सात महिनादेखि होल्डिङ सेन्टरमा राखिएका सुकुमवासीलाई हट्न 'अमानवीय' सरकारी सूचना
काठमाडौं । सरकारले आफैँले आश्रय दिएका सुकुमवासीलाई स्थायी बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टर छाड्न सूचना टाँसेपछि विस्थापित परिवार आक्रोशित बनेका छन् । प्रतिबद्धताअनुसार १५ दिनभित्र व्यवस्थापन गर्ने भनिएको भए पनि सात महिना बित्दा समेत स्थायी आवास नपाएको उनीहरूको गुनासो छ ।
भक्तपुरको बोडेस्थित कृषि विकास बैंक भवनमा बनाइएको होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीलाई प्रशासनले शुक्रबारसम्म ठाउँ खाली गर्न सूचना टाँसेको थियो । भूमिहीन नठहरिएकाहरूलाई शुक्रबारबाट हट्न निर्देशन दिइएको छ ।
काठमाडौंका नदी किनारबाट स्थानान्तरण गरिएका सुकुमवासीलाई कृषि विकास तालिम केन्द्र, खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र र नागार्जुनका होल्डिङ सेन्टरमा राखिएको छ ।
तीनै स्थानमा बसोबास गरिरहेका ११ जना सुकुमवासीले संयुक्त विज्ञप्ति जारी गर्दै दिगो आवास सुनिश्चित नभई होल्डिङ सेन्टरबाट नहटाउन माग गरेका छन् । उनीहरूले सरकारी निर्देशन पुनर्विचार गर्न पनि आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, 'सरकारले घर भत्काएको १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिबद्धतासहित हामी पीडित परिवारलाई विगत ७ महिनादेखि होल्डिङ सेन्टरमा राखेको थियो, तर आज सम्म पनि हामीले स्थायी आवास र उचित व्यवस्थापन पाउन सकेका छैनौं ।'
२३ देखि ५५ वर्षसम्म बसोबास गरेको ठाउँबाट वैशाखमा कुनै वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएकोमा उनीहरूले आपत्ति जनाएका छन् । पूर्वप्रतिबद्धता पूरा गर्नुको सट्टा होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिनु अमानवीय कार्य भएको उनीहरूको ठहर छ ।
सुकुमवासीले जग्गाको अभिलेखमा नाम देखिएकै आधारमा भूमिहीन तथा सुकुमवासी नठहर्याउने निर्णय पुनरावलोकन गर्न माग गरेका छन् । उनीहरूका अनुसार प्रत्येक परिवारको भूमिहीन हुनुपरेको कारण, वास्तविक जग्गा, आवासीय र आर्थिक अवस्थाबारे प्रत्यक्ष संवाद र निष्पक्ष स्थलगत छानविन गरेर न्यायोचित निर्णय गरिनुपर्ने बताएका छन् ।
साथै, जुन जिल्ला र स्थानबाट निष्कासन गरिएको हो, त्यहीँको जिल्ला प्रशासन, सम्बन्धित सरकारी निकाय र पीडित प्रतिनिधिबीच संवाद गरेर समयसीमासहितको कार्ययोजना तयार गर्न पनि उनीहरूले माग गरेका छन् । प्रभावित परिवारसँग संवाद र सहमति गरी त्यो योजना सार्वजनिक गरिनुपर्ने उनीहरूको भनाइ छ ।
प्रतिक्रिया