मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १९ १४:२४ बजे

काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् । मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

यसअघि सरकारले अच्युत कृष्ण खरेललाई पनि आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तर उनी त्यहाँ हाजिर नै हुन गएनन् । दरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए ।

खरेललाई हटाएर सरकारले ध्रुवबहादुर प्रधानलाई आईजी बनाएको थियो । सर्वोच्चबाट मुद्दा जितेपछि खरेल पुनः आईजीपी भएका थिए । त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो ।

रमेश चन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । त्यतिबेला सुडान घोटाला काण्डमा मुछिएको भन्दै सरकारले उनलाई सुरक्षा सल्लाकारमा सरुवा गरेको थियो । अनि उनको ठाउँमा रवीन्द्र प्रताप शाहलाई आईजीपी बनाइएको थियो ।

२०८३ कात्तिक १९ १४:२४ बजे

प्रतिक्रिया