कतार विश्वकप : समर्थकहरुलाई कहाँ सुत्ने भन्ने चिन्ता

फुटबल समर्थकहरू के भनिरहेका छन्र ?

bimbonline बिम्ब अनलाइन
२०७९ असोज ११ ०८:५१ बजे
कतार विश्वकप

काठमाडौं । पछिल्लो २५ वर्षमा पल क्लेगले इङ्ग्ल्यान्डको फुटबल टोलीको खेल हेर्न कैयौँ देशहरूको यात्रा गरेका छन्। तीनवटा विश्वकप हेर्न गइसकेका उनी आफ्नो चौथो अर्थात् कतार विश्वकपमा सहभागिताको तयारीमा छन्।

विगतका संस्करणमा जस्तै उनी प्रतियोगिताको समयमा इङ्ग्ल्यान्डका सबै खेललाई पछ्याउने योजनामा छन्। आफ्नो टोली अन्तिम दुईमा छनोट भएको खण्डमा सबै खेल हेर्न पाइयोस् भनेर उनले फाइनलसम्मकै टिकट लिएका छन्। उनका लागि सबैभन्दा ठूलो चुनौती आवास बनेको छ। प्रतियोगिताको अधिकांश अवधिमा कहाँ रात बिताउने भन्नेमा उनी प्रस्ट छैनन्।

उनले भने, 'मैलै पहिलो चार रातका लागि कोठाहरू लिएको छु र त्यसका लागि अति धेरै रकम तिरेको छु। मैले उचित मूल्यका विकल्प पाइनँ त्यही भएर त्यसपछि म कहाँ बस्छु मलाई थाहा छैन।' यो सङ्घर्षमा पल एक्ला होइनन् किनभने अरू हजारौँले यस्तै समस्या भोगिरहेका छन्।बीबीसीले अझैसम्म बस्ने ठाउँ निर्धारण गर्न नसकेका दुई दर्जनभन्दा बढी फुटबल समर्थकहरूसँग कुराकानी गरेको थियो। फुटबल विश्वकप सुरु हुन दुई महिनाअघि उनीहरूका चिन्ता बढिरहेको छ।

आवास सम्बन्धी सुविधा बढाउन आयोजकहरूले खाली अपार्टमेन्ट, भिल्ला, फ्यानहरू बस्ने ठाउँ र मरुभूमिमा निर्माण गरिएका परम्परागत खालका टेन्टहरूमा एकभन्दा बढी व्यक्ति मिलेर बस्ने विकल्पहरू उपलब्ध गराइरहेका छन्।

दोहाको बन्दरगाहमा राखिने दुई वटा क्रुज पानीजहाजलाई तैरने होटेलमा परिणत गरिएको छ। यी सबै कदमले बजारमा थप ७० हजार कोठा वृद्धि गर्ने ठानिएको छ।

बीबीसीलाई दिएको विज्ञप्तिमा कतारको सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले उक्त खाडी राष्ट्रले प्रतियोगिताको समयमा एक पटकमा १ लाख ३० हजारसम्म कोठा उपलब्ध गराउने जनाएको छ।'यो फिफा विश्वकप कतार २०२२ का लागि यात्रा गर्ने समर्थक, टोली, प्रायोजकका लागि सहज हुने सङ्ख्या हो,' उसले भनेको छ।

फुटबल समर्थकहरू के भनिरहेका छन्र ?
यस्तो घोषणा भएपनि कतारमा आवासको अभाव छ र त्यसको लागत उच्च छ। दोहाको बाहिरी भागमा मरुभूमिमा निर्मित फ्यान भिलेजमा बनाइएका अस्थायी क्याबिनहरूमा सस्तो मूल्यमा बस्न सक्ने भनिएको छ।तर त्यहाँ प्रति रातको मूल्य २७,००० रुपियाँ भन्दा बढी छ। कैयौँ समर्थकहरूले पैसा अनुसारको सुविधा त्यहाँ नभएको बताइरहेका छन्।अमेरिकाबाट आउन लागेका अनास फिलालीले कतार विश्वकपको आवास आफू जस्तो सस्तोमा यात्रा गर्न चाहनेका लागि धान्न नसक्ने भएको बताए।

'फ्यान भिलेजमा क्याबिनका लागि २०० डलर एकदमै महँगो भयो। एअरबीएनबीमार्फत् कोठाका भाडाहरूको मूल्य पनि ज्यादै उच्च छ। मैले त्यहाँ पुगेपछि केही सस्तोमा बस्ने ठाउँ पाउँछु कि भन्ने ठानेको छु।'

बीबीसीले फ्यान भिलेजसम्म पहुँच दिन अनुरोध गरेपनि कतारी अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका थिए। ती संरचनाहरू अझै पनि निर्माणकै चरणमा रहेका छन्।स्थानीय बासिन्दाहरूलाई फुटबल समर्थकहरूलाई आफ्ना घरमा बस्न दिन भनिएको छ तर त्यसको शुल्क चर्को रहेको छ। कोठा भाडामा लिन सकिने वेबसाइट एअरबीएन्डबीमा कुनै पनि कोठाको मूल्य करिब २६,००० रुपियाँ भन्दा कम छैन।

आफ्ना नातेदारसँगै अस्ट्रेलियाबाट आइरहेका लिओ काग्लीलीओले एउटा पारिवारिक घरमा प्रतिरातको झन्डै ३५ हजार रुपियाँ तिर्न गइरहेका छन्।

उनले सन् २०१४ मा ब्राजिल विश्वकप हेर्न जाँदा आफूले सस्तो मूल्यका कोठाको समस्या नभोगेको बताए। 'यो समय ज्यादै तनावपूर्ण छ। हामीले एप्रिलदेखि नै हेरिरहेका छौँ तर मूल्य कहिल्यै पनि घटेन।'

जमिनको आकारको हिसाबले विश्वकप आयोजना गर्ने हालसम्मकै सबैभन्दा सानो राष्ट्र कतार हो। सो मुलुकले विश्वकप आयोजना गर्ने अधिकार सन् २०१० मा प्राप्त गरे यता पूर्वाधार र रङ्गशालाहरू निर्माणका लागि २०० अर्ब डलर खर्च गरेको छ।

सबैभन्दा व्यस्त समय समूह चरणमा हुनेछ जुन बेला प्रतिदिन चार वटा म्याचहरू दोहा र आसपासका क्षेत्रहरूमा खेलिनेछन्। फुटबलको सर्वोच्च निकाय फिफाले करिब ३० लाख टिकटमध्ये लगभग २५ लाख विक्री भइसकेको जनाएको छ। कतारको जनसङ्ख्याको लगभग ४० प्रतिशत अर्थात् १ करोड २ लाख भन्दा बढी मानिसले विश्वकपको बेला सो मुलुकको भ्रमण गर्ने ठानिएको छ।

छिमेकीहरूका लागि फाइदा
आवासमा परिरहेको चापले हजारौँ समर्थकहरूका लागि कतारबाहेकका देशमा विकल्प खोज्न बाध्य पारिरहेको छ। धेरै जनाले कतारका छिमेकी देशहरूमा बस्ने निर्णय लिएका छन्।

युनाइटेड अरब एमिरेट्स, साउदी अरेबिया, कुवेत र ओमानले आयोजक देशसँग समर्थकहरूलाई लैजान दैनिक उडानहरूको बन्दोबस्त गरेका छन्।दुबई सबैभन्दा लोकप्रिय गन्तव्यका रूपमा देखा परिरहेको छ र त्यहाँ विश्वकपको अघि होटेलका कोठाहरूको माग उच्च रहेको छ। उक्त शहरबाट दैनिक करिब ५० वटा उडान एक घण्टाको हवाई दुरीमा रहेको दोहामा गर्न लागेको छ।यूकेबाट जान लागेका एक जना समर्थक साइमोन वाइटनी दुबईको होटेलमा बस्न लागेका छन् र उनी म्याचको दिन मात्रै दोहा जाने योजनामा छन्।

उनले प्रतिरात आफूले शहरको केन्द्रमा अवस्थित 'तुलनात्मक रूपमा ज्यादै राम्रो कोठाका लागि'१३ हजार रुपियाँ भन्दा कम तिरिरहेको बताए। 'हवाई यात्राको लागि पैसा तिर्नुपर्ने भएपनि, मैलै उल्लेख्य रकम जोगाइरहेको हुनेछु,' उनले भने।दुबई स्पोर्टस काउन्सिलले करिब १० लाख फुटबल समर्थक शहरमा आउनसक्ने आकलन गरेको छ।

तर कतिपय पर्यवेक्षकहरूले त्यसलाई महत्त्वाकाङ्क्षी ठानेका छन् किनभने कतारले पनि त्यही सङ्ख्यामा फुटबल समर्थकहरू आफ्नो देशमा आउने भनिरहेको छ।आवासको बन्दोबस्त अस्तव्यस्त हुनसक्ने चिन्ताका माझ पल जस्ता समर्थकहरू आफ्नो कतार बसाइँ सार्थक हुने अपेक्षा गरिरहेका छन्। 'म विश्वकपको माहौलमा भिज्न चाहन्छु,' उनले भने, 'यदि म अर्को देशमा बसेँ भने मैले त्यो अनुभव गर्न पाउनेछैन।'बीबीसी

२०७९ असोज ११ ०८:५१ बजे

प्रतिक्रिया