एनपीएल फाइनलका लागि दुई लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिदको प्रयास गरे

bimbonline बिम्ब अनलाइन
२०८३ मंसिर ४ १७:०९ बजे

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सबै टिकट बिक्री भएको जनाएको छ ।

क्यानले शुक्रबार जारी गरेको सूचनामा टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिदको प्रयास गरेको उल्लेख गरेको छ । मैदानको क्षमताअनुसार टिकट सीमित रहेकाले बिक्री सुरु भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानको भनाइ छ ।

शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएको थियो । केही प्रयोगकर्ताले बिक्री खुल्ने समय देखिए पनि प्रयास गर्दा टिकट काट्न नसकेको गुनासो गरेका थिए । सामाजिक सञ्जालमा टिकट बिक्री प्रक्रियालाई लिएर असन्तुष्टि व्यक्त भएको थियो ।

यस्तै त्रिवि क्रिकेट मैदानको गेटबाहिर पुगेर टिकट नपाएका दर्शकहरूले विरोध गरेका थिए ।यस सन्दर्भमा इसेवाका सीईओ निरज शर्माले पनि एकै पटक २ लाख प्रयोगकर्ताले टिकट खरिद गर्न खोज्दा यो प्राविधिक समस्या उत्पन्न भएको र यसले गर्दा समर्थकको बुझाईमा फरक पर्न गएको बताए ।

क्यानले टिकट खरिद गर्न नसकेका दर्शकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत एनपीएल हेरेर सहयोग गर्न आग्रह गरेको छ । टिकट बिक्रीका क्रममा दर्शकलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै क्यानले नेपाली क्रिकेट र एनपीएलप्रति देखाएको साथ र उत्साहका लागि धन्यवाद दिएको छ ।

एनपीएलको तेस्रो संस्करणको फाइनल शनिबार मङ्सिर ५ गते लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

 

२०८३ मंसिर ४ १७:०९ बजे

प्रतिक्रिया