चीनले १००० डिग्री सेल्सियस तापमा काम गर्ने सक्ने रोवट कुकुर निमार्ण
चीनले १,००० डिग्री सेल्सियससम्मको अत्यधिक तापक्रम सहन सक्ने विशेष रोबोट कुकुर तयार गरेको छ। चीनको पहिलो यस्तो अग्नि नियन्त्रण तथा उद्धारमा प्रयोग हुने रोबोट कुकुरले नोभेम्बर २५ मा जियाङ्सु प्रान्तको सुझाउमा वास्तविक परिस्थितिमा परीक्षणसमेत पूरा गरेको छ।
यो रोबोट कुकुर १,००० डिग्री सेल्सियससम्मको तापक्रममा लगातार १० मिनेटसम्म काम गर्न सक्ने बताइएको छ। आगलागीका करिब ९५ प्रतिशत परिस्थितिमा प्रयोग गर्न सकिने गरी यसको डिजाइन गरिएको छ।
यसमा बाक्लो धुवाँभित्र पनि दृश्य पहिचान गर्न सक्ने लेजरमा आधारित इमेजिङ प्रविधि जडान गरिएको छ। साथै, छन् कनेक्टिभिटी र भिडियो ट्रान्समिसन प्रणालीका कारण ३० तलेभन्दा अग्ला भवनभित्र समेत स्थिर नियन्त्रण कायम राख्दै उच्च गुणस्तरको भिडियो पठाउन सक्छ।
यसको मद्दतले अग्नि नियन्त्रकहरूले आगो लागेको वास्तविक स्थान पत्ता लगाउन, भवनभित्र फसेका मानिसहरू खोज्न र उद्धारको अवस्था प्रत्यक्ष निगरानी गर्न सक्छन्। सबैभन्दा महत्वपूर्ण कुरा, अत्यन्त जोखिमपूर्ण क्षेत्रमा मानिस प्रवेश गर्नुअघि नै यो रोबोट पठाउन सकिन्छ।
आगलागीका बेला ज्यान जोखिममा राखेर उद्धारमा खटिने अग्नि नियन्त्रकहरूका लागि यस्तो प्रविधि भविष्यमा ठूलो सहयोगी बन्न सक्छ।
प्रतिक्रिया