सरकारद्धारा ६० खर्ब रुपैयाँ जलवायु वित्त जुटाउने कार्ययोजना अनुमोदित

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक १४ १४:०३ बजे
जलवायु वित्त

 काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २७) का मुद्दाका साथै जलवायु वित्त र राष्ट्रिय निर्धारित योगदान (एनडीसी)लगायतका विषय अनुमोदन गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहेको 'वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्' को सोमबार बसेको बैठकले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २७) का मुद्दाका साथै जलवायु वित्त र राष्ट्रिय निर्धारित योगदान (एनडीसी)लगायतका विषय अनुमोदन गरेको हो । 

 ।प्रधामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको पहिलो बैठकले ४ वटा विषय अनुमोदन गरेको हो । परिषद्का सदस्य सचिव तथा वन मन्त्रालयका सचिव पेमनारायण कँडेलका अनुसार परिषद्लाई प्रभावकारी बनाउन तयार गरिएको कार्यविधि बैठकले अनुमोदन गरेको छ भने कोप–२७ मा पस्तुत गरिने नेपालको मुद्दालाई समेत अनुमोदन गरेको छ ।

जलवायु अनुकूलन तथा न्यूनीकरणका लागि थप अन्तर्राष्ट्रिय वित्तीय लगानी भित्र्याउने रणनीति तथा कार्ययोजना तथा उत्सर्जन घटाउने उद्देश्यले सन् २०२० मा राष्ट्रसंघलाई बुझाइएको राष्ट्रिय निर्धारित योगदान (एनडिसिसी) कार्यान्वयनको संशोधित खाका  पनि बैठकले अनुमोदन गरेको छ ।  

जलवायुजन्य विपद् र उथलपुथलबाट जोगिने अनुकूलनका कार्यक्रम अघि बढाउन आवश्यक गर्ने वित्तको व्यवस्थापनका लागि वन मन्त्रालयले ुदीर्घकालीन जलवायु वित्त रणनीति र कार्ययोजनाु तयार गरेको थियो । कार्ययोजनामा जलवायु परिवर्तनका कारण हुने उथलपुथलबाट जोगिने अनुकूलनका गतिविधि गर्न नेपाललाई यही दशकभित्र ६० खर्ब रुपैयाँभन्दा बढी (४७.४ अर्ब अमेरिकी डलर) (६० खर्ब रुपैयाँ) भन्दा वित्त आवश्यक पर्ने  जनाइएको छ ।  सरकारले तयार गरेको ‘राष्ट्रिय अनुकूलन योजना (२०२१–२०५०)’ मा नेपालको राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६ ले पहिल्याएका ८ वटा विषयगत र ४ वटा अन्तरविषयगत क्षेत्रमा गरी कुल ६४ वटा प्राथमिकता प्राप्त अनुकूलनका कार्यक्रमहरू समावेश छन् ।

पहिलो बैठकबाट जलवायु परिवर्तन र वातावरण संरक्षणसम्बन्धी महत्त्वपूर्ण रणनीति र योजनाहरु अनुमोदन भएका छन् । ऐन बनेको तीन वर्षपछि पहिलोपटक वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषद्को बैठक बसेको हो । वातावरण संरक्षण ऐन, २०७६ ले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद्को गठन गर्ने व्यवस्था गरे पनि वातावरण संरक्षण ऐन बनेको तीन वर्षपछि सरकारले गत भदौ २१ मा परिषद्लाई पूर्णता दिएको थियो ।

परिषदमा गृहमन्त्री बालकृष्ण खाँण उपाध्यक्ष तथा प्रधानमन्त्री देउवाका जलवायु परिवर्तनसम्बन्धी सल्लाहकार माधवबहादुर कार्की, वन तथा वातावरणमन्त्री, कृषिमन्त्री र ऊर्जामन्त्री पम्फा भुसाल र सातवटै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य  रहेका छन, भने जलवायु परिवर्तनविज्ञको तर्फबाट विमल रेग्मी र सुनिता चौधरी तथा प्राध्यापकतर्फबाट त्रिभुवन विश्वविद्यालयको वातावरण विभागकी प्रमुख साधना प्रधानाङ्ग र कल्पना देवकोटा सदस्य रहेका छन् । 

गत वर्ष ग्लास्गोमा भएको कोप २६ को नेतृत्व प्रधानमन्त्री देउवाले गरेका थिए । यो वर्ष सरकारले उत्सर्जन न्यूनीकरण गर्ने, अनुकूलन प्रयासहरुलाई बढावा दिने र उपयुक्त वित्तको बढ्दो प्रवाहको माध्यामबाट विश्वव्यापी जलवायु परिवर्तनका कार्यहरुलाई गति दिनेगरी प्रस्तुत हुने नीति बनाएको छ ।मन्त्रालयका प्रवक्ता सहसचिव मेघनाथ काफ्लेका अनुसार मन्त्रालयले सरोकारवाला निकाय र विज्ञहरुसँग विभिन्न चरणमा छलफल, परामर्श तथा अन्तरक्रिया गरी सहभागीतामूलक ढंगले कोप २७ मा नेपालले उठाउने विषय समेटेर स्थिति पत्र (स्टाटस पेपर)समेत तयार गरेको छ ।

नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र र पर्वतीय मुलुकहरुमा परेका समस्याको पहिचान र सम्वोधन गर्नुपर्ने, विश्व तापमान वृद्धिलाई १.५ डिग्रीसेल्सियसमा सीमित गर्न विश्वका धनी र विकसित मुलुकहरुलाई आफ्नो महत्त्वकांक्षी राष्ट्रिय निधारित योगदान (एनडीसी) र दीर्घकालीन न्यून उत्सर्जन विकास रणनीति परिमार्जन गर्नुपर्ने विषयमा वकालत  गरिने काफ्लेले बताएका छन् ।

कोप २७ मा नेपालले जलवायुजन्य हानी नोक्सानी सम्बोधन गर्न अलग्गै वित्त प्रवाहका लागि गत वर्षजस्तै दबाब दिनेछ । नेपालजस्तै क्षति बेहोरिरहेका अल्पविकसित मुलुकहरुले जलवायुजन्य हानी नोक्सानीका घटनाहरुलाई सम्बोधन गर्न अलग्गै वित्त (फाइनान्स) आवश्यक पर्ने भएकाले विकसित मुलुकहरुले त्यस्तो वित्त बेहोर्नुपर्ने दबाब दिइरहेका छन् ।

२०७९ कात्तिक १४ १४:०३ बजे

प्रतिक्रिया