पाँचवामदलको नागरिकता विधेयकबारे अन्तक्र्रिया सम्पन्न

पाँचवामदलको नागरिकता विधेयकबारे अन्तक्र्रिया सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २९ १५:०६ बजे
पाँचवामदल

लुम्बिनी । राष्ट्रियता र जनजीविकाका विविध विषयहरुलाई लिएर विगत लामो समयदेखि आन्दोलन अघि बढाइरहेका पाँच वाम दलहरुले निर्धारित गरेको कार्यक्रम अनुसार रुपन्देहीको लुम्बिनीमा नागरिकता विधेयकमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न  गरेका छन्  । ‘राष्ट्रघाती  भनिएको नागरिकता विधेयक खारेजी अभियान’को आयोजनामा रुपन्देहीको लुम्बिनीस्थित न्यू सुदिप होटलको सभाहलमा २०७९ भदौ२८गते सो अन्तक्र्रिया कार्यक्रम गरीएको हो ।  कार्यक्रममा आयोजक पाँच वाम दलका तर्फबाट अवधारणापत्र नेकपा(मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपालीले राखेका थिए । प्रस्तुत अवधारणा माथि विभिन्न अतिथिहरु र स्थानीय मधेशी समुदायका प्रतिनिधिहरुले टिप्पणी गरेका थिए ।

तराई मधेशका गरिब किसानहरुले नागरिकता नपाएको तर ठूला वडाहरुले वारी र पारी नागरिकता लिने गरेको(एक सहभागीको भनाइ रहेको छ । 

अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा(क्रान्तिकारी–माओवादी)का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका इन्चार्ज केवी गुरुङले अहिले पाँच दलीय गठबन्धनले ल्याएको नागरिकता संशोधन विधेयकले नागरिकता विहिन नेपालीहरुलाई नागरिकता दिलाउन नसक्ने भएकाले आफूहरुले राष्ट्रघाती प्रकृतिको यो विधेयक खारेज गरी नागरिकताविहीन सबै नेपालीहरुले सहजै नागरिकता प्राप्त गर्न सक्ने तर विदेशीहरुले नेपाली नागरिकता लिनै नसक्ने प्रावधान सहितको नयाँ नागरिकता विधेयक ल्याउन चाहेको बताएका थिए । अन्तक्र्रिया कार्यक्रममा बोल्दै मधेशी समुदायका प्रतिनिधिहरुले–तराई मधेशका गरिब किसानहरुले नागरिकता नपाएको तर ठूला वडाहरुले वारी र पारी दुवैतिरको दोहोरो नागरिकता लिने गरेको बताएका थिए । मधेशमा नागरिकताको समस्या विकराल रहेको भन्दै उनीहरुले अहिले ल्याइएको नागरिकता विधेयक पास गरेरै भए पनि मधेशमा नागरिकताको समस्या समाधान गर्नुपर्ने विचार व्यक्त गरेका थिए । उनीहरुको भनाईबाट पाँच दलीय सत्ता गठबन्धनका नेताहरुले नागरिकताविहीन निम्न वर्गीय मधेशी समुदायलाई नागरिकता दिलाउनकै लागि अहिलेको नागरिकता संशोधन विधेयक ल्याइएको भ्रम उनीहरुका बीचमा फैलाएको प्रष्ट बुझ्न सकिन्थ्यो ।

अन्तक्र्रियामा बोल्दै आन्दोलनरत पाँच वाम दलका नेताहरुले सत्ता गठबन्धनले फैलाएको उक्त भ्रमपूर्ण विचारको खण्डन गरेका थिए । उनीहरुले अहिले पाँच दलीय गठबन्धनले नागरिकताविहीन नेपालीलाई नागरिकता दिन नभई भारतीय लगायत विदेशी नागरिकहरुलाई नेपाली वंशजको नागरिकता लिन बाटो सहज पार्नैका लागि यो नागरिकता संशोधन विधेयक ल्याएको बताएका छन् । 

अन्तक्र्रिया कार्यक्रममा विचार व्यक्त गर्ने अतिथि वक्ताहरुमा नेकपा (बहुमत) का केन्द्रीय सदस्य शरद रसाइली, नेकपा (माओवादी समाजवादी)का केन्द्रीय उपाध्यक्ष विनोद उपाध्याय, अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका संयोजक कमल चौधरी, स्वाधिनताका लागि राष्ट्रिय अभियानका संयोजक पदम कार्की, जनमत पार्टीका केन्द्रीय सदस्य विनोद कुमार पासवान,समाजसेवी अधिवक्ता संजय गुप्ता र समाजसेवी बुद्धिजीवी बाबुलाल यादव रहेका थिए । सो अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरु टेकबहादुर राना मास्की, रवि पाण्डे र जगीलाल थापाको समेत आतिथ्यता रहेको थियो । नेकपा (क्रान्तिकारी–माओवादी) का रुपन्देही जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाको अध्यक्षतामा अघि बढेको सो अन्तक्र्रिया कार्यक्रमको संचालन नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका प्रतिनिधि बाबुराम आचार्यले गरेका थिए ।

२०७९ भदौ २९ १५:०६ बजे

प्रतिक्रिया