काठमाडौं । स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए ।
सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको जानकारी दिएको हो । सुदूरका अर्का स्कटिश खेलाडी ब्रान्डन म्याकमुलेन भने फर्किसकेका छन् ।
ओपनिङ ब्याटर मन्से स्कटल्यान्डका भरपर्दा सीमित ओभरका खेलाडी हुन् । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा आक्रामक ब्याटिङका लागि पहिचान बनाएका छन्। सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डको ऐतिहासिक पहिलो एकदिवसीय जितमा ५५ रन बनाउँदै उनी चर्चामा आएका थिए ।
मन्सेले स्कटल्यान्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन्। एकदिवसीयमा उनले २ हजार ७७७ रन बनाउँदा तीन शतक र १९ अर्धशतक प्रहार गरेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २ हजार ५९८ रन छ। यस क्रममा उनले तीन शतक र १४ अर्धशतक बनाएका छन् । समग्र टी–२० करिअरमा मन्सेले १३३ खेलबाट ३ हजार ६९८ रन बनाएका छन् ।
प्रतिक्रिया