काठमाडौं । इजरायलमा मङ्गलवार हुने आम निर्वाचनको तीन दिनअघि शनिवार तेल अभिभमा हजारौँ मानिसले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनको सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण रोक्न सरकार र सुरक्षा निकाय असफल भएको घटनाबारे स्वतन्त्र राज्य अनुसन्धान आयोग गठन गर्न माग गरेका छन् । तेल अभिभस्थित होस्टेज स्क्वायरमा भएको प्रदर्शनमा अक्टोबर ७ को आक्रमणमा आफन्त गुमाएका परिवार, पूर्वबन्धक तथा आक्रमणबाट बाँचेका व्यक्तिहरू सहभागी रहेको जनाइएको छ । ‘अक्टोबर काउन्सिल’ले आयोजना गरेको प्रदर्शनमा विपक्षी दलका प्रमुख नेताहरूको पनि सहभागिता रहेको थियो । आयोजकले प्रदर्शनमा एक लाखभन्दा बढी मानिस सहभागी भएको दाबी गरेका छन् ।
प्रदर्शनको मुख्य उद्देश्य अक्टोबर ७ को आक्रमण कसरी हुन सक्यो, त्यसलाई रोक्न सरकार र सुरक्षा निकाय किन असफल भए तथा त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा निष्पक्ष छानबिन गराउनु रहेको छ ।
प्रदर्शनमा विपक्षी नेता तथा याशार पार्टीका अध्यक्ष गादी आइसेनकोट, पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट, यायर लापिड, डेमोक्रेट्स पार्टीका नेता यायर गोलान र यिस्रायल बेइतेनु पार्टीका नेता अविग्दोर लिबरम्यान सहभागी रहेका छन् । उनीहरूले अक्टोबर ७ को घटनाबारे स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग राखेका छन् ।
इजरायलमा राज्य अनुसन्धान आयोग गम्भीर राष्ट्रिय घटनाको छानबिन गर्ने उच्चस्तरीय निकाय हो । तर, नेतान्याहूले अक्टोबर ७ को घटनाबारे यस्तो आयोग गठन गर्न अस्वीकार गर्दै आएका छन् । सर्वोच्च अदालतको संलग्नतामा गठन हुने आयोग सरकारप्रति पक्षपाती हुन सक्ने उनको तर्क रहेको छ । पीडित परिवार र विपक्षी दलहरूले भने सरकारको प्रभावबाट मुक्त आयोगले मात्र घटनाको निष्पक्ष छानबिन गर्न सक्ने बताउँदै आएका छन् ।
अक्टोबर काउन्सिलले प्रदर्शनअघि सरकारसमर्थक समूहसँग सम्बन्धित व्यक्तिहरूले कार्यक्रम बिथोल्न सक्ने आशङ्का व्यक्त गर्दै प्रहरीलाई सुरक्षा व्यवस्था कडा बनाउन आग्रह गरेको थियो । आयोजकका अनुसार प्रदर्शनमा सहभागी गराउन देशका विभिन्न भागबाट ६० भन्दा बढी बसको व्यवस्था गरिएको थियो ।
अक्टोबर ७ को आक्रमणमा हमास नेतृत्वको समूहले इजरायलमा ठुलो सङ्ख्यामा मानिसको हत्या गरेको थियो भने कैयौँलाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । त्यसपछि सुरु भएको युद्धले इजरायल र गाजामा गम्भीर मानवीय, राजनीतिक तथा सुरक्षा संकट निम्त्याएको छ । आक्रमण रोक्न नसकेको विषयमा सुरक्षा निकायका अधिकारीहरूमाथि प्रश्न उठे पनि प्रदर्शनकारीले राजनीतिक नेतृत्वले समेत जिम्मेवारी लिनुपर्ने माग गरेका छन् ।
यसैबिच, चुनावअघि सार्वजनिक भएका मत सर्वेक्षणले इजरायली संसद् नेसेटमा कुनै पनि प्रमुख राजनीतिक समूहले स्पष्ट बहुमत प्राप्त गर्ने सम्भावना नरहेको बताएको छ । इजरायली संसदमा कुल १२० सिट छन् र सरकार गठन गर्न कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्छ ।
अक्टोबर २३ मा सार्वजनिक गरिएका केएएन र च्यानल १२ का सर्वेक्षणअनुसार आइसेनकोट नेतृत्वको विपक्षी समूहले ५२ सिट र नेतान्याहूको गठबन्धनले ५० सिट प्राप्त गर्ने अनुमान गरिएको थियो । बाँकी सिट अन्य दल तथा गठबन्धनमा आबद्ध नभएका समूहको पक्षमा जाने अनुमान छ ।
प्रतिक्रिया