सरकारले २०८३ असोज ३० गते आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ । डोल्मा फूलको आखामा फूलै संसार भन्ने गित गाएर मनमनमा बस्न सफल भएकी थिइन् । गित संगीतको क्षेत्रमा उनको योगदानलाई महत्त्वपूर्ण मान्न सकिन्छ । गित संगीतले मनोरञ्जन , सान्त्वना , उत्साह , दिशानिर्देश र रोमान्टिक बनाउन सहयोग पुर्याउछ । गित संगीत भाषा , धर्म , क्षेत्र , नागरिकता भन्दा धेरै माथि हुन्छ । गित मनपरे पर्यो कसले गायो ? नागरिकता नेपाली छ वा छैन ? यावत विषयमा खोजिनिधी गरिन्न।
तर राज्यका महत्त्वपूर्ण स्थानमा रहने ब्यक्तिका विषयमा सबैकुराको लेखाजोखा गर्न जरुरी हुन्छ । डोल्माको नागरिकता सम्बन्धि बिषयको टुङ्गो लागेको देखिन्न । समाचार श्रोतका अनुसार उनले लिएको नागरिकता बंशजको हो , तर उनको जन्म नेपालमा र बाबु नेपाली नभएको भनी मुद्दा परेको थियो । त्यसमा अदालतले सफाइ दिएको कुनै प्रमाण भेटिन्न । यस सम्बन्धि वास्तविकता केहो ? वास्तविकताका आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा योग्य वा अयोग्य ? भन्न सकिन्छ ।
डोल्मा सामाजिक तथा धार्मिक क्षेत्रमा समेत सक्रिय रहेकी थिइन् ।हङकङबाट उनको बैंक खातामा तत्कालीन विनिमय दर अनुसार १८ करोड ३१ लाख रुपैयाँ आएको थियो । सोही सन्दर्भमा आर्थिक कारोबार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धि बिषयमा प्रश्न उठेको थियो । यस बिषयमा उनले सफाई पाएको कुनै तथ्य प्राप्त भएको छैन । यसरी विवादास्पद पात्रलाई सुशासनको निम्ति आएको सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा किन छनौट गर्यो ? शंका उत्पन्न भएको छ । अहिलेको रास्वपा सरकार विभिन्न शक्ति केन्द्रको गठजोडमा बनेको भन्ने विश्लेषण भइरहेको थियो र छ । फ्रि तिब्बत अभियान संग सम्बन्धित व्यक्तिहरुको सरकारमा ठुलो प्रभाव रहेको कुरा विभिन्न संचारमाध्यममा आइरहेका छन् । कथित जेनजी बिद्रोह , चुनावी सरकार , रास्वपाको विजय र अहिलेको सरकार बनाउन योजनाबद्ध षड्यन्त्र भएका रिपोर्ट पनि सार्बजनिक भइरहेका थिए र छन् ।
डोल्माको तिब्बती बौद्ध परम्परा र दलाइ लामासंग सम्बन्धित धार्मिक परिवेशसंग सम्बन्ध देखिन्छ , तर उनी फ्रि तिब्बत आन्दोलनको सक्रिय राजनीतिक कार्यकर्ता वा दलाइ लामको राजनीतिक अभियानकी सदस्य हुन् भन्नेकुराको प्रमाण नभएपनि अहिलेको नियुक्तिले सो कुराको संकेत मिल्दछ । राजनीति तथा कुटनैतिक क्षेत्रमा सबैकुराको प्रमाण हुँदैन । परिस्थिति , कामकारबाही , परिणाम , विषयको क्रमता आदीका आधारमा बुझ्न सकिन्छ र बुझ्न पर्दछ ।
प्रतिक्रिया