काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले डानडोङस्थित कोरियाली युद्ध स्मारकको अवलोकन गर्नुका साथै चीन र उत्तर कोरिया जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका थिए । किम एकदिने भ्रमणमा शनिवार चीन पुगेका थिए ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सीका अनुसार, किम जोङले स्वदेश फर्केपछि कोरियाली युद्धका बखत चिनियाँ जनतासँग सहकार्य गरी लडिएका गौरवशाली दिनहरूलाई देशले सधैँ स्मरण गरिरहने बताए । उनले कठिन परिस्थितिमा सहयोग गर्ने चिनियाँ जनताप्रतिको कृतज्ञताको भावना भावी पुस्तासम्म हस्तान्तरण हुँदै जानुपर्नेमा जोड दिएका छन् ।
वर्षौँको ढिलाइपछि सञ्चालनमा आएको दुवै देश जोड्ने नयाँ पुललाई चीन र उत्तर कोरियाबिचको व्यापारिक तथा आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार रहँदै आएको छ। यसअघि सेप्टेम्बर २०२५ मा नेता किमले बेइजिङमा आयोजित भव्य सैन्य परेडमा सहभागिता जनाएका थिए भने सोही वर्षको जुन महिनामा चिनियाँ राष्ट्रपति सि जिनपिङले पनि उत्तर कोरियाको भ्रमण गरेका थिए ।
प्रतिक्रिया