मनास्लु हिमपहिरो : उद्धारका लागि मौसममा सुधारको पर्खाइ

द्धारका लागि हेलि एभरेष्ट, कैलाश र सिम्रिकका तीनवटा हेलिकोप्टर त्यहाँ रहेको पर्यटन विभागस्थित पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले बताए

bimbonline बिम्ब अनलाइन
२०७९ असोज १० २१:५७ बजे
मनास्लु हिमपहिरो

काठमाडौं । मनास्लु क्षेत्रमा सोमवार बिहान गएको हिमपहिरोका कारण घाइते भएका आरोहीको उद्धारका लागि हेलिकोप्टर खराब मौसमका कारण उक्त क्षेत्रमा पुग्न नसकेको अधिकारीहरूले बताएका छन्।

मनास्लु हिमालमा गएको हिमपहिरोमा करिब १५ जना परेको र तीमध्ये पाँचजना गम्भीर घाइते भएको साना गाउँ एअरपोर्टमा रहेकी विभागकी सम्पर्क अधिकृत यशोदा अर्यालले भनिन्।'आधारशिविरमा रहेका एजेन्सीका मानिसहरूसँग कुरा गर्दा एकजनाको ज्यान गएको र चारजनाको अवस्था गम्भीर रहेको भन्ने जानकारी आएको छ,'उनले भनिन्।

'जो कम घाइते छन् उनीहरूले नै बढी गम्भीरको उद्धार गरेको भन्ने जानकारी हामीले पाएका छौँ। तल आधार शिविरमा रहेकाहरू पनि उद्धारका लागि जानु भएको छ।' उनका अनुसार उद्धार गर्न हेलिकोप्टर उक्त क्षेत्रमा गए पनि खराब मौसमका कारण फर्किएको थियो।

उद्धारका लागि हेलि एभरेष्ट, कैलाश र सिम्रिकका तीनवटा हेलिकोप्टर त्यहाँ रहेको पर्यटन विभागस्थित पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले बताए।

'घाइते साथीहरूलाई उपचारका लागि उद्धार गरेर ल्याउनका लागि भनेर हेलिकोप्टरहरू तयार अवस्थामा छन्। त्यहाँको मौसम खराबीका कारण हेलिकोप्टरबाट उद्धार हुन सकेको छैन,'उनले भने।

हिमपहिरो गएको क्षेत्रबाट एकजना विदेशी हराइरहेको भन्ने जानकारी आफूलाई आएको उनले बताए।आरोहणको अनुमति हिमपहिरो कत्रो स्तरको भन्ने यकिन भइसकेको छैन। हिमपहिरो गएकै क्षेत्रमा ३० देखि करिब ३५ आरोहीहरू रहेको विभागले जनाएको छ।

'हामीसँग ५०६ जनाले आरोहण अनुमति लिनुभएको छ। त्यसमध्ये करिब ३५० जना आरोहणकै लागि जानुभएको छ।' घाइते हुनेमा नेपाली र विदेशी दुवै रहे पनि सङ्ख्या भने यकिन हुन नसकेको विभागले जनाएको छ।

क्याम्प-३ मा रहेका करिब ४० जना विदेशीहरू सुरक्षित रहेको बताइएको छ।चर्चित आरोही निर्मल पुर्जाले सामाजिक सञ्जाल ट्वीटरमा मनास्लुको आरोहण दलका आफ्ना सबै सदस्य र पथप्रदर्शक सकुशल रहेको बताएका छन्।बीबीसीबाट

२०७९ असोज १० २१:५७ बजे

प्रतिक्रिया