यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना वैज्ञानिकलाई

गएको वर्ष यो पुरस्कार तीन वैज्ञानिकहरू– स्युकुरो मानेबे, क्लास हासेलम्यान र जियोर्जियो पेरिसीलाई प्रदान गरिएको थियो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १९ ०६:४२ बजे
नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।नोबेल पुरस्कार छनोट समितिले एलेन एस्पेक्स, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गरलाई यो वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । 

एलेन एस्पेक्ट फ्रान्सका भौतिक वैज्ञानिक हुन् । यस्तै जोन एफ क्लाउजर अमेरिका र एन्टोन जेलिङ्गर अस्ट्रियाका वैज्ञानिक हुन् । यी वैज्ञानिकले क्वान्टम मेकानिक्सबारे अनुसन्धान गरेका थिए । क्वान्टम मेकानिक्स सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो । 

यो पुरस्कारको राशी एक करोड स्वीडिश क्रोनर अर्थात् नौ लाख १५ हजार अमेरिकी डलरभन्दा धेरै छ । यस वर्षको पुरस्कार विजेताहरूले जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोजहरू सञ्चालन गरेका समितिले जनाएको छ । उनीहरूको खोजले दुई उप–पारमाणविक कण छुट्टिए पनि तीनले एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ । क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुतरूपमा विकास भइरहेको क्षेत्र रहेको भौतिक विज्ञानको नोबेल समितिले जनाएको छ ।

गएको वर्ष यो पुरस्कार तीन वैज्ञानिकहरू– स्युकुरो मानेबे, क्लास हासेलम्यान र जियोर्जियो पेरिसीलाई प्रदान गरिएको थियो ।

२०७९ असोज १९ ०६:४२ बजे

प्रतिक्रिया