बाजुरामा मन्दिर पसेको निहुँमा सुनारमाथि कुटपिट गर्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

आक्रमणमा परी घाइते भएका सुनारको आँखा, कान, नाक र पिठ्युँमा ठूलो चोट लागेको छ

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ ११:५५ बजे
कुटपिट

 काठमाडौं । बाजुरामा पूजा गर्ने समयमा मन्दिर पसेको भन्दै एक जना दलितलाई कुटपिट गरिएको छ । उनलाई कुटपिट गरिएको प्रहरीले  वडाध्यक्ष  नियन्त्रणमा लिएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर ऐडीलाई प्रहरीले पक्राउ  गरेका हो । अध्यक्ष ऐडी लगायतको समूहले मंगलबार नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसँग भएको नगद ६० हजार पनि खोसेर लगेको पीडित टेकेन्द्र  सुनारले जनाएका छन् ।  

नवरात्री बस्न भनेर पुख्र्यौली ठेगाना बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ नुवाघर घर भई हाल कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारलाई त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष ऐडीको समूह पूजा गरिरहेको स्थलमै आउन मिल्दैन भन्दै हातपात गरेको  पिडित सुनुवारले जनाएका छन् ।  ‘डुम’ भन्दै जातीय विभेद गर्नुका साथै आफूलाई चार पाँच जनाको समूह मिलेर हातपात गरेको  उनको भनाई रहेको छ ।  

बडिमालिका प्रहरी चौकीका अनुसार वडा नम्बर ७ का वडा अध्यक्ष ऐडी र मन्दिरका पुजारी रङ्ग उपाध्याय विरुद्ध पीडित सुनारले बड मालिका प्रहरी चौकी पैमामा जातीय विभेद र लुटपाट सम्बन्धी जाहेरी दिए पछि वडाध्यक्षलाई सोधपुछका लागि जिल्लामा ल्याइएको हो । घटनामा संलग्न अरु फरार रहेका कारण उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जनाएका छन् ।

आक्रमणमा परी घाइते भएका सुनारको आँखा, कान, नाक र पिठ्युँमा ठूलो चोट लागेको प्रहरी प्रमुख थापाले बताएका छन् । 

२०७९ असोज १३ ११:५५ बजे

प्रतिक्रिया