लुम्बिनीलाई हराउँदै सुदूरपश्चिम रोयल्सले जित्यो एनपीएल उपाधि
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।सुदूरपश्चिमका जर्ज मुन्सीले ५४ बलमा १२५ रन अविजित बनाउदै शतकीय पारी खेलेर जित दिलाएका थिए । त्यस्तै विनोद भण्डारीले अविजित ३० रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले सर्बाधिक अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अली सेखले २४ रन बनाएका थिए । त्यस्तै डिआर्ची शर्टले २१ रनको योगदान दिएका थिए । त्यसैगरी सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलाइनले २ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
यसअघि लगातार दोस्रो सिजन फाइनलमा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जितेको छ । त्यस्तै अघिल्लो सिजनको फाइनलमा लुम्बिनीसँग बेहोरेको हारको बदला समेत लिएको छ । लुम्बिनी भने लगातार दोस्रो सिजन फाइनलमा पुगेर यस पटक उपविजेता बनेको छ ।
प्रतिक्रिया