स्थानीयद्वारा मेलौली नगरपालिकामा तालाबन्दी

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ४ ११:१२ बजे
मेलौली नगरपालिका

काठामाडौं । पन्ध्र शय्याको अस्पताल तोकिएका ठाउँमा निर्माणको माग गर्दै बैतडीको मेलौली नगरपालिकामा  ताला लगाइएको छ । अस्पताल वडा नं १ को बिठ्ठनेमा बनाउनका लागि जग्गा उपलब्ध भइसकेपश्चात पनि पालिकाले स्थान छनोट गरेर अन्यत्र बनाउन खोजेपछि पुरानै ठाउँमा अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीयले  बिहिबार तालाबन्दी गरेका हुन् ।

पालिकाको जननिर्वाचित प्रतिनिधि पुरानो ठाउँमा अस्पताल निर्माण गर्ने निर्णयमा नपुग्दासम्म तालाबन्दी नखुल्ने  स्थानियहरुको अडान रहेको छ। अस्पताल निर्माणका लागि जग्गादान गर्ने जग्गादाता र अन्य स्थानीयले तालाबन्दी गरेका जनाइएको छ । बिठ्ठनेमा अस्पताल निर्माण गर्न १५ रोपनी जग्गादान भइसकेपछि पनि अन्यत्र सार्न खोजिएपछि आक्रोशित स्थानीयले नगरपालिकाको च्यानल गेट, स्वास्थ्य शाखा, शिक्षा शाखालगायतका अन्य शाखामा ताला लगाएका हुन् ।  

नगरपालिकाकाले भने दुई स्थानमा जग्गादान गरेकाले दुवै ठाउँमा बनाउनुपर्ने माग गरेपछि विवाद भएको जनाएको छ । वडा नं १ र ७ मा अस्पताल निर्माणका लागि जग्गा प्राप्त भए पनि कुन ठाउँमा बनाउने निर्णय भने भइनसकेका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिए ।

सङ्घीय सरकारले विसं २०७० मा मेलौलीमा १५ शय्याको अस्पताल निर्माणका लागि निर्णय गरे पनि अहिलेसम्म विवादकै कारण  अस्पताल भने बन्न सकेको  छैन् । वडा नं ७ का बासिन्दाले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली रहेकै स्थानमो अस्पताल निर्माण हुनुपर्ने माग गर्दै आएका छन् । तालाबन्दी गर्ने पक्षसँग छलफल गरेर तालाबन्दी खुलाउने तयारी भएको उनले बताएका छन् । 

२०७९ कात्तिक ४ ११:१२ बजे

प्रतिक्रिया