राष्ट्रिय आविष्कार केन्द्रले बनायो अण्डाबाट चल्ला निकाल्ने ‘इन्क्युबेटर’

परीक्षणको क्रममा लोकल कुखुरा, हाँस, टर्की र कालिजको चल्लाहरू सफलतापूर्वक निकालेर पालिएको हो

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १३ १०:४६ बजे
इन्क्युबेटर

काठमाडौं ।  राष्ट्रिय आविष्कार केन्द्रले अण्डाबाट चल्ला निकाल्ने ‘इन्क्युबेटर’ मेसिन बनाएको छ । इन्क्युबेटरबाट परीक्षणको क्रममा लोकल कुखुरा, हाँस, टर्की र कालिजको चल्लाहरु निकालेर पालिएको केन्द्रका अध्यक्ष डा.महावीर पुनले जनाएका छन् । 

 परीक्षणको क्रममा लोकल कुखुरा, हाँस, टर्की र कालिजको चल्लाहरू सफलतापूर्वक निकालेर पालिएको हो । आविष्कार केन्द्रमा अनुसन्धान गर्नेहरूले केन्द्रमा नै उत्पादन गरेका पंक्षीको मासुले पुगेकाले बाहिरबाट खरिद गर्नु नपरेको  पुनले बताएका छन् ।

परीक्षणको क्रममा करिब ७० वटा जति टर्कीको चल्ला निकालेर पालिएको थियो भने तीमध्येका ५० वटा खाइसकिएको,अब २० वटा टर्की बाँकी रहेकोले कसैलाई टर्कीको मासु खान मन छ भने किन्न आउन पनि उनले आग्रह गरेका छन् ।  

उनले प्रतिकिलो सात सय रुपैयाँका दरले टर्कीको मासु उपलब्ध गराउने बताएका छन्। तर आफूले व्यावसायिक रूपमा मासुको व्यापार गरेको नभई अनुसन्धान गर्दा निस्केको र खाएर बाँकी रहेको टर्की बेच्न राखेको उनले बताएका छन् । परीक्षण सफल भइसकेपछि केन्द्रले पाँच सय र १५ सय वटा अण्डा राखेर चल्ला उत्पादन गर्नसक्ने दुई फरक क्षमताका इन्क्युबेटर बिक्रीमा रहेको उनले बताएका छन् ।  पाँच सय वटा अण्डाको क्षमता रहेको मेसिनको मूल्य ६५ हजार र १५ सय अण्डाको क्षमता रहेको मेसिनको मूल्य एक लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको छ।


२०७९ असोज १३ १०:४६ बजे

प्रतिक्रिया