ ।

थप भन्नु पर्ने केही छ कि ?

अहिलेको मतपरिणाम हेर्दा सरकार विभिन्न दलको मिलिजुली हुने देखिन्छ । यसले देशलाई पुनःअस्थिरता र अनिश्चितता तर्फ लैजाने निश्चित देखिन्छ । विदेशिहरुको चलखेल व्यापक वढेर जाने छ । यसको मुल्य सिङ्गो देश र जनताले चुकाउनु पर्ने छ । आगामी दिनमा आउने समस्यासँग जुध्न हामी सबै तयारी अवस्थामा रहनु पर्ने छ । यसका लागि हाँकले विचारधारात्मक सन्देश प्रवाह यसैगरी निरन्तर गरिरहोस् भन्ने आशा र विश्वास छ । साथै जनप्रिय पत्रिका हाँकको उन्नति र प्रगतिको शुभकामना समेत व्यक्त गर्न चाहान्छु ।प्रस्तुति : (मनु विक..हाँक)

२०७९ मंसिर १४ १४:५३ बजे

प्रतिक्रिया