बर्दियामा गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १५ जना घाइते

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ३० ०७:२७ बजे

गुलरिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

शनिबार दिउँसो करिब १ः४० बजे गुलरियाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा ५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटकोCH01CM9437   नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढका अ. ३४ वर्षीय हुकुमबहादुर खत्री र मोटरसाइकलको पछाडि सवार नामथर तथा ठेगाना नखुलेका अन्दाजी ५५  वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याइएकोमा उपचारकै क्रममा क्रमशः दिउँसो २ः१३ र २ः०९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा मिनी फोर्स चालकसहित १७ जना घाइते भएका थिए। घाइतेमध्ये चार जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने अन्य घाइतेको जिल्ला अस्पताल गुलरिया र नेपालगञ्जमा उपचार भइरहेको छ।मिनी फोर्स चालक गुलरिया नगरपालिका–८ निवासी ४० वर्षीय हरि चौधरीको दाहिने हातमा चोट लागेको छ। उनको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ।

त्यस्तै, मधुवन नगरपालिका–६ सानोश्रीकी ४४ वर्षीया रेखा कार्की, मधुवन–९ धर्मबस्तीकी २६ वर्षीया ललिता चौधरी, मधुवन–९ बाह्रनम्बरकी २८ वर्षीया सृजना मगर, मधुवन–७ सुक्रबस्तीकी ३३ वर्षीया ऋतु चौधरी, मधुवन–५ का १८ वर्षीय सुरजबहादुर राजी र १७ वर्षीय संगम वली घाइते भएका छन्।यसैगरी बारबर्दिया नगरपालिका–२ जोगीगाउँका ७७ वर्षीय प्रसाद थारु, गुलरिया नगरपालिका–१० कालाबञ्जराका १९ वर्षीया अर्धना पाठक र १५ वर्षीया अनन्या पाठक, गुलरिया–१ खैरापुरका १८ वर्षीय यमलाल थारु घाइते भएका छन्।

त्यस्तै बाँकेको कोहलपुर नगरपालिका–३ किरणनालाकी ३४ वर्षीया ईश्वरी न्यौपाने, कोहलपुर–११ एनटीभी रोडकी २३ वर्षीया अञ्जली घिमिरे तथा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरीगाउँकी २७ वर्षीया लक्ष्मी विक र चार वर्षीय अन्मोल विक पनि घाइते भएका छन्।

घाइतेमध्ये अर्धना पाठक, अनन्या पाठक, अञ्जली घिमिरे र लक्ष्मी विक तथा उनका छोरा अन्मोल विक सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। केही घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी महम्मदपुरबाट प्रहरी नायब निरीक्षक मोहन चन्दको कमाण्डमा ट्राफिकसहित ९ जनाको टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सन्दीप बेलबासेको कमाण्डमा थप ७ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

दुर्घटनामा परेका दुवै सवारीसाधन घटनास्थलमै रहेका छन्। सवारीसाधन चल्न नसक्ने अवस्थामा रहे  पनि सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छन।

विपिन रोकाया वर्दिया।


२०८३ कात्तिक ३० ०७:२७ बजे

प्रतिक्रिया