सिटिजन्स बैंकले कात्तिक ४ मा बोलायो साधारण सभा

असोज २७ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश पाउने छन्

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ ११:३३ बजे
सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कात्तिक ४ गते १६ औं वार्षिक साधारण सभा  बस्ने भएको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गरेको यस बैंकले साधारण सभासमेत पहिलानै हुन लागेको हो । बैंकको असोज १२ गतेको सञ्चालक समितिको बैठकले काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाले आर्थिक वर्ष २०७८\७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ ।  

यस वर्ष बैंकले करसमेत ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल बैंकको चुक्तापूँजी रू। १४ अर्ब २० करोड ९ लाख ७४ हजार छ । सोही पूँजीको आधारमा रू। १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश बैंकले वितरण गर्न लागेको हो । लाभांश वितरणको प्रस्तावलाई समेत साधारण सभाले वितरणयोग्य बनाउनेछ । 

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने योजनासमेत बैंकले अघि सारेको छ । आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत साधारण सभाले गर्नेछ । साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात् साविकको पूँजी संरचना संस्थापकतर्फको ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशतलाई परिवर्तन भई संस्थापकतर्फ ५१ दशमलव शून्य ७ प्रतिशत र सर्वसाधारणतर्फ ४८ दशमलव ९३ प्रतिशत कायम भएकाले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि बैंकले असोज २८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । असोज २७ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा भाग लिन र लाभांश  पाउने छन् । 

२०७९ असोज १३ ११:३३ बजे

प्रतिक्रिया