लैङ्गिक हिंसाविरुद्धको अभियान, गाउँमा पुरानै पीडा
सदरमुकाम र बजारक्षेत्रका सभा हलमा अहिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका ब्यानर टाँगिएका छन् । ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
अभियानलाई आधुनिक र युवापुस्तामाझ पुर्याउन बैतडीको पाटन नगरपालिकाले विभिन्न प्रतियोगिता’ नै आयोजना गरेको छ । डिजिटल स्क्रिनमा चेतनामूलक भिडियोहरू बनिरहँदा सुदूरपश्चिमका दूरदराज र पहाडी बस्तीका महिलाको वास्तविक जीवन अझै पनि आँसु, पीडा र असुरक्षामै अल्झिएको छ । सहरका औपचारिक कार्यक्रम र नाराको तामझामबारे गाउँको चुलोचौको र भिरपाखामा पिल्सिएका महिला बेखबर हुने गरेका छन् ।
दुर्गमका पीडा सुन्दैन कोही
पहाडी भेगका महिलाको दैनिकी त झन् कष्टकर छ । एकातिर घरायसी कामको अत्यधिक बोझ, अर्कातिर घाँस र खर काट्दा लडेर ज्यान गुमाउनेका पीडा कसैले सुन्ने गरेको छैन । बैतडीलगायतका पहाडी जिल्लामा खर र घाँस काट्ने क्रममा भिरबाट लडेर बर्सेनि ठुलो सङ्ख्यामा महिलाले अकालमै ज्यान गुमाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीको अभिलेख अनुसार बैतडीमा मात्रै पछिल्लो तीन आर्थिक वर्षमा घाँस तथा खर काट्ने क्रममा भिरबाट लडेर ५२ जना महिला र किशोरीको मृत्यु भएको छ ।
खर काट्दा लडेर मृत्यु हुने महिलाको न जीवन बिमा हुन्छ नत स्थानीय तहको सरकारले घाँस तथा खर काट्दा सुरक्षित डोरी नै वितरण गर्न सकेका छन् । कानुनले दण्डनीय मानेको ‘छाउपडी’ प्रथाले अझै जरा गाडेर बसेको छ । दलित समुदायका महिलाको पीडा त झन् गहिरो छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का अनुसार हिंसा प्रभावितमध्ये करिब १८ प्रतिशत दलित समुदायका महिला तथा बालिका छन्, जसले लैङ्गिक हिंसासँगै जातीय छुवाछुतको दोहोरो मार खेप्नु परेको इन्सेक सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशीले बताउनुभयो ।
एक महिनामै एक सयभन्दा बढी बेपत्ता
सुदूरपश्चिम प्रदेशमा २०८३ को कात्तिक महिनामा मात्र १०७ जना महिला तथा बालिका हराएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३र८४ को कात्तिक महिनाको मासिक प्रगति विवरण अनुसार प्रदेशभरबाट ७० जना महिला र ३७ जना बालिका हराएको उजुरी प्रहरीमा दर्ता भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार कात्तिक महिनामा प्रदेशभर हराएकामध्ये ५१ जना महिला र ३३ जना बालिका गरी जम्मा ८४ जनालाई प्रहरीले सुरक्षित उद्धार गरेको छ भने अझै १९ जना महिला र चार जना बालिका गरी २३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बेचबिखनको उच्च जोखिम
गरिबी र घरेलु हिंसाको चपेटामा परेका सुदूरपश्चिमका महिला तथा किशोरी अहिले नयाँ खालको मानव बेचबिखनको जोखिममा छन् । पर्याप्त निगरानी केन्द्र नहुँदा रोजगारी र विवाहको मिठो सपना देखाएर बेचबिखनको जोखिम बढेको छ । माइती नेपालले पछिल्लो चार वर्षमा सीमानाकाबाट बेचबिखनको जोखिममा परेका ५५६ जना महिला तथा बालबालिकाको उद्धार गरेको छ । पितृसत्तात्मक सोच, आर्थिक परनिर्भरता र फितलो कानुनी कार्यान्वयन सुदूरपश्चिममा महिला हिंसा नरोकिनुका मुख्य जड हुन् । सदरमुकाम र बजारक्षेत्रमा सीमित हुने गोष्ठी, र्याली र प्रतियोगिताले मात्र दूरदराजका बस्तीको आँसु पुछ्न नसक्ने दृष्ट फाउन्डेसन कैलालीका महिला अधिकारकर्मी कल्पना भट्टले बताउनुभयो ।
गोरखापत्र अनलाइन
प्रतिक्रिया