अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्दै

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक १५ १०:०३ बजे
काठमाडौं । अमेरिकाले युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० वटा प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसले युक्रेनमाथि हवाई आक्रमण तीव्र पारिरहेका बेला अमेरिकीले अत्यावश्यक मानिएको प्याट्रियट क्षेप्यास्त्र बिक्री गर्न लागेको हो । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि आवश्यक रकम युरोपेली देश र क्यानडाले उपलब्ध गराउनेछन् । यसमा अमेरिकी सरकारको कुनै रकम खर्च हुने छैन । 

मन्त्रालयका अनुसार क्यानडा, जर्मनी र नर्वेले ‘जम्पस्टार्ट’ कार्यक्रममार्फत उपलब्ध गराउने सहयोग तथा युरोपेली संघको युक्रेन सहायता ऋणबाट प्राप्त रकम प्रयोग गरेर युक्रेनले क्षेप्यास्त्र खरिद गर्नेछ । यसको मुख्य आपूर्तिकर्ता अमेरिकी कम्पनी लकहिड मार्टिन हुनेछ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति अमेरिकालाई प्याट्रियट क्षेप्यास्त्र युक्रेनमा छिटो पठाउन आग्रह गरेका थिए । यद्यपि क्षेप्यास्त्र आपूर्ति हुन ‘केही वर्ष’ लाग्न सक्ने अनुमान गरिएको छ ।

प्याट्रियट प्रणालीलाई रुसी ब्यालेस्टिक क्षेप्यास्त्र खसाल्न प्रभावकारी मानिन्छ । रुसले पछिल्लो समय युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण तीव्र बनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रस्तावित बिक्रीले युरोपको राजनीतिक तथा आर्थिक स्थायित्वमा योगदान पुर्‍याउने साझेदार मुलुक युक्रेनको सुरक्षा मजबुत बनाउने उल्लेख छ ।
२०८३ कात्तिक १५ १०:०३ बजे

प्रतिक्रिया