एमालेले चोलेन्द्रलाई चोख्याउने काम गर्यो : बिडारी

एमालेले चोलेन्द्रलाई चोख्याउने काम गर्यो : बिडारी

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १४:५७ बजे
रामरायण बिडारी

 काठमाडौं । राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामरायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने पर्ने बताएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।  

विडारीले संसद् भङ्ग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट  बताएका छन्।  उनले भने – ‘महाअभियोग राष्ट्रिय सभामा जाँदैन । त्यो प्रतिनिधि सभाले हेर्छ । अब आउने संसद्ले हेर्छ । आवश्यक पर्यो भने अहिले पनि संसद् भङ्ग भएको छैन । विघटन भएको छैन । यो संसद् अहिले पनि अधिवेशन अन्त्य भएको हो । त्यस कारणले यति कुरा पनि नबुझेको जस्तो गरी मान्छेले भुतभुताउँछन् । अधिवेशन आवश्यक भयो भने त एक चौथाइले फेरी बोलाउन सक्छ । १५ दिनभित्र अधिवेशन बस्छ । त्यस कारणले त्यो गर्नु पनि परेन । अब अधिवेशन बस्दैन । अब आउने निर्वाचनबाट नयाँ आएको संसद्ले अब हेर्छ ।’

बिडारीले नेकपा (एमाले) ले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । उनले महाअभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पारे । उनले भने – ‘समितिमा फरक मत आउनु पनि राम्रो कुरा होइन । नेकपा (एमाले) नाम गरेको पार्टीले चोलेन्द्र जस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनको निम्ति आलेटाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो । यस्तो गर्नु राम्रो होइन । र बहुमतको निर्णय लागू हुन्छ जहाँ पनि । आफ्नो वर्चस्व केही नचल्ने भएर, चालेन्द्रलाई चोख्याउनको निम्ति एमालेले खेलेको षड्यन्त्र हो ।’ उनले महाअभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउनु नहुने बताए ।

२०७९ असोज २ १४:५७ बजे

प्रतिक्रिया