काठमाडौं । तरलता समास्या रहेको नेपालमा पछिल्लो समयमा तरलतामा सहज हुन थालेको छ । यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलनसँगै कर्जा लगानी पनि बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन उल्लेख्य रूपमा वृद्धी भएको छ ।
असोज ७ गतेसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अघिल्लो साताको तुलनामा २६ अर्बले बढेको हो । भदौ ३१ गतेसम्म वाणिज्य बैंकहरूले ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ अर्बले बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । भदौ ३१ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
के हो तरलता ?
ब्याङ्किङको भाषामा तरलता भनेको वित्तीय संस्थाहरूसँग नगद उपलब्धताको अवस्था हो । वित्तीय संस्थाहरूमा कर्जा माग्न जाने मान्छे भन्दा निक्षेप राख्न जाने मान्छे बढी भएको अवस्थामा तरलता सहज हुन्छ।
ब्याङ्क तथा वित्तीय संस्थाहरूले राष्ट्र ब्याङ्कमा आफ्नो कुल निक्षेपको तीन प्रतिशत रकम सीआरआर बापत अनिवार्य नगद मौज्दात राख्नुपर्ने प्रावधान रहेको छ ।
त्यो अनिवार्य मौज्दात राखिसके पछि ब्याड्कहरूसँग भुक्तानीका लागि उपलब्ध हुने रकमलाई अधिक तरलता भनिन्छ। यो दैनिक रूपमा फरक पर्न सक्छ। कुनै एक दिनमा समग्र ब्याङ्किङ प्रणालीमा कति पैसा जमा भयो र कति रकम बाहिरियो यो दुईबीचको फरकले तरलतामा असर पर्छ।
तर तरलता अभावको प्रभाव वित्तीय संस्थाहरूमा मात्रै सीमित रहँदैन। ब्याङ्कीङ प्रणालीसँग कुनै प्रत्यक्ष सरोकार नभएका मानिसहरूलाई पनि तरलताको सङ्कटले प्रभाव पार्ने गर्दछ ।
तरलताको अभाव भएपछि ब्याङ्कहरूले निक्षेप आकर्षण गर्नका लागि ब्याज दर बढाउने गर्छन्।
प्रतिक्रिया