डेभिड मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ७ १९:३९ बजे

काठमाडौं । दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।

उनलाई अनुबन्ध गरिएको कर्णाली याक्सले औपचारिक घोषणा गरेको छ । ३७ वर्षीय बायाँहाते ब्याटर मिलर मध्यक्रममा खेल्ने गर्छन्। छक्का प्रहार गर्ने क्षमताका लागि परिचित उनी टी–२० क्रिकेटका अनुभवी फिनिसर हुन्। मिलरले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

मिलरले एकदिवसीयमा ४ हजार ७६२ र टी–२० अन्तर्राष्ट्रियमा २ हजार ८०४ रन बनाएका छन्। एकदिवसीयमा उनको उच्च स्कोर १४२ र टी–२० अन्तर्राष्ट्रियमा अविजित १०६ रन हो। उनले एकदिवसीयमा आठ शतक र २४ अर्ध शतक तथा टी–२० अन्तर्राष्ट्रियमा दुई शतक र नौ अर्ध शतक बनाएका छन्।

सबैखाले टी–२० क्रिकेटमा मिलरले ५८४ खेलमा १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा उनले चार शतक र ५३ अर्ध शतक बनाउनुका साथै ५६९ छक्का प्रहार गरेका छन्।

मिलरले सन् २००८ मा १८ वर्षको उमेरमा प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिकाको वेस्ट इन्डिज भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरे। सन् २०१५ मा वेस्ट इन्डिजविरुद्ध लगातार दुई एकदिवसीय खेलमा शतक बनाएका मिलरले त्यसै वर्ष विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध १८ बलमा ४९ रन बनाएका थिए।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि मिलरले लामो समय खेलेका छन्। उनी सन् २०१३ देखि २०१९ सम्म किङ्स इलेभेन पञ्जाबमा आबद्ध थिए र सन् २०१६ मा टोलीको कप्तानीसमेत गरेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्दा उनले १६ खेलमा ४८१ रन बनाएका थिए। उक्त सिजन गुजरातले पहिलो पटक आईपीएल उपाधि जितेको थियो।

२०८३ कात्तिक ७ १९:३९ बजे

प्रतिक्रिया