सर्वोच्च जान लागेका जबरा निवासमै रोकिए

सर्वोच्च जान लागेका जबरा निवासमै रोकिए

bimbonline बिम्ब अनलाइन
२०७९ असोज २ १२:४१ बजे
जबरा

काठमाडौं । सर्वोच्च अदालत जाने तयारीमा रहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा निवासमै रोकिएका छन् ।  उनले आज बिहान ११ बजे आफू सर्वोच्च जाने  बताएका थिए ।  तर निवासको बाहिरसमेत प्रहरी तैनाथी बढाइएकाले आफू निस्कन नपाएको र सरकारले बल प्रयोग गरेर आफूलाई रोक्न खोजेको जबराले बताएका छन् ।  

जबरा सर्वोच्च अदालत फर्कनसक्ने चर्चासँगै उनको निवास बालुवाटार र सर्वोच्च अदालत परिसरमा बिहानैदेखि प्रहरीको खटाइएको हो । प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको व्याख्यासहित जबरा सर्वोच्च अदालत फर्किन लागेका हुन् । 

नेपाल बार एसोसिएशनले  जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने निर्णय गरेको हो । फागुन १ गते सत्ता गठबन्धनका ९७ जना सांसदले २१ बुँदे आरोपसहित महाअभियोग लगाएपछि उाि निलम्बनमा परेका हुन् । हिजो संसद्को कार्यकालको अन्तिम दिन महाअभियोग सिफारिस समितिले महाअभियोग लगाउन उपयुक्त हुने निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटा समक्ष प्रतिवेदन बुझाएको थियो । 

प्रतिवेदनमा महाअभियोगबारे संसद्ले निर्णय नगरेकाले नयाँ संसद्ले बाँकी प्रक्रिया अघि बढाउनुपर्ने  राए दिएका छन् । महाअभियोग सिफारिस समितिका बहुमत सदस्यको निष्कर्षसहित शनिवार राति सभामुख अग्नि सापकोटालाई बुझाएको प्रतिवेदनमा केही विषयमा थप अध्ययन, अनुसन्धान गर्नुपर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा ६ बमोजिम अर्को प्रतिनिधि सभाको बैठकमा पेस गरी टुङ्गो लगाउनुपर्ने पनि उल्लेख गरिएको छ । 

संविधानको धारा १०१ को उपधारा (६) र प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुङ्गो नलागेसम्म प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने उल्लेख छ । 

सङ्घीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले पनि गएको फागुन १ गते राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक परिषद्, सर्वोच्च अदालत, न्याय परिषद् र जबरालाई पठाएको पत्रमा संविधानको धारा र प्रतिनिधि सभा नियमावली २०७५ मा भएको व्यवस्था उल्लेख गर्दै जबरामाथि महाअभियोगको कारबाही टुङ्गो नलागेसम्म कामकाज गर्न नपाउने बताएका छन् । 

२०७९ असोज २ १२:४१ बजे

प्रतिक्रिया