काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पुगेका छन् । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको प्रतिस्पर्धामा पराजित भएपछि उनले देश छाडेर भागेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
रोयटर्सका अनुसार, फ्लाभियोका सहयोगी तथा अमेरिकी सरकारी अधिकारीले मङ्गलवार उनी अमेरिका प्रस्थान गरेको पुष्टि गरेका हुन् । अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले फ्लाभियो, उनकी पत्नी र दुई छोरीलाई अमेरिका प्रवेशका लागि भिसा दिने बताएका छन् ।
पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ । उनले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् ।
अनुसन्धान जारी रहेका बेला ब्राजिलको सर्वोच्च अदालतले सोमबार फ्लाभियोलाई २४ घण्टाभित्र आफ्नो राहदानी प्रहरीसमक्ष बुझाउन आदेश दिएको थियो । निर्धारित समयभित्र राहदानी नबुझाएपछि मङ्गलवार ब्राजिलका अधिकारीले उनको राहदानी रद्द गरेका थिए ।
फ्लाभियो अमेरिका पुगिसकेको भनिए पनि उनी कुन स्थानमा छन् र कसरी ब्राजिलबाट बाहिरिए भन्ने स्पष्ट भइसकेको छैन । फ्लाभियोले सोमबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै देश छाड्ने आफ्नो कुनै योजना नरहेको बताएका थिए । उनले राहदानी बुझाएर आफूमाथि लगाइएका आरोपको सामना गर्ने बताएका थिए ।
फ्लाभियो अमेरिका पुगेको विवरण सार्वजनिक भएपछि उनी पहिले अर्जेन्टिना गएको हुन सक्ने चर्चा चलेको थियो । अर्जेन्टिनामा उनका निकट सहयोगी तथा दक्षिणपन्थी राष्ट्रपति जेभियर मिलेईको सरकार छ ।
ब्राजिल र अर्जेन्टिनाको सीमाक्षेत्र नजिक इगुआजु विमानस्थलमा निजी विमान अवतरण गरेको विवरण पनि सार्वजनिक भएको थियो । तर, अर्जेन्टिनी अधिकारीले भने फ्लाभियो ब्राजिलबाट आफ्नो देश प्रवेश गरेको कुनै अभिलेख नरहेको बताएका छन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा फ्लाभियो
फ्लाभियोमाथि आर्थिक कारोबारसम्बन्धी विभिन्न विषयमा अनुसन्धान भइरहेको छ । तीमध्ये अनलाइन सट्टेबाजीसँग सम्बन्धित कारोबार र उनका पिता जाय।को जीवनमा आधारित फिल्म निर्माणका लागि रकम जुटाउने विषय पनि छन् ।
फिल्म निर्माणका लागि पूर्वबैंकर ड्यानियल भोर्कारोसँग करिब १ करोड २० लाख अमेरिकी डलर जुटाउने प्रयास गरेको फ्लाभियोले स्वीकार गरेका थिए । तर, उनले कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै आएका छन् ।
निर्वाचनमा पराजित भएपछि पनि उनले नतिजा स्वीकार गरेका छैनन् । उनले मतदान प्रक्रियामा अनियमितता भएको दाबी गर्दै नतिजा रद्द गर्न माग गर्ने बताएका थिए । यद्यपि, उनको दलले भने लुलाको विजयलाई स्वीकार गरेको छ ।
प्रतिक्रिया